सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नर्सिङ केयरमा जापान जानेले बुझ्नैपर्ने कुरा

अहिले जापानमा धेरै श्रम अभाव भएको क्षेत्र मध्ये नर्सिङ केयरको क्षेत्र पनि एक हो । जापानको सवालमा यो यस्तो क्षेत्र हो जहाँ विस्तारै कामदारको माग बढी रहन्छ । जापानमा वृद्ध्हरुको जनसंख्या बढेसंगै उनीहरुको हेरचाह र स्याहार सुसारका लागी चाहिने जनशक्तीको अभाव पनि बढ्दै गइरहेको छ । साथै यस क्षेत्रमा जापानी नागरिकहरु र विदेशीहरू दुवैको लागि स्थिर र समान आम्दानी उपलब्ध हुन्छ ।

वृद्धहरुको केयरमा काम चाहीँ के गर्नु पर्छ होला ? के बिदेशी नागरिकलाई यो केयरको काम गर्न नर्सिङ्ग सम्बधि कुनै औपचारिक कोर्सको अध्ययन गर्नु पर्छ ? नेपालमा यो नर्सिङ केयर वर्क सम्बन्धि कामको प्रचार भैरहँदा धेरै जनाको यस्तो जिज्ञासा भएको पाइएको छ ।

वृद्धहरूको केयरमा के के काम गर्नु पर्छ ?
एक वृद्धलाई लिभ–इन सुविधामा हेरचाह गर्नु भनेको उनीहरूलाई दैनिक आवश्यक पर्ने सबै चीजहरूमा सहयोग गर्नु हो । जापानमा सरकारी, अर्धसरकारी या प्राइभेट नर्सिङ्ग केयर सेवा केन्द्रमा त्यहाँ कार्यरत केयर स्टाफ सदस्यहरुले आफ्नो सुपरभाइजरको निर्देशन र कार्यातालिका अनुरुप कपडा धुने, खाना पकाउने, खाना खुवाउने, सफा गर्ने, नुहाउने, शौचालय गर्न सहयोग गर्ने, शारिरिक अभ्यास (एक्सर्साइज) गराउने तथा सुविधाको रूपमा मनोरञ्जनका लागि सहयोग गर्ने गर्छन ।

कहिलेकाँही नर्सिङ सेवा केन्द्रमा रहेका वृद्धहरुलाई खेल र बाहिरका पदयात्रा पनि गराउनु पर्ने हुन्छ । त्यसै गरि उनीहरुको मेडिकल अवस्था हेरेर चिकित्सकहरुको निर्देशन बमोजिम आवश्यक औषधि, खानेकुरा र फिजिकल थेरापी पनि उपलब्ध गर्नु पर्ने हुन्छ । यद्दपि यस्ता सेवा केन्द्रमा धेरै केयर स्टाफ कर्मचारीहरू उपस्थित हुन्छन्, र सबै काम एकै जनाले गर्नु पर्दैन र काम त्यति बोझिलो पनि हुँदैन ।

Everest Corporation

अहिले आएर यस क्षेत्रमा आधुनिक टेक्नोलोजीको विस्तारले ठूलो सहयोगी भूमिका खेलेको छ । एउटा सेवा केन्द्रमा अहिले धेरै प्राविधिक सुबिधाहरु उपलब्ध छन् । जसले वृद्धहरूको लागि जीवन जिउन सजिलो बनाएको छ र साथै केयर स्टाफ कर्मचारीको कामलाई पनि सरल बनाएको छ ।

जस्तै कि वृद्धहरूको सुत्न बस्न विशेष पलंगहरु छन् र तिनीहरूको उचाइ सजीलो संग समायोजित गर्न सकिन्छ । एक बटन दबाएको भरमा मानिसहरुलाई ओछ्यानमा र बाहिर पस्न धेरै सजिलो बनेको छ । त्यस्तै गरि बिशेष प्रबिधि जडान गरिएको व्हिलचेयर होस् वा नुहाउने जाकुजी सामान्य बटन मिलाएर चलाउन सकिन्छ ।

वृद्धहरूको केयर गर्न कस्तो सिप, शिक्षा र भिसाको आवश्यक पर्छ ?
अन्य कुनै पनि काम जस्तै यो नर्सिङ केयरको क्षेत्रमा काम गर्ने व्यक्तिहरूको लागी पनि राम्रो संचार कौशल आवश्यक पर्दछ । त्यस कारण पनि जापानिज भाषाको राम्रो ज्ञान जरुरि छ । सेवा केन्द्रमा राखिएका वृद्धहरूको क्षेत्रीय उच्चारण पनि हुन सक्छ, वा तिनीहरूको बोली बुढ्यौलीले असर गरेको पनि हुनसक्छ, त्यसैले ध्यान दिएर सुन्नु महत्वपूर्ण छ ।

यसको मतलब विदेशी केयर स्टाफका लागि राम्ररी कुराकानी गर्न राम्रो जापानी भाषाको क्षमता आवश्यक छ । यद्दपि एउटा ठुलो र राम्रो नर्सिङ्ग केयर सेन्टरमा धेरै कर्मचारीहरू हुनेछन्, त्यसैले सम्भावित मूल भाषा जापानी बोल्ने सहकर्मीहरूले विदेशी भाषाका कर्मचारीलाई भाषाको लागि सहयोग गर्न सक्दछन् ।

यो नर्सिङ केयर क्षेत्रमा आफ्नो करियर बनाउन जापान स्थित वेलफेयर ट्रेनिङ्ग कलेजमा २ बर्षको अध्ययन पश्च्यात केयर नर्सको लाईसेन्स लिएमा तुरन्तै यो क्षेत्रमा आफ्नो काम शुरु गर्न सकिन्छ । जापानमा यसरि वेलफेयर कोर्स नै पढेर यो क्षेत्रमा काम गर्न चाहनेको लागि सम्बन्धित सेवा केन्द्रले नै बिद्यार्थीको कलेजको सम्पूर्ण पढाई खर्च ब्योहोरिदिने यानी कि स्पोन्सर गरिदिने सम्भावना धेरै हुन्छ, तर त्यसको लागि पढाइ सकेपछि ५ वर्ष सम्म सोहि केन्द्रमा कामको करार गर्नु पर्ने हुन्छ ।

यस बाट पनि पुस्टि हुन्छ जापानमा यो कामको कति धेरै महत्व र डिमाण्ड छ भन्ने कुरा । यसरि केयर नर्सको लाईसेन्स लिएर काम गर्न केयर नर्सको बेसिक तलब मासिक न्युनतम २२०,००० एन छ र प्रति घण्टा १२५० एन न्युनतम प्राप्त हुन्छ । यसको लागि सम्वन्धित कम्पनिले नै केयर नर्स भिसाको आवेदन गरि दिन्छ ।

त्यस्तैगरि बाहिर बाट आउने बिदेशीहरुको लागि यस क्षेत्रमा काम गर्न मुलत दुई प्रकारका भिसाहरु छन् । एउटा प्रशिक्षार्थी कामदार भिसामा नेपालको श्रम मन्त्रालयबाट स्वीकृत प्राप्त म्यानपावर कम्पनिको मातहतबाट जापान स्थित रोजगारदाता केयर नर्स सेवा केन्द्रसंग निश्चित मापदण्ड पुर्याएर जापानमा बढीमा ३ वर्ष सम्म काम गर्ने । यो प्रशिक्षार्थी भिसा भएकोले यसको लागि खासै कुनै निश्चित शैक्षिक ज्ञान या पढाइको आवश्यकता पर्दैन । यसको लागि केवल न्युनतम जापानिज भाषा ज्ञान भए पुग्छ ।

सामान्यतया प्रशिक्षार्थी कामदारको रुपमा काम गर्ने केयर वर्करको तलब सुबिधा तुलनात्मक रुपमा धेरै कम हुन्छ तर काम र समय संगै बिस्तारै तलब सुविधामा वृद्धि हुदै जान्छ । यो भिसाको अर्को राम्रो पक्ष के छ भने आफ्नो ३ वर्षको करार सकिएपछि र ट्रेनिङ्ग सर्टिफिकेट–२ सम्पन्न गरिसकेपछि स्वत अहिले भर्खरै शुरु भएको स्पेसिफिक स्किल्स भिसामा (तोकुतेइ गिनोउ) बिना कुनै अन्य ट्रेनिङ्ग वा टेस्ट नै फेरी ५ वर्षको लागि जापानमा काम गर्न सकिन्छ ।

अर्को मुख्य भिसा भनेको स्पेसिफिक स्किल्स भिसा (तोकुतेइ गिनोउ) हो । यसको लागि कलेज या बिद्यालयमा केयर नर्स सम्वन्धि कुनै पनि बिशेष कोर्सको अध्ययन गर्नु पर्दैन । यो भिसाको आवेदन दिन जापान स्थित केयर नर्स सेवा रोजगारदाता कम्पनि या यसको लागि स्वीकृत प्राप्त कम्पनिद्वारा छनोट हुनु पर्दछ । यो भिसा आवेदनको लागि मुख्य ३ वटा परिक्षामा उतिर्ण हुनुपर्दछः १. जे एल पी टि एन फोर , वा जे एफ टि बेसिक २. केयर नर्स स्किल्स इभालुएसन टेस्ट र ३. केयर नर्स जापानिज ल्यांग्वेज इभालुएसन टेस्ट ।

यो भिसामा केयर नर्सको काम गर्ने बिदेशी कर्मचारीले अन्य सुबिधा बाहेक न्युनतम मासिक बेसिक तलब १५०,००० एन प्राप्त गर्छन र प्रति घण्टा कामको १००० एन प्राप्त गर्छन । यो भिसाको सम्पुर्ण करार अवधि ५ वर्षको हुन्छ र निश्चित महिना–महिनामा जापानको नियम र कम्पनिको अवस्था अनुसार तलब र सुबिधामा वृद्धि हुँदै जान्छ ।

केयर वर्कको क्षेत्रमा आफ्नो करियर वनाउनुको फाइदाहरु ?
पहिलो कारण त यो क्षेत्र जापानको स्किल कामदार अभाब भएको सबै भन्दा ठुलो क्षेत्र हो । तथ्यांक अनुसार अहिले नै जापानमा कम्तिमा ३ लाख जति केयर नर्स या केयर वर्करको खाँचो छ । जापान सरकारले नयाँ भिसा स्पेसिफिक स्किल्स भिसा (तोकुतेइ गिनोउ) मार्फत सबै भन्दा बढि यानी कि ६०,००० कामदारहरु केयर वर्करको रुपमा भित्राउने योजना बनाएको छ । जापानमा बर्सेनि बढिरहेको बुढाबुढिहरुको संख्यालाई लक्षित गर्ने हो भने यो सेक्टरमा काम गर्ने कामदारहरुको धेरै नै माग सधैलाई रही रहनेछ ।

साथै यो सेक्टरलाई बुझ्ने हो भने जापानको स्वास्थ बिमा सम्वन्धित नीति र अहिले कोरोनाको बेलाको यस क्षेत्रलाई अध्ययन गरे पनि थाहा हुन्छ । जापानमा ६५ वर्ष पुगेपछि सम्पुर्ण नागरिकको जीवन तथा स्वास्थ्य बिमा अनुरुप सरकारले एज केयर सुबिधा उपलब्ध गराउनु पर्छ । सामान्यतया धेरै नागरिकहरु लामो आयुसम्म बाँचिरहने भएकोले सरकारको एउट ठुलो दायित्व हुन जान्छ । जस्तोसुकै बखतमा पनि अरु क्षेत्र या उद्योग बन्द हँुदा पनि जापानमा यो केयर सेवा केन्द्र भने सँधै चलाउनु पर्ने हुन्छ । त्यसकारण पनि यो क्षेत्रमा काम गर्न मानिसहरुको भविस्य सँधै सुरक्षित छ ।

अर्को मुख्य फाइदा भनेको यो सेक्टरमा काम गर्ने कामदारहरुको तलब सुबिधा क्रमसः बढ्दै जान्छ । सामान्यतया धेरै जसो कम्पनीहरुले प्रत्येक ६–६ महिना तलब बढाउने र नियमित रुपमा ६–६ महिनामा बोनसको सुबिधा गरेको हुन्छ । साथै धेरै जसो कम्पनिले आफ्ना कामदारहरुलाई बस्ने ठाउँको पनि उचित व्यवस्था गरेको हुन्छ । सामान्यतया यस क्षेत्रमा सँधै जसो काम परिरहने र कामदारको अभाबले गर्दा कामदारहरुले ओभरटाइमको काम पाउँछन ।

आफ्नो तलबको प्रति घण्टा ज्यालाको २५ प्रतिसत बढी ज्याला ओभरटाइमको रुपमा पाउने हुँदा महिनाको अन्तिममा जम्मा पाउने तलब र ओभरटाइम गरेर धेरै राम्रो हुने गरेको यस क्षेत्रमा काम गर्ने कामदारहरुले बताउँछन । हप्ताको ५ दिन मात्रै काम हुने हुँदा, छुट्टीको बेला काममा जानु पर्दा र रातिको सिफ्टमा काम गर्नु पर्दा अँझ बढी अतिरिक्त ज्याला पाउने हुँदा पनि यो क्षेत्रमा आर्थिक हिसाबले धेरै फाइदाजनक देखिन्छ ।

त्यसै गरि बिदेशी कामदारलाई यो क्षेत्रमा काम शुरु भए पछि नियमित रुपमा ट्रेनिङ्गको व्यवस्था भैरहने भएकाले शुरुमै कुनै पनि बिशेष शिक्षाको आवस्यक नपर्नु पनि सबैभन्दा सजिलो कुरो हो ।

(लेखक जापानस्तिथ एभरेस्ट कर्पोरेसन लिमिटेडका सञ्चालक हुनुहुन्छ )

If you are interested in working in nursing care, send a message to the “Everest Corporation Ltd” on Facebook to introduce yourself and get job offers.

Click the link below
https://www.facebook.com/EverestCorporation/

यो पनि पढ्नुहोस् ।
नर्सिङ केयरमा जापान जान अनलाइन अन्तरवार्ता

फेसबुकबाट कमेन्ट गर्नुहोस्