मेलम्चीपछी उपत्यकावासीलाई लार्के र र यांग्रीको सपना
बहुचर्चित खानेपानी आयोजना मेलम्चीपछि लार्के र यांग्री खोलाको पानी काठमाडौं ल्याउने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ । तर अझै पनि उक्त कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन सकेको छैन ।
डिपिआर तयार पार्ने जिम्मा पाएको स्पेनिस परामर्शदाता इप्टिसाले समयमै डिपिआर नबुझाएपछि मेलम्ची खानेपानी आयोजनाले डिपिआर बुझाउन पटक पटक पत्रचार गरेको थियो ।
समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले भने–‘इप्टिसाले तयार पारेको डिपिआरको फाइनल ड्राफ्टमा हामीले कमेन्ट दिईसकेका छौँ । चाँडै फाइनल रिपोर्ट बुझाउनु भनेका छौँ । पत्रचार पनि त्यही अनुसार भएको छ तर अझैसम्म पनि फाइनल सिपोर्ट पाएका छैनौं ।’
समितिका अनुसार इप्टिसाले सन् २०१७ जनवरीबाट डिसेम्बरसम्म सम्पन्न गर्ने गरी डिपिआरको काम थालेको थियो । तर निर्धा्रित समय भित्र डिपिआर तयार नभएपछि ६ महिना समय थप गरेको थियो । सन् २०१८ को डिसेम्बर अर्थात २ वर्ष लागे पनि अहिलेसम्म इप्टिसाले डिपिआरको फाइनल रिपोर्ट दिन सकेको छैन ।
इप्टिसाले तयार पारेको डिपिआर माथि दुई महिना अघि नै छलफल गरिएको थियो । छलफलमा आयोजना, मन्त्रालय र एसियाली विकास बैंक (एडिबि) का अधिकारीहरु र विज्ञले डिपिआरमाथि बिभिन्न सुझाव दिएका थिए ।
एडिवीले उक्त डिपिआरको छलफलमा सुरुङ मार्ग निर्माणमा नयाँ प्रविधि अपनाउन सुझाएको थियो । यी सुरुङ टनेल बोरिङ मेसिन मार्फत खन्दा छिटो काम सम्पन्न हुने भन्दै एडिबिले त्यसतर्फ लाग्न आग्रह गरेको थियो ।
इन्जिनियर राजेन्द्र पन्तका अनुसार इप्टिसाले सुरुङ पुरानै प्रविधिले खन्दा भूकम्प प्रतिरोधी हुने दाबी गरे पनि समितिले त्यसको भने बलियो आधार खोजेको छ । इन्जिनियर पन्तले भने–‘हामीले आधारहरु सहित ७ दिन भित्र आउन इप्टिसालाई भनेका छौँ ।’
मेलम्चीको २७ किमि सुरुङ ड्रिल एण्ड ब्लास्ट प्रविधिबाट खनिएको थियो । यो प्रविधिको विकल्पमा छिटो छरितो तरिकाले सुरुङ खन्न र भूकम्प प्रतिरोधी सुरुङ बनाउन टनेल बोरिङ मेसिन प्रयोगलाई उचित मानिएकाले त्यस तर्फ ध्यान दिन विज्ञले सुझाव दिएका छन ।
निर्माण कार्य थालेको ४ वर्ष भित्र सम्पन्न गर्ने यो परियोजनाको लागत २५ अर्व लाग्ने अनुमान समितिको गरेको छ । सरकारले डिपिआरका लागि २० करोड विनियोजन गरेको थियो ।
आयोजनाले चालु आर्थिक वर्षमा सडकको ट्रयाक स्तरोन्नती गर्न ४५ करोड बजेट पाएको छ भने मुआब्जा र क्षतीपूर्तिका लागि २५ करोड विनियोजन भैसकेको छ । अहिले लार्केसम्म पुग्ने सडक निर्माणको काम सम्पन्न भएको छ ।
आयोजनाले मेलम्ची पुलबजारदेखि लार्केसम्म पुग्न २६ किमि सडक निर्माण गरी स्तरोन्नतीको प्रकृया अगाडि बढाएको छ । यांग्री खोलाबाट दैनिक १७ करोड लिटर पानी मेलम्ची खोलामा खसाल्न ९ किमि सुरुङ र लार्के खोलाबाट १७ करोड लिटर पानी दैनिक यांग्रीमा खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नु पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
लार्के र यांग्रीको काम सम्पन्न भएपछि उपत्यकामा दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ती हुने छ । दैनिक ५१ करोड लिटर पानीको आपूर्ती भएपछि काठमाडौं बासीको खानेपानीको मागलाई ९० प्रतिशतले धान्ने विज्ञहरुले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्