सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफ्नो नागरीक भारतले थुन्दा किन बोलेन सरकार ?

भारतको सिलगुढीमा १८ दिन थुनामा रहेका इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले झुटा आरोप लगाएर पक्राउ गर्दा नेपाल सरकारले छुटाउनका लागि कुनै पहल नगरेको आरोप फागोका परिवारले लगाएका हुन् ।

इलाम जिल्ला सुर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागोलाई पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलन लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको झुटा आरोप लगाएर पक्राउ गरेको थियो ।

मानव अधिकार परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पक्राउ परेर १८ दिनको थुनापछि मुक्त भएका उदयहाङ फागोकी दिदी साधना फागोले नेपाल सरकार र राष्ट्रिय मानव अधिकार आयोग निरिह रहेको अरोप लगाइन् ।

साधनाले भनिन, “मानव अधिकार आयोग कहाँ छ ?” अस्पतालबाट नै उदयहाङलाई सोधपुछका लागि भनेर प्रहरीले पक्राउ गरेर १८ दिनसम्म थुनामा राखेको उदयकी दिदी साधनले जानकारी दिईन् । सादा पोशाकमा आएका प्रहरीले माथिको आदेश भन्दै जबरजस्ती पक्राउ गरेको साधनाको भनाई छ । २ मिनेटका लागि भनेर लगिएपनि अलमल्याएर भोलिपल्टसम्म राखेर अदालतमा मुद्दा दायर गरिएको साधनाले बताईन् । मुद्दा दायरपछि म्याद थप गर्दै दुःख दिईएको थियो ।

अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिएकी छिन् । ‘सरकारले नै अब नेपाली नागरिकका लागि तारेख धाउनुपर्छ । मुद्दा खेप्नुपर्छ ।’ साधनाले भनिन् ।

यसक्रममा नेपाल सरकारलाई विभिन्न तरिकाबाट ध्यानाकर्षण गराउँदा पनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागोले बताए । भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज नेपाल आएका बेला समेत समस्याका बारेमा जानकारीसहित पत्र पठाउँदा पनि कुनै पहल नभएको शरणको भनाई छ ।

यता प्रधानमन्त्री कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको थियो । त्यहाँबाट पनि कुनै पहल गरिएन् । राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी गरिएको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘आयोगले उजुरी दिँदा तस्बिर खिचाइयो । पहल गर्ने आश्वासन दिइयो । तर केही काम गरिएन ।’ दाजु शरणले भने ।

पक्राउ परेका उदयहाङले झुटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेर अनावश्यक यातना दिएको गुनासो गरे । स्वतन्त्र देशको नागरिकलाई पक्राउ गरी आफूसँग भएको नागरिकता, मतदाता परिचयपत्र र सवारी चालक अनुमति पत्रसमेत भारतीय प्रहरीले अपमानजनक तरिकाले फालिदिएको पीडित युवा उदयहाङले सुनाए ।

‘आफ्नो नागरिकतामाथि भारतीय प्रहरीले अपमान गर्दा मन धेरै रोयो ।’ ‘सरकारले इट्टा र माटो देओस, हामी सीमानामा पर्खाल लगाउन तयार छौँ ।’ भारतीय सीमा जिल्ला इलामका उदयहाङले भने ।

यसरी छुटेका थिए उदयहाङ फागो

सरकारी निकाय र मानवअधिकार आयोगबाट कुनै पहल नभए पनि उदयका परिवारले छुटाउने प्रयास गरिरहेका थिए । यसबीचमा विभिन्न संचारमाध्यममा घटना समाचारको रूपमा बाहिर आएपछि मानव अधिकार परिषद्को ध्यानाकर्षण भएको थियो ।

परिषद्का अध्यक्ष तुलसी थापाको पहलमा उदयलाई छुटाउन सफल भएको उदयका परिवारले बताए । परिषदका अध्यक्ष थापाले घटनाको बारेमा थाहा पाएपछि आफैँ अग्रसर भएर छुटाउने प्रक्रिया सुरू गरेका थिए ।

परिवारसहित कसैलाई पनि भेट्न नदिई स्लिपिङ ट्याब्लेट खुवाएर थुनामा राखिएका उदयहाङलाई छुटाउनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानव अधिकार परिषद् र यसका अध्यक्ष तुलसी थापालाई परिवारले धन्यवाद दिए ।

उदयहाङकी दिदी साधनाले त राष्ट्रिय मानव अधिकार आयोगले कुनै काम गर्न नसकेको आरोप लगाउँदै मानव अधिकार परिषद्लाई नै मान्यता दिन सरकारसँग आग्रह गरिन् ।

छुटाउनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, इलामबासी, पत्रकार लगायतको पनि सहयोग मिलेको भन्दै उदयहाङकी दिदी साधनाले सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा मानवअधिकार परिषदका अध्यक्ष तुलसी थापाले झुटो आरोपमा थुनामा परेका उदयहाङलाई छुटाउन धेरै मिहिनेत गर्नुपरेको बताए । सामान्य प्रक्रिया पूरा गर्न पनि भारतीय पक्षले दुःख दिएको गुनासो थापाले गरेका छन ।

थापाले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग यस्ता समस्याको विषयमा कुनै कुरा नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्