ब्युँतिदै परम्परागत घामघडी, नाम ‘नेपाल धुप घडी’
पुर्खाले सूर्यको छायाँको सहयोगमा विहान दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घरगृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्य कथा बनिसक्यो ।
विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्यूँत्याउने तयारी गरिएको छ ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा समय यकिन गर्न सकिने ‘नेपाल धुप घडी’ तयार पारेका छन् । उनले बनाएका दुई वटा परम्परागत घडीलाई दाङको तुल्सीपुर उप–महानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयले प्रयोगमा ल्याउँदैछन् ।
आगामी एक महिनाभित्र धुप घडी प्रयोगमा आउने बताउँदै तुल्सीपुर उप–उपमहानगरका मेयर घनश्याम पाण्डेले भनेका छन्–‘एउटा घडी नगरपालिका परिसरमा रहनेछ भने अर्को यहिँको राप्ती शान्ति उद्यान परिसरमा राख्ने तयारी गरिएको छ ।’
बैदिकशास्त्रमा भएको विज्ञानलाई आधुनिक विज्ञानसँग जोड्दै नयाँ पुस्तालाई परम्परागत अभ्यास बुझाउन यस्तो पहल अघि बढाइएको उनले जानकारी दिएका छन् । उपमहानगरपालिका र सो विश्वविद्यालयको संयुक्त सहकार्यमा दाङमा प्राचिन विज्ञानको अध्ययन थलो बनाउने तयारी भइरहेको पाण्डेले मेयर पाण्डेले बताएका छन् ।
आचार्यले तयार गरेको करिव एक फिट लम्बाई र एक फिट चौडाई घडीको डायल ग्रेनाइड खोपेर तयार गरिएको छ भने समय सूचक सुईमा तामाको पाता प्रयोग गरिएको छ । यस्तो घडीले स्थानीय समय दुरुस्तै बताउन सक्ने खगोलविद् आचार्यको दावी छ ।
उनले भने–‘आधुनिक घडीले एकैसाथ देशको समय बताएपनि भूगोल अनुसार स्थानीय समय फरक पर्छ, पूर्वी र पश्चिम नेपालको समय १५ मिनेट अन्तर भइरहेको अवस्थामा स्थानीय समय यकिन गर्न धुपघडी उपयोगी हुन्छ ।’
स्थानीय ठाउँको अक्षांश र देशान्तरको आधारमा ध्रुवताराको दिशातर्फ फर्काएर धुपघडी राखिने भएकाले स्थानीय समय सुनिश्चित गर्न सकिने आचार्यको भनाई छ । घाम अस्ताएपछि र मौसम नखुलेको समयमा भने यस्तो घडी सुचारु हुँदैन ।
धुपघडी नेपालका लागि नौलो अभ्यास भने होइन । काठमाडौंको बसन्तपुरस्थित नासल चोक, त्रिचन्द्र कलेजको घन्टाघरकै समिपमा, स्वयम्भुको सरस्वर्ती मन्दिरसँगै, छाउनी संग्राहलय लगायत जस्ता सार्वजनिक स्थलमा राणाकालमै यस्ता घडी स्थापना भएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्