सन् १९५० को सन्धी संशोधन नेपालको पहिलो मुद्दा
आजदेखि दिल्लीमा सुरु हुने प्रवुद्ध समुहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धीलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो प्राथमिकता बनाउने भएको छ । उक्त सन्धि लगायत सबै दुईपक्षिय सन्धी एवं सम्झौताको पुनरावलोकनका लागि बनेको सो समूहको दोस्रो बैठक दिल्लीमा हुँदै छ ।
काठमाण्डौमा भएको पहिलो बैठकमा राजनितिक विषय, दुई सरकारबीचको सम्बन्ध, आर्थिक–व्यापार, सांस्कृतिक तथा कनेक्टीभिटी र पारवहनको विषयमा समुहका सदस्यबीच काम बाँडफाँड गरेर अगाडी बढ्ने सहमति भईसकेको छ । सदस्यहरुले आज र भोली कार्यपत्र प्रस्तुत गर्ने छन र त्यसमाथि विस्तृतमा छलफल हुने छ ।
नेपाली पक्षले भने सन् १९५० को सन्धिबाट नै काम सुरु गर्ने प्रस्ताव गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म दुई देशबीचमा भएका सन्धी तथा सम्झौताको प्रमुख आधारका रुपमा उक्त सन्धी कायम रहेकाले नेपाली पक्षले यसमा जोड दिएको हो ।
भारतीय पक्षले उक्त सन्धिमा नेपालले कस्तो संशोधन चाहेको हो, त्यो प्रस्ताव ल्याउन भनिरहेको छ । तर नेपाली पक्षको भनाई नेपालले ठाडो प्रस्ताव राख्ने भन्दा पनि यो विज्ञ निकाय भएकाले आपसमा छलफल गरेर एउटा निष्कर्षमा पुगौँ भन्ने रहेको छ ।
प्रबुद्ध समुहका सदस्य भेषबहादुर थापाले भन्नुभयो–‘हामी सन् १९५० को सन्धीबाट काम सुरु गर्ने मानसिकता बनाएर आएका छौँ र बैठकमा त्यही ढंगले प्रस्तुत हुन्छौं । त्यसबाहेक अन्य आर्थिक, वाणिज्य तथा पारवहनको विषयमा समेत समेत छलफल गर्छौं ।’
सन् १९५० को सन्धीको पुनरावलोकनको कुरा गर्दा हतियार तथा अन्य सैन्य सामग्री किन्दा नेपालले भारतको सहमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई प्राथमिकता दिने तथा गोर्खा भर्तीको विषय सम्बन्धी प्रावधान नेपालले संशोधन गर्न चाहेको छ ।
प्रवुद्ध समुहका सदस्यहरुले यस विषयमा आन्तरिक रुपमा गृहकार्य समेत गरेका छन् । सन्धीको आधारभुत प्रावधानमा नेपालले संशोधन गर्न चाहेको छ । तर भारतमा भने यस विषयमा मत विभाजित रहेको छ ।
भारतमा भने सन् १९५० को सन्धीलाई संशोधन गर्ने विषयमा एकमत छैन । विशेषत; सैन्य सामग्रीको विषयमा खुला सिमाना भएकाले भारतलाई यो विषय थाहा हुनुपर्ने मत रहेको छ । उक्त प्रावधानलाई समयानुकूल संशोधन गर्दा राम्रो हुने मतसमेत रहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्