भारतबाट लक्की ड्रको धन्दा चलाउने ३ जना फन्दामा
भारतमा लक्की ड्र (चिठ्ठा) परेको छ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका १ का २४ वर्षीय अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ का विराज भन्ने इवरार हुसेन शेष र मायादेवी गाउँपालिका ८ का राधेश्याम कोइरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । अन्य फरार अभियुक्तको खोजी जारी छ । उक्त समूहले केही समयदेखि ‘कौन बनेगा करोडपति’ अन्तर्गतको लक्की ड्र (चिठ्ठा) परेको भनेर ठगेका थिए । चिठ्ठा परेको रकम भारतबाट नेपाल पठाउन बैंक सेक्युरिटीका लागि तत्काल ६० हजार रुपैयाँ पठाउनुपर्छ भनी मोबाइलमा आईएमओमार्फत जानकारी गराई मनि ट्रान्सफरबाट रकम पठाउन लगाउने गरेका थिए ।
पीडितको उजुरीका आधारमा प्रहरीको अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताएका छन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार समूहले अहिलेसम्म २ दर्जनभन्दा बढीलाई ठगेको छ । एक व्यक्तिबाट २५ देखि ७५ हजारसम्म ठगेका छन् ।
बागलुङ बुर्तिबाङका नरवीर चलाउने, झापा बर्दिवासका नवीनकुमार राउत, वसन्तकुमार राजवंशी, काठमाडौं चावहिलकी टीकादेवी पुलामी मगर, गोर्खाका लक्ष्मी सुनार, स्याङ्जाका दीपक दर्जी, म्याग्दीका दुर्गा चोचाङी, पर्वतका सुनील, काठमाडौंका टोपीन्द्र प्रसाद, सुरेश राम, सर्लाहीकी मनीषा श्रेष्ठ, सिन्धुपाल्चोकका नुर्पु तामाङ र रूपन्देही कञ्चनकी सविता थापा ठगिएको उजुरीसहित प्रहरी सम्पर्कमा आएका छन् ।
पछिल्लो समय संगठित रूपमा ठगी गर्ने क्रम बढदो छ । नेटवर्किङ व्यवसाय, लक्की ड्र र नक्कली जग्गा देखाई ठगी गर्ने समूहको बिगबिगी बढेको जिल्ला प्रहरीले जनाएको छ । जाहेरीका आधारमा तीन महिनामा २० जनालाई पक्राउ गरेको छ । चालु वर्षमा १२ वटा सामूहिक ठगी गर्ने समूहलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको तथ्यांक छ ।
खुला सीमा र खुकुलो सुरक्षा व्यवस्थाले ठगी गर्ने नेपाली समूह नजिकका भारतीय बजारमा व्यवसाय नै सञ्चालन गरेर नेपाली ठग्दै आएका छन् । ठगिएका व्यक्तिको जाहेरी अनुसार भारतीय मोबाइन नम्बरको प्रयोग गरी विभिन्न प्रलोभनमा पारी गिरोहले पैसा उठाउँदै आएका छन् । कसैले इन्टरनेटबाट विभिन्न एप्लिकेसनको प्रयोगबाट सम्पर्क गरी ठगी गर्ने गरेको भेटिएको छ ।
नेपालमा नेटवर्किङ व्यवसाय र लक्की ड्रमा प्रहरीको निगरानी बढेपछि त्यस्ता गिरोह भारत केन्द्रित भएका छन् । यताका व्यक्ति भए पनि विदेशी भूमिमा बसेर ठगी गर्दा प्रहरीलाई नियन्त्रणमा लिन चुनौती बढेको हो ।
ठगीको क्रम बढदै गएपछि प्रहरीले मुख्य सीमानाका बेलहियासहित आसपासमा सक्रियता बढाएको छ । नाका आवतजावत गर्नेलाई सोधपुछ गर्ने र शंका लागे खानतलासी गर्ने गरेको छ । यद्यपि सामूहिक ठगीको जालो अझै झांगिँदै छ ।
रुपन्देही प्रहरीले नियन्त्रणका लागि अहिले भारतीय प्रहरीको सहयोगमा काम थालेको छ । दुई मुलुकका सुरक्षा निकायबीच हुने बैठकमा सीमानजिकका बजारमा हुने गैरकानुनी गतिविधि रोक्न आपसमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यस्तोमा भारतीय सुरक्षाकर्मी पनि उदार देखिएका छन् ।
अनुसन्धानमा खटिएका प्रहरीले भने पीडितको उजुरीका आधारमा कारबाही प्रक्रिया थाल्दा मात्रै सामूहिक ठगी नरोकिने बताउँछन् । छिटो अरूको प्रलोभनमा पर्ने, देखासिकी गर्न खोज्ने र मेहनत नगरी कमाउने सोच भएका व्यक्ति बढी मात्रामा यसमा परेका छन् ।
नेटवर्किङ व्यवसाय, लक्की ड्र लगायतमा हुने ठगीबाट बच्न व्यक्ति आफैं सचेत हुनुपर्ने प्रहरीको सल्लाह छ । प्रहरीले यस्ता कुराको विश्वास नै नगर्न र ठगिएको शंका हुनासाथ प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्