सञ्चालनमा आयो बन्द भएको बिराटनगर जुटमिल
खर्च धान्न नसकेर बन्द भएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स मङ्सिर १० गते आइतबारबाट नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको छ । जुट मिल्सका सञ्चालक सदस्य ८४ बर्षीय मुकुन्दप्रसाद नेपालले विधिवत् रुपमा पूजा गरेर उद्योगको सञ्चालन प्रारम्भ गरेका थिए ।
आईतबारबाट सञ्चालनमा आएको जुट मिल्स २०७४ भदौ १९ गतेदेखि पूर्ण रुपमा बन्द रहेको थियो । यसअघि सरकारको ऋणमा सञ्चालन हुँदै आएको मिल्स यसपटक नयाँ व्यवस्थापनले आफ्नै लगानीमा सञ्चालन गरेको विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेले बताएका छन ।
जुट मिल्सका प्रबन्ध निर्देशक काफ्लेले भने–‘विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पुराना मिल्समध्ये पहिलो चरणमा हामीले मुलुकको पहिलो उद्योग पूरानो मिल्सलाई सञ्चालनमा ल्याएका छौं ।’
काफ्लेले अगाडी भने, ‘अहिले ३ करोडको लागतमा एउटा मिल्स सञ्चालन भएको छ र थप २ करोड पुंजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिल्स पूर्णरुपमा सञ्चालनको तयारीमा छौं ।’
उनले अहिले दैनिक ५÷६ टन उत्पादन गर्ने गरि मिल्स सञ्चालन गरिएको तर मंसिर महिनापछि पूर्ण क्षमता २० टन दैनिक उत्पादन हुने गरि सञ्चालन गर्ने तयारी रहेको बताएका छन । अहिले ८५ जनाले आइतवारबाट मिल्समा रोजगारी पाएका छन भने मंसिरपछि १ हजारले रोजगारी पाउनेछन ।
नयाँ व्यबस्थापनले मिल्सलाई पूर्ण रुपमा आईपी सिस्टमको सीसी क्यामराको निगरानीमा राखेर सञ्चालन गरेको छ । अहिले मिल्समा जुटको सुतली र बोरा मात्रै उत्पादन हुन्छ । ‘जुटको झोला, कपडा लगायतको सामग्री उत्पादन गर्न नयाँ प्लाण्ट ल्याउने समेत तयारी गरेका छौं,’ प्रबन्ध निर्देशक काफ्लेले भने–‘यसको लागि बित्तीय बिशलेषण सहितको योजना तयार भइसकेको छ ।’
२०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐन अनुसार मिल्सले नयाँ ब्यबस्थापन पाएको छ । नयाँ व्यबस्थापनले आफ्नो अनुकुल मिल्स सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पुर्याएको छ । यसअघि मिल्स सञ्चालनका लागी सरकारबाट लिएको १ सय १३ करोड ऋण तिर्न बाँकी रहेको छ ।
आर्थिक समस्याका कारण सञ्चालनमा कठिनाई भएपछि सरकार तथा तत्कालिन व्यबस्थापनले भारतीय विलसम इन्टरनेसनल कम्पनीलाई भाडामा सञ्चालनको जिम्मा लगाएको थियो । उक्त कम्पनीले ६ महिना परीक्षण अवधि भन्दै र ११ महिना १८ दिन भाडामा सञ्चालन गरेर २०७४ भदौ १९ गतेदेखि बन्द गरेको थियो ।
प्रबन्ध निर्देशक काफ्लेले सरकारी स्वामित्वको उद्योगहरु भृकुटी कागज, बुटवल धागो, गोरखकाली रबर लगायतको उद्योग पूर्ण रुपमा असफल भएकोले जुट मिल्सलाई कम्पनी ऐन अन्तर्गत व्यवस्थापन गरिएको बताएका छन ।
सरकारको १९ प्रतिशतमात्रै लगानी रहेको साल्ट ट्रेडिङ अर्बौं नाफामा भए जस्तै अब विराटनगर जुट मिल्सलाई पनि नाफामा लगेर सरकारको ऋण तिर्ने उनको भनाई छ ।
प्रबन्ध निर्देशक काफ्लेले विराटनगर जुट मिल्सलाई सञ्चालन हुन नदिन २०६५ सालदेखि बिराटनगरका केही संभ्रान्त वर्गका समूहले ३० करोड खर्च गरेको दावी गरेका छन ।
स्रोतः ईकान्तिपुर
फेसबुकबाट कमेन्ट गर्नुहोस्