सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेसबिहिन बन्दै प्रदेश सरकार, बहुमत एमालेकै

प्रदेशका सांसदहरुको सपथग्रहणसँगै अब प्रदेश सरकार गठनको बाटो खुलेको छ । बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गरेमा प्रदेश प्रमुखले बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री चयन गर्नुपर्नेछ । संबैधानिक बाध्यताका कारण पनि आगामी फागुन ३ भित्र सबै प्रदेशमा मुख्यमन्त्री चयन भइसक्नुपर्ने छ ।

प्रदेशसभा निर्वाचनको परिणाम हेर्दा इतिहासमा पहिलोपटक चयन हुन लागेका ७ जना मुख्यमन्त्रीमध्ये नेपाली कांग्रेसले एउटा पनि नपाउने देखिएको छ । मधेसवादी र माओवादीले एक–एकवटा मुख्यमन्त्री पाउने देखिएको छ । यद्यपि माओवादीले दुईवटा प्रदेशमा आफ्नो दाबी गरेको छ ।

सात प्रदेशमध्ये ४ वटा प्रदेशमा कुनै एक दलको बहुमत छैन । प्रदेश नम्बर १ र ३ मा एमालेको प्रष्ट बहुमत छ भने प्रदेश नम्बर ६ मा एमाले ५० प्रतिशतसहित सरकार बनाउन सक्ने हैसियतमा छ । अन्य प्रदेशमा गठबन्धनको सरकार बन्ने भएको छ ।

प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरम सम्मिलित मधेसवादी गठबन्धनको बहुमत छ । अन्य ४, ५ र ७ नम्बर प्रदेशमा एमाले र माओवादी सम्मिलित बाम गठबन्धनको बहुमत छ ।

वाम र मधेसकेन्द्रित दुवै गठबन्धन अहिले सिट बाँडफाँडमा लागेका छन् । गठबन्धनबीच मुख्यमन्त्री, सभामुख लगायत बाँडफाँड टुंगिएपछि प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

नेपाली कांग्रेस सातवटै प्रदेशमा विपक्षमा रहने निश्चित भएको छ । अझ प्रदेश २ मा कांग्रेस प्रमुख विपक्षीको हैसियतमा पनि रहन नपाउने भएको छ । त्यहाँ एमालेले कांग्रेसको भन्दा धेरै सिट जितेकाले एमाले प्रमुख विपक्षी हुनेछ ।

मुख्यमन्त्रीमा शंकर पोखरेलको बाटो खुल्यो
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल पार्टीको प्रदेशसभा संसदीय दलको नेता निर्वाचित भएसँगै उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । पोखरेललाई चुनावअघि नै ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा सहमत गराएर दाङ क्षेत्र २ को प्रतिनिधिसभामा माओवादी नेता कृष्णवहादुर महरालाई सिट मिलाइएको थियो ।

शंकर पोखरेल दलको नेतामा निर्विरोध चयन भइसकेका छन् । सपथ ग्रहण लगत्तै आइतबार प्रदेश संयोजक बिष्णु पौडेलको उपस्थितिमा एमालेका प्रदेशसभा सांसदहरुको पहिलो बैठक बसेर पोखरेललाई नेता चयन गरेको हो । माओवादीसँगको सिट बाँडफाँड टुंगिनासाथ शंकर पोखरेल अब मुख्यमन्त्रीको दाबी लिएर प्रदेश प्रमुखसमक्ष जान सक्छन् ।

 

केपी ओली जातीय र लैंगिक समावेशिताका पक्षमा
मुख्यमन्त्रीबारे अहिलेसम्म एमालेमा औपचारिक छलफल भएको छैन । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै केही नेतालाई मुख्यमन्त्रीको संकेत दिएर प्रदेशमा चुनाव लड्न पठाएको बताइन्छ । ओलीको संकेत नपाएकै कारण योगेश भट्टराई र रविन्द्र अधिकारी प्रदेशमा चुनाव लड्न नगएका हुन् ।

स्रोतका अनुसार ओली प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बनाउने पक्षमा छन् । सो प्रदेशमा राई लिम्बु लगायत किराँत जनजाति समुदायको बाहुल्य रहेकाले शेरधनलाई मुख्यमन्त्री बनाउँदा जातीय सन्तुलन मिल्ने र जातीय पहिचानको कुरा गर्नेहरुले पनि जवाफ पाउने तर्क गरिएको छ ।

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि चुनावअघि नै प्रदेश कमिटी सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको नाम सर्वसम्मत गरेको हो । तर, यसबीचमा राजेन्द्र पाण्डे, डोरमणी पौडेल, केशव स्थापित र सानुकुमार श्रेष्ठले पनि दावी गरेका छन् ।

माधव नेपाल समूहमा रहेका पाण्डेले मुख्यमन्त्री पाउनकै लागि सो गुटबाटै अलग भएको जानकारी बालकोटमा गराएका छन् । तर, यो प्रदेशमा नेवार र तामाङमध्ये एक समुदायलाई मुख्यमन्त्री दिने सोच ओलीको पहिलेदेखि नै हो ।

प्रदेश नम्बर ४ मा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक किरण गुरुङ दुबैजना प्रदेशबाट चुनाव जितेका छन् । दुवैले मुख्यमन्त्री दाबी गरेका छन् । पार्टी भित्रको समीकरणमा पनि दुवै संस्थापन पक्षका हुन् । पृथ्वीसुब्बा गुरुङ ओलीनिकट र किरण बामदेव गौतम निकट मानिन्छन् ।

प्रदेश नम्बर ६ मा एमालेका दुई पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेलले मुख्यमन्त्रीको दाबी छाडेका छ्रैनन् । तर, यो प्रदेशमा माओवादीले पनि मुख्यमन्त्रीको दाबी गरेको छ । प्रदेशका ४० सिटमध्ये एमालेले २० सिट जितेको छ भने कांग्रेस, माओवादी र राप्रपाले २० सिट जितेका छन् । यो प्रदेशमा एमाले बहुमतको अवस्थामा छ ।

एमालेले माओवादीलाई छाड्ने अन्य प्रदेश नभएकाले ७ नम्बरमा माओवादीले पाउने भएको छ । सो प्रदेशबाट संसदीय दलको नेतामा भने प्रकाश शाह, तारा लामा तामाङ, दीर्घ सोडारी लगायतको दावी छ ।

यता एमालेसँग २ वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री दाबी गर्ने सम्भावना छ । प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा महेन्द्रवहादुर शाही र नरेश भण्डारीको दावी छ । प्रदेश नम्बर ७ बाट मुख्यमन्त्रीका लागि माओवादीका वीरमान चौधरी र झपट बोहोराको नाम चर्चामा छ ।

उता मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा भने मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरमबाट मात्रै तीनजना दाबेदार देखिएका छन् । लालबाबु राउत, शैलेन्द्र साह र बिजय शाहमध्ये एक मुख्यमन्त्री बन्ने बताइएको छ ।

यद्यपि सो प्रदेशमा राजपाको पनि दाबी छ । राजपाबाट जितेन्द्र सोनाल र मनिष सुमन मुख्यमन्त्रीका दाबेदार हुन् । तर, प्रदेशसभामा फोरम ठूलो पार्टी भएका कारण राजपाको दाबी कमजोर देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्