सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बृद्ध भत्ता पाउने उमेर ७० बर्ष पुगेकै हुनुपर्ने

यसअघि ६० बर्ष पुगेकालाई वृद्धभत्ता दिने भनिएकोमा वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम भएको छ । संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका विषयमा व्यवस्था गर्न बनेको विधेयकमा ७० वर्ष उमेर कायम गर्ने निर्णय गरेको हो ।

एकल महिला र दलितले भने ६५ वर्षकै उमेरमा वृद्धभत्ता पाउनेछन् । सरकारले निर्देशिकाको भरमा यस्तो भत्ता प्रदान गर्दै आएको थियो । दलहरूले वृद्धभत्तालाई चुनावी नारा समेत बनाउँदै आएका छन् ।

पहिलोपटक कानुनमार्फत् उमेर तोक्न लागिएको हो । समितिले ७० वर्ष उमेर तय गर्दै प्रतिवेदन तयार गरेको हो । समितिको प्रतिवेदन शनिबार संसदमा पेश हुँदैछ । समितिले जनआन्दोलनका घाइते, सहिद परिवारलाई समेत भत्ता दिने व्यवस्था गरेको छ ।

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो । २०६१ मा वृद्धभत्ता १ सय ७५ रूपैयाँ र्पुयाइएको थियो । त्यसपछि २०६७ सालमा जेष्ठ नागरिकको परिभाषा परिमार्जन गर्दै ७० वर्षमा झारिएको थियो ।

दलित वृद्धवृद्धालाई ६० वर्षमै भत्ता वितरण सुरू गरिएको थियो । अब दलित वृद्धवृद्धाले भत्ताका लागि थप ५ वर्ष कुर्नुपर्नेछ । २०६९ सालमा वृद्धभत्ता ५ सय पुगेको छ । २०७२ सालमा नेपाली कांग्रेस सरकारले एक हजार र्पुयाएको थियो भने २०७३ सालमा तत्कालीन एमाले सरकारले २ हजार र्पुयाएको थयो ।

शेरबहादुर देउवा सरकारले २०७४ सालमा मन्त्रिपरिषदबाट वृद्धभत्ता पाउने उमेर ६५ कायम गरेको थियो । लगत्तै बनेको केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय प्रमाणिकरण नभएको भन्दै कार्यान्वयनबाट पन्छाइदिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्