सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अर्बौँ कालो धनलाई सेतो बनाउने सुमार्गीको तरिका

व्यापारी अजयराज सुमार्गीले विदेशबाट ल्याएको र पुन; ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले विदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अवैध रहेको पुष्टि गरेको हो ।

उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउन भने आलटाल भइरहेको छ ।

अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको हो । अध्ययनअनुसार करिब ११ अर्ब ५० करोड रुपैयाँ उनले विदेशबाट भित्र्याईसकेका छन ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति दिने निकायहरू–उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन । विदेशी विनियम ऐन, २०१९ अनुसार विदेशबाट कुनै लगानीकर्ताले रकम भित्र्याउँदा डलर खाता खोल्नुपर्ने हुन्छ ।

सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन । एक पटक विदेशबाट आफैंले समेत रकम नेपाली बैंकमा जम्मा गरेको देखिन्छ । जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट करिब साढे दुई अर्ब रुपैयाँ आफैंले जम्मा गरेका थिए ।

‘रकम पठाउने कम्पनी दर्ताको प्रमाणपत्र, वित्तीय विवरण लगायत कागजातसमेत नपाइएकाले पठाउने कम्पनीको वास्तविक लगानीकर्ता स्वयं सुमार्गी नै हुने सम्भावना देखिन्छ,’ स्रोत भन्छ, ‘सुमार्गीले नेपालमै अवैध तरिकाले आर्जन गरिएको रकम विदेश लगेको र त्यसैलाई विदेशी लगानी भन्दै नेपाल भित्र्याएर ह्वाईट मनी बनाउन खोजेको देखिन्छ ।’

यो सहितका दर्जन आधार देखाउँदै सुमार्गीले संगठित रूपमै सम्पत्ति शुद्धीकरण गर्न खोजेको प्रारम्भिक जाँचबुझबाट देखिएको छ । उद्योग विभागमा विदेशी लगानी भित्र्याउन प्रस्ताव गरेको कागजातअनुसार साढे पाँच प्रतिशत ब्याजमा ऋण लिन लागिएको हो । विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भए पनि उनले पालना गरेका छैनन ।

राष्ट्र बैंक तथा नेपालस्थित निजी बैंकका अधिकारीहरूसमेतको मिलेमतोमा करिब साढे आठ अर्ब रुपैयाँ भने बैंक खाताबाट निकालेर उनले प्रयोग गरिसकेका छन । थप रकम आउने क्रम जारी रहेपछि राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले बाँकी तीन अर्ब रुपैयाँ बैंक खातामै रोकिदिएका छन । त्यसपछि उनको अवैध रकमबारे अनुसन्धान गर्न सरकारलाई दबाब परेको थियो ।

तीन वर्षअघि विभागका तत्कालीन महानिर्देशक केवल भण्डारीले प्रारम्भिक अध्ययनका लागि फाइल खडा गरेका थिए । फाइल खडा गरेलगत्तै भण्डारी सरुवा भएपछि अनुसन्धान हुन सकेको थिएन । मुख्य राजनीतिक दलका उच्च नेताहरूसँग निकट सम्बन्ध राख्न सफल सुमार्गीमाथि गहन अनुसन्धान हुन सकेको छैन ।

अध्ययनबारे जानकार एक अधिकारीका अनुसार उनले टयाक्स हेवन (करका लागि अनुकूल स्थान) मानिने ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रस, बेलारुस, इजिप्ट लगायत मुलुकबाट अवैध रूपमा रकम भित्र्याएका हुन । तीमध्ये नेपाल स्याटेलाइट टेलिकम कम्पनी प्रालिको खातामा २ करोड १४ लाख ५६ हजार ४ सय अमेरिकी डलर (करिब २ अर्ब २१ लाख रुपैयाँ) र मुक्तिश्री सिमेन्ट प्रालिका नाममा ७० लाख डलर (७२ करोड रुपैयाँ) भने राष्ट्र बैंकले रोकिदिएको छ ।

सुमार्गीका १२ कम्पनी र परिवार तथा आफन्तका नाममा तीन वर्षको अवधिमा ४२ पटक रकम आएको छ । सबभन्दा बढी ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता गरिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड कम्पनीबाट भित्र्याइएको छ । साइप्रसको एरवेल सर्भिसेज लिमिटेड, टिपोलोजिया लिमिटेड, कायरोको ओरासकम टेलिकम नामक सेल कम्पनीका नामबाट पनि रकम ल्याइएको छ । बेलारुसका मारिया युकी अब्दो नामबाट समेत रकम आएको देखिन्छ ।

सुमार्गीले उद्योग विभागमा करिब ११ अर्ब रुपैयाँ एफडीआई भित्र्याउन निवेदन दिएका छन । ती प्रस्तावहरू वैधानिक नदेखिएको भन्दै राष्ट्र बैंक र विभागले विदेशी लगानी स्वीकृत गरेका छैनन । भित्र्याइसकिएको रकम र विभागसमक्ष पेस गरेको प्रस्ताव एउटै हो वा फरक–फरक भन्नेबारे खुल्न सकेको छैन ।

यस आधारमा उनले नेपालबाट बाहिर लगेर राखेका केही रकम उतै प्रयोग भइरहेको हुन सक्ने अनुमान गरिएको छ । त्यसका लागि सम्बन्धित देशबाटै सूचना लिनुपर्ने हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्