सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चौधरी ग्रुपको अपार्टले छिमेकीको उठिवास

रात छिप्पिँदै गएपछि कुपन्डोल हाइटमा डोजर, टिपर र मसला घोल्ने मेसिनको कर्कस आवाज सुरु हुन्थ्यो । निद्रामा डुब्न लागेका स्थानीय ब्युँझिन्थे । डोजरले खन्दा जमिन परसम्म थर्किन्थ्यो । छेउछाउका घरहरू हल्लिन्थे ।

०७२ सालको भूकम्पको त्रासदी भोगेका स्थानीय भुइँचालो आएको ठानेर ओछ्यानबाट जर्‍याकजुरुक उठ्थे । झ्यालबाट बाहिर हेर्दा डोजरले एकतमास खनिरहेको हुन्थ्यो । बिहान ५ बजेतिर मात्र कोलाहल साम्य हुन्थ्यो । रातभरमा स्थानीयका घर धुलोले ढाकिइसकेका हुन्थे ।

पहिले समिट होटल भएको ठाउँमा चौधरी समूहका अध्यक्ष तथा सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको ‘समिट होटल एन्ड रेसिडेन्सेसको अवधारणा’ मा अपार्टमेन्ट बनाउन थालेदेखि नै वरपरका स्थानीयको चैन गुम्यो । अपार्टमेन्टको निर्माणाधीन संरचनाले डर, त्रास निम्तिएपछि स्थानीयले मिलेर वडा कार्यालय र ललितपुर महानगर गुहारे । निर्माण पक्षसँग पटक–पटक छलफल गरे । ‘बारम्बार खबरदारी गर्दा पनि सुनेको नसुन्यै गरे, डोजर नचलाउन आग्रह गर्दा पाइलिङ गर्दै छौं, पाइलिङ नगरे तिमीहरूकै घर झर्छ भनेर हामीलाई ढाँटेका रहेछन्,’ स्थानीय पवित्रा बिष्टले भनिन् ।

उपत्यकामा बहुतले आवास योजना निर्माणको स्वीकृति दिने उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका ढकालले निर्माण पक्षले अटेर गरेर अपार्टमेन्ट र होटल बनाउन थालेको बताइन् । ‘प्लानिङ पर्मिट माग्नुभएको थियो, केही मापदण्ड नपुगेपछि प्रक्रियामै थियो,’ उनले भनिन्, ‘पर्मिट नलिई काम हुँदै छ भन्ने थाहा पाएपछि कात्तिकमा काम रोक्न पत्र काटेका थियौं, अटेर गरिरहनुभएको थियो ।’

आफूहरूलाई आतंकित नबनाउन गरेको आग्रह नसुनेपछि पवित्राको परिवार पुर्ख्यौली घर चटक्कै छाडेर भाडामा बस्न धोबीघाट सर्‍यो । उनीहरू धोबीघाट सरेको चार महिनापछि शुक्रबार राति साढे २ बजे घर भासियो । ‘सासू आमा ८० वर्षको हुनुहुन्छ, मुटुरोगी हुनुहुन्छ, मेसिनको आवाजले बस्न नसकेर सरेको हो, हल्लिएको हल्लियै, भुइँचालो आयो भनेर जतिबेलै भाग्नुपर्ने,’ पवित्राले सोमबार भनिन्, ‘सरेर गएको राम्रै भएछ, ज्यान त बच्यो । यहीं हुँदा भत्किएको भए बूढी सासू आमा कसरी जोगाउँथ्यौं होला र !’

उनीहरू धोबीघाट सरेपछि केही महिना घर खाली भयो, भाडामा लागेन । केही महिनायता विज्ञापन एजेन्सीले कार्यालय राखेको थियो । एजेन्सीका कर्मचारीले मौलिक शैलीको घर भएकाले क्याफे राख्ने भनेर घरबेटीसँग ‘स्पेस’ मागेका थिए । घरको रेखदेख गर्न एक जना गार्ड राखेका थिए । उनैले घरको अवस्थाबारे जानकारी गराउँथे । उनीहरू पनि आउजाने गर्थे । घर र जमिन चर्किन थालिसकेको थियो । जतिबेलै क्षति पुग्ने सम्भावना बढेपछि गार्डलाई घरबाहिरै सुत्न आग्रह गरेका थिए ।

पवित्राका छोरा र उसका साथीहरू शुक्रबार साँझ रमाइलो गर्न घर आएका थिए । घर हल्लिएजस्तो भएपछि पवित्राका छोरा अतालिँदै धोबीघाट पुगे । पछि गार्डले घर भासिएको खबर गरे । विज्ञापन एजेन्सीका दुवै कर्मचारी त्यो रात कार्यालयमै सुतेका थिए । घर हल्लिन थालेपछि गार्डले दुवैलाई उठाए । उनीहरू बाहिर आएको तीन मिनेटमै घर भासियो । ‘सासू आमाले घर कस्तो भयो, मेरो कोठा पनि भत्कियो ? भनेर सोध्नुहुन्छ,’ पवित्राले भनिन्, ‘साँचो कुरा भन्न सकेका छैनौं, बिरामी हुनुहुन्छ झन् पीडा होला भनेर ।’ उनकी सासू आमाले आइतबार सुनाएअनुसार यो घर ४३ वर्षअघि बनाइएको हो । ‘यो घरसँग सासू आमाको इमोसनल अट्याचमेन्ट छ, उहाँलाई अलिकति ढल्किएको हो, केही भएको छैन भनेका छौं,’ उनले थपिन् ।

नक्सापास र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिनैको निर्माणाधीन अपार्टमेन्टले पवित्रालगायत सँधियारहरूको उठीबास लगाएको छ । पवित्राका छिमेकी सुवास पाण्डेको परिवार शुक्रबार राति साढे तीन तलाको माथिल्लो ‘फ्लोर’ मा सुतेको थियो । हेर्दाहेर्दै घर चर्किन थाल्यो । अतालिएर भाग्ने क्रममा सुवासको खुट्टामा चोट लाग्यो । पत्नी र आमा मानसिक पीडामा रहेको उनले सुनाए । सुवासले भने, ‘घरहरू चर्किन थाले, भासिन थाले तर मेसिन चलाउन छाडेनन्, हामी वरपरका सबैले भनेपछि बल्लतल्ल मेसिन चलाउन बन्द गरे ।’

निरन्तर खनेर अबेर स्थानीयको उठीबास लाग्दा पनि निर्माण व्यवसायीले मानवीयता नदेखाएको उनले बताए । स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर ललितपुर महानगरका पदाधिकारी, राजनीतिक दलका नेतृत्वलगायत सरोकारवालाले अनुगमन गरे । उपत्यका विकास प्राधिकरणकी आयुक्त ढकालले सोमबार गत कात्तिकमा पठाएकै पत्रका बुँदालाई समेटेर निर्माण पक्षलाई पुनः पत्र पठाएको बताइन् । तर सोमबार दिउँसो रिपोर्टिङका निर्माणस्थलमा निर्माणको क्रम भने चलिरहेकै थियो ।

ग्रिनविच होटल पछाडिपट्टि गल्लीमा घर भत्केको हेर्न आउनेहरू बढेपछि सुरक्षार्थ सानेपा बिटमा दुई जना प्रहरी खटाइएका छन् । पवित्रा र सुवासको घर जानेतिर ‘सावधान’ भनेर डोरी तानेका छन् । त्यो डोरी कटेर जान दिइएको थिएन । तर सोही खतराको डोरीभित्र दुई जना गार्डहरू अपार्टमेन्ट निर्माणस्थलको सुरक्षामा थिए । नजिकै ढल्न लागेको नयाँ पाँचतले घर ढल्किँदै गइरहेको उनीहरूले सुनाए ।

‘अघि बिहानदेखि अहिलेसम्ममा यो पर्खाल पनि निकै ढल्किसकेजस्तो देखिँदै छ,’ सुरक्षामा खटिएकी महिला प्रहरीले सोमबार दिउँसो साढे ४ बजेतिर सुनाइन् । उनी ढल्न लागेको घरको गेट भएको पर्खालदेखि लगभग दुई मिटरको दूरीमा लामा क्याफेको पर्खालमा अढेस लागेकी थिइन्, सर्वसाधारणको सुरक्षामा खटिएकी थिइन् ।

लामा क्याफेका कुक आशिष केसी शुक्रबार साँझ क्याफेमै सुतेका थिए । ड्याङडुङ आवाज आएको, मानिसहरू होहल्ला गरेको सुनें । भोलिपल्ट उठेर किचनमा छिर्दा जमिन चर्किएको, भासिएको पाए । ‘इन्जिनियरले पनि आएर हेर्नुभएको, जमिन डाउन भइरहेको छ भन्नुभयो,’ उनले भने । लामा क्याफे र अपार्टमेन्टको ‘पाइल प्रोक्टेक्सन’ भइरहेको ठाउँ करिब २५ मिटरको दूरीमा छ । सामान्य चर्किएका भुइँ बढ्दै गइरहेको आशिषले सुनाए ।

लामा क्याफेनेर घर भएकी अर्चना बिष्ट छिमेकीहरूको बिचल्ली देखेर अत्तालिएकी छन् । उनीहरूको घर बनेको पाँच वर्ष जति भएको छ । घरमा क्षति नपुगे पनि निर्माणस्थलको निरन्तरको हैरानीका साक्षी हुन् । ‘शुक्रबारको घटना भएदेखि हामी एकदमै बिथोलिएका छौं, घरहरू त्यत्रो धसिइसके, हाम्रो केही भएको छैन तर डर छ,’ घर भासिएको बुझ्न आएकी पवित्रालाई सान्त्वना दिन रेस्टुरेन्टमा भेला भएकी उनले भनिन्, ‘भाडामा बस्नेहरू अन्तै सर्छौं भन्छन्, यो रेस्टुरेन्ट (लामा क्याफेनेरको) चलाउने भाइहरू के छ भनेर दिनकै सोध्न आउनुहुन्छ, भाडा आउने भएर खाने मेलो भएको थियो, यही पनि अब नदिने भयो यो अपार्टमेन्टले ।’

उपत्यका विकास प्राधिकरणले गत कात्तिकसम्म २ सय ३३ वटा सामूहिक आवास (हाउजिङ, कोलोनी) र संयुक्त आवास योजना (अपार्टमेन्ट), व्यापारिक भवन, स्वास्थ्य संस्थालगायतलाई अनुमति दिएको थियो । त्यतिखेर कान्तिपुरकर्मीले ‘गुगल अर्थ प्रो’ मा पहिचान गरेका ९५ वटा कोलोनी, अपार्टमेन्ट, हाउजिङ, अस्पताल, सुपरमार्केटलाई भूउपग्रह तस्बिर र भूसूचना प्रणालीका सफ्टवेयरको सहायताबाट अध्ययन गर्दा ९५ वटा त्यस्ता योजनामध्ये ४१ प्रतिशत (३९ वटा) खोलाछेउमा,

थोरै वा पूरै किनार मिचेर बनाएको पाइएको थियो । मापदण्डविपरीतका ती योजनामा आवास क्षेत्र सबैभन्दा धेरै र त्यहाँका बासिन्दा बाढीको उच्च जोखिममा रहेको फेला परेको थियो । खोला किनारमा नभए पनि आवास निर्माणको सम्पूर्ण मापदण्ड पूरा नगरी बनाइएका ५९ प्रतिशत आवास योजनासमेत जोखिममा छ । ६ अर्ब रुपैयाँ लगानीमा आवास निर्माणको मापदण्डविपरीत बनिरहेको अपार्टमेन्ट ७ देखि १६ तलासम्म रहने जनाइएको छ ।

‘नक्सापास र ईआईए महानगरमा पेस गर्छौं’

ललितपुरस्थित समिट होटलले निर्माण गरिरहेको समिट रेसिडेन्सीको साँधमा जोडिएका अन्य घर भासिएसँगै नक्सापासको काम तथा वातावरणीय मूल्यांकन (ईआई) को काम सुरु गरेको बताएको छ । नक्सापास तथा वातावरणीय मूल्यांकनसमेत नगरी अपार्टमेन्ट निर्माण गरेपछि उक्त क्षेत्रको जमिन भासिएको थियो ।

ललितपुर–१ मा समिट रेसिडेन्सी निर्माण गर्दा जग्गाको ‘पाइल प्रोटेक्सन’को कामका क्रममा पूर्व–दक्षिणतर्फको केही जमिन भासिएलगत्तै निर्माण कम्पनी, स्थानीय र जनप्रतिनिधिको समेत रोहवरमा छलफल गरी समस्या समाधानका लागि सहमति भइसकेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परियोजनाको नक्सासम्बन्धी काम काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको समेत विज्ञप्तिमा जनाइएको छ । नक्सा र वातावरणीय प्रभाव मूल्यांकनसहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गरिने पनि होटलले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्