सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बालकृष्ण ढुंगेललाई आममाफीका लागी सिफारीस

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालय समक्ष सिफारिस गरेको हो ।

ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ । उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफारिस भएको छ । ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौमार्फत सिफारिस मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनी लगायत प्रक्रिया पुगेका कैदीको कैद मिनाहाको सिफारिस कारागार व्यवस्थापन विभागमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयबाट आएको सिफारिसका आधारमा विभागले कारागार नियावलीअनुसार मन्त्रालयमा सिफारिस गरेको हो ।

विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीले आठ सय बढी कैदीको कैद मिनाहाका लागि मन्त्रालयमा सिफारिस गरिएको बताएका छन । मैनालीले भने–‘सबैको नाम याद छैन, काठमाडौं जिल्ला प्रशासनबाट आएको नामावली रुजु गरी प्रक्रिया पुगेको हकमा सिफारिस गरिएको हो ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले उक्त फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुटाउने गरी कारागार व्यवस्थापन विभागले सिफारिस गरेको छ ।

सरकारले कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई मुक्त गर्न लागिएको हो । तर सर्वोच्च अदालतले अदालतबाट दोषी ठहरिएका ढुंगेलले सर्वोच्चको फैसलाअनुसार आत्मसमर्पण नगरेको अवस्थामा ढुंगेललाई माफी दिन नसकिने जनाएको थियो ।

कानुनले निर्धारण गरेको माफी मिनाहा प्रक्रियासमेत अवलम्बन नभएको भन्दै सर्वोच्चले यसअघिको सरकारले माफी मिनाहाको सिफारिस बदर गरेको थियो । सर्वाेच्चले सर्वस्वसहित जन्मकैद फैसला सुनाएको ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो ।

ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका कारण कात्तिकमा पक्राउ परेपछि कैद भुक्तानका लागि उनको प्रक्रिया पुगेको कारण देखाइएको छ । गत वैशाखमै आठ वर्ष पुगिसकाले ४० प्रतिशत कैद भुक्तान भइसकेकपछि कैदीको असल चालचलनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौले उनको नामसहित अन्य कैदीको नामसमेत माफी मिनाहाका लागि विभागमा पठाएको थियो ।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो । सो फैसलालाई पुनरावेदन अदालतबाट सफाइ पाए पनि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्