निर्मला पन्तको डिएनए आमा दुर्गादेवीसँग मिल्यो
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।
पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी पन्त डीएनए परिक्षण गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।
लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।
निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरेका हुन् । अब आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले दाबी गरेको छ ।
मानवअधिकार आयोगले बनाएको छानविन समितिले भने डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको थियो । आयोगद्वारा गठित छानबिन समितिले सार्बजनिक गरेको प्रतिवेदनमा भजाईनल स्वाबको नमुना संकलन प्रक्रिया नै त्रुटिपुर्ण रहेको उल्लेख गरिएको छ ।
आयोगले प्रतिवेदनमा भनेको छ–‘ सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटीपूर्ण भएको ठहर छ । यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउने जस्ता समस्या पाइयो । मुलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटीपूर्ण रहेको पाइयो ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाको शवबाट संकलित लो, मिड र हाइ भजाइनल स्वाबको नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले वाई एसटीआर प्रविधिबाट डीएनए परीक्षण गरेको छ । यसले वंश पहिचान गर्न सघाए पनि व्यक्ति पहिचान गर्न सक्ने छैन ।
साथै पुरुष र महिला बीर्य अलग गरेर परीक्षण गर्नु पर्नेमा मिश्रित रुपमा नै परीक्षण गरेको पाइएको छ । प्रतिवेदनमा भनिएको छ–‘यसले बंश छुट्याउने वाई एसटीआर परीक्षण मात्र सम्भव भयो र अटोसोमल (जसले व्यक्ति पहिचान गर्छ) सम्भव भएन ।’
परीक्षणका क्रममा तीन वटै भजाइनल स्वाबमा पुरुष डीएनए फरक फरक मात्रामा पाइएको तर, कुल डीएनए (मुख्यत महिला) को तुलनामा पुरुष डीएनए मात्र अध्याधिक कम पाइएको छ । यसले सही परिणाम आउन नसक्ने समितिको ठहर छ ।
छानविन समितिले यो डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ । डीएनए प्रविधिको आकर्षक पक्ष नै वंश भन्दा व्यक्ति यकिन गर्नु भएको भन्दै समितिले भनेको छ, ‘यस केसमा भजाइनल स्वाब नमुनाबाट प्राप्त १६ वटा वाई एसटीआर नजिता आगामी दिनमा कुनै आरोपितसँग मिलेको अवस्थामा निज अपराधी भएको एकमात्र बलियो आधार हुन सक्दैन ।’
फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरुबीच १५ वटासम्म वाई एसटीआर मिलेको एक अध्ययनले देखाएको स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, संयोग नै हुनसक्छ सो अध्ययनमा परेका बडू थरका व्यक्ति र निर्मला पन्त केसमा आरोपित बडू थरका व्यक्तिबीच शतप्रतिशत वाई एसटीआर डीएनए मिलेको छ ।’
‘वाई एसटीआरबाट व्यक्ति किटान सम्भव हुँदैन । शतप्रतिशत मिलेको अवस्थामा निजबाहेक सो डीएनए अन्य व्यक्तिमा भए नभएको, भए कति जनामा भएको डाटा चाहिन्छ ।’
निर्मला पन्तको केसमा पुरुष र महिलाको अलग गरिएको डीएनए नरहेको भन्दै छानविन समितिले बाँकी रहेको भजाइनल स्वाब मात्र थप परीक्षणको विकल्प भएको बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्