चीनले सार्वजनिक गर्यो दोक्लामबारेको दस्तावेज
विवादास्पद दोक्लाममा तनाव बढ्दै गएपछि चीनले उक्त भूगोल र त्यसलाई जोडेर उत्पन्न तनाववारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
चिनियाँ उक्त धारणाले दोक्लाम चीनकै भूभाग रहेको ऐतिहासिक तथ्यलाई प्रमाणसहित प्रस्तुत गरेको छ भने त्यहाँ गैरकानुनी रुपमा भारत प्रवेश गरी तनाव सृजना गर्न खोजेको बताएको छ ।
‘चीनको सिक्किम सिमासँग जोडिएको चिनियाँ भूभागमा भारतीय सीमा फौज प्रवेश सम्बन्धबारेका तथ्य र चिनियाँ धारणा’ शीर्षक दस्तावेजमा सविस्तार उल्लेख गरिएको छ ।
सन् १८९० को अभिसन्धी भन्छ–‘दोक्लाम चिनियाँ भूगोल हो’ (हेर्नुहोस चिनियाँ दस्तावेज)
चीनले सार्वजनिक गरेको उक्त दस्तावेजका महत्वपूर्ण तथ्य यस्ता छनः
१.डोङ लाङ (दोक्लाम) क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्वतको यादोङ गाउँमा अवस्थित छ । यसको पश्चिम सिमामा भारतको सिक्किम राज्य पर्छ भने दक्षिणमा भुटान पर्छ ।
सन् १८९० मा चीन र बेलायतले सिक्किम र तिब्वत बारेको ग्रेटब्रिटेन र चीन अभिसन्धीमा हस्ताक्षर गरे, जसले चीनको तिब्वत र सिक्किमको सीमा निर्धारण गर्यो । उक्त अभिसन्धी अनुसार सीमाको चीनतर्फ रहेको दोक्लाम विवादरहित रुपमा चीनको भूभाग हो ।
लामो समयदेखि चिनियाँ सीमा फौजले उक्त क्षेत्रको गस्ती गरिरहेका छन् भने चिनियाँ भेडी गोठालाहरुले त्यहाँ कृषि संचालन गर्दै आएका छन् । हाल दोक्लाम र सिक्किम बीचको सीमा सिक्किम खण्डको चीन–भारतसीमाको एक अंग हो ।
२. २०१७ जुन १६ मा दोक्लाम क्षेत्रमा चीनले सडक निर्माण गरिरहेको थियो । जुन १८ मा दुईवटा बुलडोजरमा हतियारसहितका २७० भन्दा बढी भारतीय सीमाफौज सिक्किमको सीमा पार गरी दोक्लाम प्रवेश गर्यो र चीनले निर्माण गर्दै गरेको सडकमा अवरोध गर्न चिनियाँ भूभागको १ सय मिटरभित्र पुग्यो । यसले थप तनाव सिर्जना गर्यो ।
दुई बुलडोजरको अतिरिक्त ४ सय जना भारतीय सैनिकले सीमाबाट १८० मिटर पारी चिनियाँ भूभागमा तीन टेन्ट लगाए । जुलाईको अन्त्यसम्ममा त्यहाँ अझै ४० भन्दा बढी भारतीय सैनिक गैरकानुनी रुपमा रहेका छन् भने एउटा बुलडोजर त्यहीँ राखिएको छ ।
३. यो घटना भएपछि चिनियाँ सीमा फौजले तत्कालै आपतकालीन उपाय अपनायो । जुन १९ मा चीनले कुटनीतिक माध्यमबाट भारतीय सेनाको गैरकानुनी चीन प्रवेशको भत्र्सना गर्यो भने तत्काल आफ्ना फौज भारततिरै फर्काउन माग गर्यो ।
चिनियाँ विदेश मन्त्रालय, चिनियाँ रक्षा मन्त्रालय र भारतस्थित चिनियाँ दुतावासले बेइजिङ र दिल्लीमा अनेकौँ पल्ट कुटनीतिक छलफल गरे, जसमा चीनको भौगोलिक सार्वभौमिकताको सम्मान गरी तत्काल घुसपैठ गरेका आफ्ना फौजलाई फिर्ता गर्न आग्रह भयो । चिनियाँ विदेश तथा रक्षा मन्त्रालयका प्रवक्ताहरुले तथ्य र सत्य सार्वजनिक गर्दै आधिकारिक नक्सा, त्यहाँको तस्बिर र चिनियाँ धारणा राखे ।
४. गणतन्त्र चीनको स्थापना र भारतको स्वतन्त्रतापछि दुबै सरकारले सन् १८९० को उक्त अभिसन्धीको स्वामित्व लिए, जसले सिक्किम खण्डको चीन–भारत सीमा निर्धारण गरेको थियो । यसको प्रमाणका रुपमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले चिनियाँ प्रधानमन्त्री चाउएन लाइलाई लेखेको पत्र, चीनमा रहेको भारतीय दुतावासद्वारा चिनियाँ विदेश मन्त्रालयमा पठाएको कुटनीतिक नोट र चीन–भारत सीमाका लागि बिशेष प्रतिनिधि बैठकमा त्यसैका लागि खटेको भारतीय पक्षले उपलब्ध गराएका दस्तावेज हुन् ।
दुबै पक्षले बिना विवाद लामो अभ्यासपछि सन् १८९० ले छुट्टयाएको क्षेत्रमाथि अध्ययन गरे । यसरी अभिसन्धीद्वारा सीमा स्थापित भइसकेपछि यो अन्तराष्ट्रिय कानुनको संरक्षणमा आउँछ र कुनै पनि हालतमा उल्लघंन गर्न पाइंदैन ।
५. जुन १८ देखि भारतीय फौज गैरकानुनी रुपमा सीमापार गरी चीनियाँ भूभागमा प्रवेश गरे । यो अस्वीकार गर्न नसकिने तथ्य हो । यो घटना यस्तो क्षेत्रमा भयो, जहाँ कुनै सीमाको समस्या नै छैन । सीमा प्रष्ट र परिभाषित छ । यो विगतमा दुई देशबीच भएका सीमाका विवादभन्दा फरक छ । यसले चिनियाँ सार्बभौमिकता र प्रादेशिक एकता, सन् १८९० को अभिसन्धी र संयुक्त राष्ट्रसंघीय महासन्धीको उल्लघंन गर्छ । अन्तराष्ट्रिय कानुन र अन्तराष्ट्रिय सम्बन्ध संचालनका आधारभूत मान्यताको उल्लंघन गर्छ ।
६. यो घटना सार्वजनिक भएपछि भारतले आफ्नो गैरकानुनी कार्यालयलाई न्यायोचित प्रमाणित गर्न धेरै बहाना निर्माण गरेको छ । तर, भारतका तर्कहरुको कुनै तथ्यगत र कानुनी आधार छैन र सबै अस्वीकार्य छन् ।
७. दोक्लाम चिनियाँ भूभाग हो । आफ्नो भूभागमा स्थानीय यातायातको सुधारका निम्ति चीनले सडक निर्माण गर्नु पूर्ण बैधानिक छ । सडक निर्माणमा चीनले आफ्नो सीमा पार गरेन र चिनियाँ सद्भावको छनक दिंदै सडक निर्माणपूर्व नै यसको पूर्ण जानकारी भारतलाई गरायो ।
भारतीय सीमा फौजले पारस्परिक रुपमा पहिचान गरिएको सीमामा घुसपैठ गरी चीनको भौगोलिक सार्वभौमिकताको ठाडो उल्लंघन गर्यो । वास्तवमा यो सीमाको यथास्थितिलाई परिवर्तन गर्न गरिएको प्रयत्न हो र यसले चीन–भारत सीमा क्षेत्रको शान्तिलाई गम्भीर रुपमा अवमुल्यन गरेको छ ।
८. सन् १८९० को दशकदेखि दुई सार्वभौम राष्ट्रका रुपमा चीन र भुटान आफ्ना सीमामा रहेका समस्या समाधान गर्न परामर्श र संवादमा व्यस्त छन् । दुबै पक्षबीच अहिलेसम्म २४ औँ पारस्परिक बैठक भएका छन् र फराकिलो सहमतिमा दुबै पक्ष पुगेका छन् । चीन र भुटानको सीमा मुद्दा चीन र भुटानको विषय हो । भारतसँग यसको कुनै सरोकार छैन । तेस्रो पक्षका रुपमा चीन र भुटानको सीमामा वा सीमा वार्तामा हस्तक्षेप गर्ने भारतको कुनै अधिकार छैन । भुटानको तर्फबाट भौगोलिक दाबी गर्ने अधिकार छैन । भुटानको बहानामा चिनियाँ सीमामा भारतीय घुसपैठले चिनियाँ भौगोलिक सार्वभौमिकताको मात्र उल्लघंन गरेको छैन, यसले भुटानको सार्वभौमिकता र स्वतन्त्रतालाई चुनौती समेत दिएको छ ।
चीन र भुटान मित्रवत राष्ट्र हुन् । चीनले भुटानको सार्वभौमिकता र स्वतन्त्रतालाई सधैं सम्मान गरेको छ । चीन र भुटानले जहिले पनि सीमामा शान्ति र मित्रता बनाइराख्न सकेका छन् । त्यसका लागि दुबै पक्षका संयुक्त प्रयासको प्रशंसा गर्नुपर्छ । बाहिरी हस्तक्षेपको अनुपस्थितिमा वार्ता र परामर्शद्वारा सीमा समस्या समाधान गर्न चीनले सधंै भुटानसँग काम गर्नेछ ।
९. चीन र भारत विश्वका सबैभन्दा ठूला विकासोन्मुख राष्ट्र हुन् । चीन सरकार भारतसँगको असल छिमेकी सम्बन्धलाई उच्च महत्व दिन्छ र सीमामा शान्ति र सहजता कायम गर्न प्रतिवद्ध छ । चीनियाँ पक्षले भारत सरकारलाई द्विपक्षीय सम्बन्धको बृहत्तर हित र दुवै देशका नागरिकको हित हेर्न आग्रह गरेको छ । साथै सन् १८९० को अभिसन्धीको पालना गर्न, चीनको भौगोलिक सार्वभौमिकताको सम्मान गर्न, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गर्न पनि आग्रह गरेको छ ।
अवैधानिक रुपमा चीन प्रवेश गरेका भारतीय सैनिकलाई तत्काल फिर्ता बोलाउन र त्यसको विस्तृत अनुसन्धान गर्न आग्रह गर्दछ, ता कि उचित ढंगमा दुबै देशका सीमा समस्या समाधान गर्न सकियोस् । यसले दुबै देशका आधारभूत चासोलाई सम्बोधन गर्नेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्