बाख्रा चराउँदै ‘होमवर्क’ गर्दै, शिक्षामा असहजता
सम्पन्न परिवारका बालबालिकाको बिहानी अभिभावकको साथमा पठनपाठनमा बित्छ भने बेलुका बिद्यालयबाट फर्किएपछि उनीहरु गृहकार्य सकाउने धुनमा हुन्छन् । उनीहरु लेख्नुपर्ने थोरै रैछ भने कम्प्युटर, टिभी वा अभिभावकको मोबाइलमा ब्यस्त रहन्छन् । तर, विपन्न परिवारका बालबालिकालाई न बिहानीको घरधन्दाले किताब फर्काउने समय हुन्छ न त बेलुका गृहकार्यका लागि पर्याप्त समय मिल्छ ।
‘घरको काम पनि भ्याउनु पर्यो, होमवर्क पनि भ्याउनै पर्यो । बुवा बिदेश हुनुहुन्छ । आमा दाउरा लिन जानुभाछ । बहिनीले घरमा पानी भर्दै छ । म बाख्रा चराउँदै होम वर्क गर्दै छु’, थवाङ छेर्लावाङको सडक छेउमा कापीमा गृहकार्य गर्दै गरेकी १३ बर्षीया स्यामकुमारी पुनले सुनाइन ।
चरम गरिबी र आर्थिक अभाबका कारण कक्षा ८ कि छात्रा स्यामकुमारी जस्ता थुप्रै बालबालिकाको दैनिकी कस्टकर छ । दश बर्षे युद्धले लामो समय थलिएको रोल्पा शान्ति स्थापनासंगै मुहार फेर्ने अपेक्षामा थियो । संबिधान सभाबाट नयाँ संबिधान जारी भएसंगै तीनवटै तहका निर्वाचन भएपछि स्थानीयको अपेक्षा निराशामा बदलिएको छ ।
जिल्लामा बैधानिक र चोर बाटोबाट बार्षिक आएको करोडौं बजेट सदुपयोग दुरुपयोग के भयो सबै अन्यौलमा छन् । आज पनि रोल्पालीको जीबनस्तर झन झन खस्किदै गइरहेको छ । विकास भनेको सडक हो भन्ने मान्यता बोकेका राजनितिक नेतृत्व अनि कार्यकर्ता भरणपोषणका लागि गठन हुने उपभोक्ता समिति र त्यहाँभित्र हुने अनियमितताले जिल्ला मानवीय विकासमा पछि परेको देखिन्छ ।
थवाङ छेर्लावाङका दर्जनौ बालबालिका घरछेमा माबि, निमाबि नभएका कारण हिमालय फुलवारी माबि मिरुल टुटुमा पढ्न जान्छन् । ‘स्कुल जान ओरालो बाटो छ । दौडिँदै जान्छौं त्यसैले डेढ घण्टामा पुग्छौं । भरे बेलुका फर्किँदा उकालो पर्छ, २ घण्टा भन्दा बढी समय लाग्छ’, स्यामकुमारी भन्छिन, ‘बिहान घरको अलिअलि काम गर्नै प¥यो, सधै हतार हुन्छ । फर्किदा अध्यारो भइसक्छ ।’
रोल्पाका बिद्यार्थीहरु आज पनि बिद्यालय टाढा भए पछिको सास्ती भोग्दै छन् । दुर्गम भुभाग रहेको यहाँ लामो अनि उकाली ओराली बाटो पार गर्दै समयमै बिद्यालय हातामा प्रवेश गर्नुपर्ने बाध्यता छ । सहरमा जस्तो नजिक बिद्यालय तथा स्कुल बस सुबिधा नहुँदा लामो पैदल यात्राले कक्षा कोठामै बिद्यार्थीहरु थाक्ने गर्दछन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/syamkumari-pun-rolpa-1024x654.jpg)
जिल्लाका अन्य ठाउँमा पनि यस्तो समस्या प्रशस्तै भेटिन्छन् । बिद्यालय पोशाकमा कपाल कोर्दै उकाली, ओराली गरिरहेका छात्रछात्रा सधै हतारमा हुन्छन । ‘घरमा कपाल कोर्न थाल्ने हो भने त स्कुल छुट्छ’, कोटगाउँ रिम्सकी १० कक्षामा पढ्ने छात्रा भुमिसरा घर्तीले काइयो झोलामा राख्दै भनिन, ‘सँधै यस्तै हो । कपाल कोर्ने, टाई बनाउने सँधै बाटो मै हो । हतार हुन्छ । बिस्तारै गयो भने त झन २ घण्टा लाग्छ, भ्याइँदैन दौडिनु पर्छ । बाटो ओरालो छ र जाँदा अलि सजिलो हुन्छ ।’
बिहान ९ बजे घरबाट हिडेका उनीहरु ४ बजेसम्म स्कुल पढ्छन । ‘फर्किदा उकालो पर्छ । घर पुग्दा त ६ बज्छ । राति हुन्छ । अध्यारोमा घर पुग्छौं । के गर्नु नजिक स्कुल छैन । घर गयो खाना खाएर पढ्दा पढ्दै थकाईले निद्रा लाग्छ । कहिले काही त कक्षा कोठामा पनि निद्रा लाग्छ ।’
‘बिहान हतार हतार खाना खाएर स्कुल गयो । घरबाट लगेको नास्ताले दिनभरि त धान्छ तर बेलुका फर्कदा उकालोमा भोकले हैरान बनाउँछ । घर आयो थकाई लागेको हुन्छ । होमवर्क गर्दा गर्दै निद्रा लाग्छ । बिहान घरको कामले ठिक्क । चाहेर पनि राम्रोसंग पढ्ने समय नै हुँदैन’, भुमिसरा संगै रहेकी मारियाले थपिन । उनीहरुको कपाल कोर्ने, टाई मिलाउने काम बाटोमै हुन्छ भने जुत्ता पालिस गर्न शनिबार नै कुर्नु पर्छ ।
घर भन्दा टाढा बिद्यालय भएका कारण अभिभावक पनि चिन्तित रहने गर्दछन् । ‘डेरा गराउन खर्चले धान्न सकिँदैन । नगराउँदा केटाकेटीको बिजोग छ । साँझ घर आउँदा भोक र थकाईले गलेर आउँछन् । नपढाएर पनि भएन’, एक अभिभावकले दुखेसो पोखे । ‘नेताले सडक खन्ने मात्र भन्छन । हाम्रा छोराछोरीले पढ्न पाए हुन्थ्यो । बिचरा साना साना केटाकेटी स्कुल जाँदा सधै हिड्नु पर्ने त्यो पाजी बाटोको के काम ।’
यहाँ रहेका ९० हजार बिद्यार्थीमध्ये धेरै बालबालिका दैनिक लामो पैदल यात्रा गरेर बिद्यालय पुग्ने गर्दछन् । गत निर्वाचनहरुमा शिक्षासंग सम्बन्धित पठनपाठनको बिषय कुनै पनि दलले आफ्नो प्रतिबद्धता पत्रमा राखेनन् भने स्थानीय तहले अहिलेसम्म पनि बिद्यालय र बिद्यार्थीको बिषयमा कुनै छलफल समेत गर्ने गरेका छैनन् ।
चुनाबमा भोट माग्न सडक, बत्ति, पानी, रोजगारी जस्ता बिषयलाई प्राथमिकतामा राखिए पनि आधारभुत शिक्षा, स्वास्थ्य जस्ता बिषयमा जनप्रतिनिधिहरु मौन रहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्