सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय परिवारले कसरी लियो नेपाली नागरिकता ?

झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट एक भारतीय परिवारले नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली नागरिकता लिएका हुन् ।

विराटनगर–१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो । उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताएका छन ।

नागरिकता बनेसँगै यो परिवारका सदस्यले नेपालमै जग्गा किनेर व्यापार गरिरहेको प्रहरीले फेला पारेको छ । छोराहरूका नाममा जारी भएको नेपाली नागरिकतामा बुबा भनेर गजेन्द्रको नाम उल्लेख भएका कारण उनले पनि नेपाली नागरिकता लिएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीले गजेन्द्रको मृत्यु भइसकेका कारण थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताएको छ ।

सन्तोषले सन् २००३ जनवरी २ तारिखमा बिहार अररिया जिल्लाको फारबिसगन्ज इन्द्रनगर–४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेका थिए । त्यसको नम्बर जीवाईक्यू ११५१९७६ हो । उनीसँग भारतीय मतदाता परिचयपत्र पनि छ । यसमा पनि बुबाको नाम स्व.गजेन्द्र साह उल्लेख छ ।

सन्तोषले ०६४ साल जेठ १३ गते मोरङ जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा लिएको ९१ नम्बरको नागरिकतामा जन्ममिति ०३४ चैत १५ गते उल्लेख छ । यसमा बुबाको नाम स्व.गजेन्द्र साह उल्लेख छ भने प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।

नेपाली नागरिकतामा ४० वर्ष उमेर देखिएका सन्तोषकी पत्नी पुनमदेवीको साथबाट भने नेपाली नागरिकता फेला नपरेको प्रहरीले जनाएको छ । उनी भारतीय नागरिक नै भएको देखिन आएको प्रहरी निरीक्षक निरौलाले बताएका छन ।

सन्तोष जेठा, नरेश माइला र धीरेन्द्र कान्छा छोरा हुन् । तर, उनीहरूले लिएको भारतीय नागरिक भएको प्रमाणित हुने परिचय पत्रमा भने नरेशको उमेर बढी छ । सन्तोषको उमेर ३७ वर्ष र नरेशको ३८ वर्ष उल्लेख छ । परिचय पत्र अनुसार सन्तोष भन्दा नरेश एक वर्ष जेठो रहेको ठहरिन्छ । धीरेन्द्रको उमेर ३३ वर्ष छ ।

नरेशले सन् १९८० जनवरी १ तारिख जन्ममिति राखेर ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र लिएका छन् । जसमा बुबाको नाम गजेन्द्र नै उल्लेख छ । प्रहरी निरीक्षक निरौलाका अनुसार सन्तोष र नरेशले एकैदिन अर्थात् ०६४ जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र मोरङबाट लिएको प्रमाण फेला परेको छ ।

सन्तोषले ९१ र नरेशले ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् । नरेशकी पत्नी ३४ वर्षीय रिंकीदेवी साहले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा समेत पतिको नाम नरेश नै उल्लेख छ ।

रिंकीदेवीले १६६८९७७९ नम्बरको नेपाली मतदाता परिचयपत्र र १४२५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला परेको छ । उनको नाममा सन् २०१० जुन १५ तारिखमा जारी भएको टीएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र पनि फेला परेको छ ।

नेपाली नागरिकता लिएपछि नरेश, पत्नी रिंकीदेवी र नरेशका कान्छा भाइ धीरेन्द्र काठमाडौंको कोटेश्वरमा केही वर्षदेखि मोटरसाइकल ग्यारेज सञ्चालन गरेर बसिरहेको प्रहरीले पत्ता लगाएको छ । निरौलाका अनुसार नरेशका नाममा नेपाली नागरिकता नै अलग–अलग मितिमा दुईवटा बनेको सूचनाका आधारमा अनुसन्धान दायरा थप फराकिलो पारिएको छ ।

कान्छा भाइ धीरेन्द्रले १८९६४८६४ नम्बरको नेपाली मतदाता परिचयपत्र प्राप्त गरेको रेकर्ड भए पनि उनको भारतीय नागरिक प्रमाणित हुने अन्य कागजपत्र प्राप्त भइनसकेको प्रहरी स्रोतले बताएको छ । मतदाता परिचयपत्रमा पनि बुबाको नाम गजेन्द्र नै उल्लेख छ ।

नरेश, रिंकीदेवी र धीरेन्द्र काठमाडौंमा बसेर नेपाली नागरिकसरह व्यापार–व्यवसाय सञ्चालन गरिरहेको आधारमा उनीहरूमाथि अनुसन्धान दायरा फराकिलो पारिएको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन ।

आमा पार्वतीदेवीले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीको भनाइ छ । उनको नाममा जारी भएको टीएफएस ०१५१२९० नम्बरको भारतीय मतदाता परिचयपत्र प्रहरीले फेला पारेको छ । उनले नेपाली नागरिकता लिएको प्रमाण फेला नपरे पनि नेपालबाटै विधवा भत्ता लिने, मतदान गर्ने, बिजुलीको बिल तिर्ने देखिएपछि उनले पनि नेपाली नागरिकता लिएको प्रस्ट हुने प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार झुठो विवरणका आधारमा नागरिकता दिने कर्मचारी, सिफारिस गर्ने र रोहवरमा बस्ने सबै कारबाहीको दायरामा आउनेछन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्