दसैंमा किन खेलीन्छ पिङ, किन उडाईन्छ चंगा
दसैंको सुरुवात भएसँगै घर टोलमा चंगा उडाउने र पिङ खेल्नेको रौनक बेग्दै छ । दसैँको अवसरमा पिङ खेल्ने संस्कृति नेपालमा मात्र पाइन्छ । शास्त्रमा भने दसैँमा पिङ खेल्नैपर्छ भन्ने कुरा उल्लेख भएको पाइँदैन । पिङ केवल रमाईलोका लागी मात्र खेल्ने गरेको पाईन्छ ।
पिङ खेल्ने, चंगा उडाउने प्रचलन कहिलेबाट सुरु भएको भन्ने यकिन छैन । भारतमा केही फरक तरिकाले नवरात्री मनाउने प्रचलन छ । पौराणिक कालमा कृष्णलाई झुलामा झुलाउने गरिन्थ्यो । त्यसैको विकसित रूप नै पिङ हो भन्ने बुझाई छ । त्यसलाई परिमार्जन हुँदै लिंगे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो ।
दसैँमा धर्ती छोड्नुपर्छ भनेर पिङ खेल्ने गरेको पनि पाइन्छ । यस्तो कुरा पनि कुनै शास्त्रमा लेखिएको छैन । स्थानीय संस्कृति र पुर्खाहरूले चलाउँदै आएको हल्लाको भरमा यस्तो कथन चल्दै आएको हो । रमाइलो र भेटघाट गर्ने माध्यमको रूपमा पिङ खेल्ने प्रचलन चलेको मानिन्छ ।
संस्कृतिका रूपमा विकसित भईसकेको चंगा उडाउने चलन भने नेवारी संस्कृति हो कि भन्न सकिन्छ । किनभने पहिला पहिला नेवारी वस्ती बढी भएको स्थानमा चंगा बढी उडाइन्थ्यो । पछि रमाइलो हुने हुँदा सबैले चंगा उडाउन थालेको हुन सक्छन ।
शरद ऋतुमा आउने नवरात्रलाई शारदी नवरात्र भनिन्छ । नवरात्र मौसम परिवर्तनको समय भएकाले यमराजको दाह्राहरू नजिक आएको हुन्छ भन्ने मान्यता छ । यो समयमा मानिसहरूलाई विभिन्न रोगले आक्रमण गर्छ । त्यसबाट पार पाउन दसैंमा व्रत बस्ने परम्परा पनि छ । दसैंको व्रत बस्दा सात्विक भोजन गर्ने हुँदा स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।
रोग व्यथा बढी लाग्ने भएकाले यो समयमा नकारात्मक पक्षलाई बलि दिने प्रचलन चलेको हो । राक्षसी प्रवृत्तिको अन्त्य गरिएको शास्त्रीय मान्यता अनुसार प्रतीकका रूपमा घिरौंला, फर्सी या पशुपंक्षीहरूलाई बलि दिँदै आएको पाइन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्