अँझै माछा बाँच्न सक्ने भएन बाग्मतीको पानि
वाग्मती सफाइ महाअभियान शुरु भएको २८९ हप्ता पूरा भए पनि नदीमा माछा बाँच्नसक्ने गरी पानी शुद्ध हुन सकेको छैन । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २५० औँ हप्ताको सफाइ गर्न पशुपति क्षेत्रको तिलगङ्गा जुटिरहँदा एक दर्जन बढी ठूला माछा मरेको फेला परेको हो ।
वर्षायाममा पानीको बहाब बढी हुँदा पानी केही सफा हुन्छ । हिउँद लागेपछि पानी कम भई माछा बाँच्न नसक्ने गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताएका छन् । गतवर्ष पनि हिउँद लागेपछि वाग्मतीमा हुर्किएका माछा मरेका थिए ।
वाग्मती नदीका करीब आधा दर्जन स्थानमा हाल हप्तामा एक पटक सफाइ हुने गरेको छ । मूल सफाइ महाअभियानको २८९ हप्ता पुगिसकेको छ । तिलगङ्गा महिला समूहले १९१ औँ हप्ताको सफाइ पनि मञ्चसँगै पशुपति क्षेत्रमै गरेको थियो ।
सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । कुहिने फोहर खाडल खनेर पुरिएको र नकुहिने फोहर महानगरपालिका–८ ले व्यवस्थापन गरेको थियो ।
अभियानमा सामेल हुन आउने स्थानीयलाई घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी पुडासैनीले बताएका छन् । वाग्मती सफाइ महाअभियानको २८९ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिएकी छिन् । सफाईमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशिष घिमिरे लगायत अभियानकर्मीको सहभागिता थियोे ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालीम लिइरहेका नव नियुक्त ९० जना अधिकृत, वरिष्ठ निर्देशक कमलनयन प्रधानको नेतृत्वमा सफाइ अभियानमा जुटेका थिए । ब्लू क्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार पनि बाग्मति सफाई अभियानमा सामेल भएका थिए ।
त्यस्तै पहिलो पाइला, फोहर उन्मूलन उपभोक्ता समिति सिनामङ्गल, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्पप्रभावित उद्धार समाज, युरेशिया रेयुकाई सानेपा, युएन पार्क प्रयोगशालाको संस्थागत सहभागीता थियो ।
त्यसैगरी गायत्री परिवार, बाल सारथी बागेश्वोरी, जीवन विज्ञान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङ्काल, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेसी डेकोर लगायतको सफाइमा संस्थागत सहभागिता थियो ।
यसैगरी रुद्रमती सफाइको २४४ औँ हप्तामा रातोपुल–मैतीदेवी मन्दिर–मैतीदेवी चोकहुँदै रुद्रनगरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
मैतीदेवी चोकबाट सेतोपुलसम्म काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रत्नपार्कबाट सिनामङ्गल सफाइ अभियानमा ऐक्यबद्धता जनाइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिएका छन् ।
सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, प्रसिद्धि कला समूहलगायत संस्थासहित स्थानीयवासीको सहभागिता थियो ।
विष्णुमती सफाइ अभियानको २१६ औँ हप्तामा टोखा नगरपालिका–५ स्थित मनमैँजु पुलबाट सिद्धेश्वर मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खन्दा कालोपत्र नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताएका छन् ।
सडकमा जम्मा भएको फोहर माटोलाई नदीमा हालिएको र अन्य फोहर व्यवस्थापन गरिएको जनाइएको छ । सुन्दरीघाट क्षेत्रको वाग्मती सफाइको ९९ औँ हप्तामा १०० जना स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिएका छन् ।
मनोहरा सफाइको ८९ औँ हप्तामा महानगरपालिका–३२ नं वडास्थित हनुमन्ते र मनोहरा दोभानको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा वडाध्यक्ष नवराज पराजुलीसहित १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिएका छन् ।
चक्रपथ सफाइको ८५ औँ हप्तामा नयाँ बालाजु चोकबाट गङ्गाहलसम्मको क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ४०० भन्दा बढीले गरेको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिएका छन् ।
आलोकनगर सफाइ अभियानले ८५ औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइसँगै चेपाङ समुदायलाई दिनका लागि न्यानो कपडा सङ्कलन गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिएकी छिन् ।
चक्रपथ बाफल खण्डको ६७ औँ हप्तामा सीतापाइलाबाट स्वयम्भू कारखानासम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिएका छन् ।
विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिकटन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ ।
अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ । अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुङ्गुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्