सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गुण्डा नाईके दिपक मनाङ्गेले यसरी झुक्याए प्रहरी

ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रदेश नम्बर ४ मनाङका प्रदेश सभा सदस्यसमेत रहेका गुण्डा नाईके राजीव गुरुङ (दीपक मनाङे) हेटौंडामा रहेको प्रहरीले सूचना पायो ।

उक्त सूचनासँगै प्रहरीले मनाङेले प्रयोग गर्ने टेलिफोन नम्बर पनि पत्ता लगायो र उक्त नम्बरको लोकेसन हेर्दा हेटौंडाकै एक घरमा देखायो । उक्त लोकेसनका आधारमा मनाङेलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाको एक टोली गत साता हेटौंडा प्रस्थान गर्यो ।

मनाङे पक्राउ गर्न भन्दै ठिक्क परेर हेटौंडा पुगेको महाशाखाको टोलीले उक्त लोकेसन देखाएको घरको पहिचानतर्फ लाग्यो र पत्ता पनि लगायो । मनाङेको ससुराली हेटौंडा नै हो । प्रहरीले पत्ता लगाएको लोकेसन अनुसारको घर उनका आफन्तकै परेछ ।

प्रहरी झनै ढुक्क भयो । प्रहरीले उक्त घर सर्च गर्यो मनाङे भने भेटिएनन् । फेरि, पनि उनको लोकेसन त्यहीँ नै देखाएपछि प्रहरी हैरान भयो । कोठा–कोठामा खोज्दै जाँदा मनाङे हैन मनाङेले प्रयोग गर्दै आएको पछिल्लो फोन भेटियो जुन फोन नम्बरकै आधारमा प्रहरी त्यहाँसम्म पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार मनाङे मोबाइल भएको घरमा बास बस्थेनन, उनी अर्कै घरमा बस्थे तर मोबाइल भने त्यहाँ राख्थे । उनले प्रहरीलाई झुक्याउनकै लागि यस्तो गरेको प्रहरीले जनाएको छ । लोकेसन हेरेर प्रहरीले ठाँउ पत्ता लगाएपछि आफू भने सुरक्षित रहने जुक्ति लगाएर मनाङे फोन एक घरमा राखेर आफू अर्कै घरमा बस्दै आएका थिए ।

‘फोन गर्न परेमा उनी उक्त ठाँउमा आउने गरेका रहेछन’, स्रोतले भन्यो, ‘फोन सकेर उनी नजिकै अर्कै घरमा बस्ने गरेका रहेछन, त्यो कुरा मोबाइल बरामदपछि खुल्यो अहिले त उनले हेटौंडा छाडिसकेको खबर छ ।’

फरार मनाङेलाई पक्राउ गर्न नेपाल प्रहरीको तीन टोली परिचालित छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी कार्यालय र काठमाडौं परिसरको टोली छुट्टा छुट्टै मनाङेलाई खोजी गर्दै आएको छ ।

२०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर, लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।

२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । सोही मुद्दामा घटनामा संलग्न अन्य अभियुक्तहरू रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्