सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्रिस्चियन चर्चको पैसामा यसरी बिके नेपाली नेता

एउटा विवादास्पद अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाले कसरी कुनै मुलुकका सरकार र नेताहरुलार्इ किन्न सक्छ भन्ने एउटा गतिलाे उदाहरण बनेकाे छ- एसिया प्यासिफिक सम्मिट २०१८ । क्रिश्चियन धर्मलार्इ नयाँ अावरणमा ‘गुलियाे’ बनाएर बेच्न खप्पिस दक्षिण काेरियाली नेता सन म्याे‌ङ्ग मुन (जसकाे सन् २०१२ मा निधन भइसकेकाे छ) ले एउटा स‌ंस्था खडा गरे ।

नाम दिए- युनिभर्सल पिस फेडेरेशन ! झट्ट हेर्दा याे कुनै विश्व शान्तिका लागि स्थापित ठुलै स‌ंस्था हाे, लाग्न सक्छ । मानाैँ कि अर्काे राष्ट्रस‌ंघ । हुन पनि यसका शाखा सञ्जाल नपुगेकाे कुनै महाद्वीप र द्वीप बाँकी छैन हाेला । तर भ्रममा नपर्नुहाेस्, याे कुनै अर्काे राष्ट्र संघ हाेइन । शान्ति तथा मेलमिलापका नाममा तीव्र सांस्कृतिक विखण्डीकरण गर्ने एक गैरसरकारी संस्था हाे ।

युनिभर्सल पिस फेडेरेसन (युपीएफ) की अर्की संस्थापक हुन्- डा हाक जा हान मुन । जाे डा‍‌ सन म्याेङ्ग मुनकी पत्नी हुन्, जसले ‘युनिफिकेशन चर्च’काे नेतृत्व गर्दै अाएकी छिन् । उनी यस सम्मेलनकी सबैभन्दा महान् माताकाे रुपमा नेपाल अाएकी छिन् ।

उनै चर्चकी ‘मदर’बाट नेपालका प्रधानमन्त्री केपी अाेली दम्पत्ति र विभिन्न टापु राष्ट्रबाट अाएका सरकार/राष्ट्रप्रमुख लगायत ४ हजार जाेडीहरुले ‘अाशीर्वाद’ थाप्दै छन् । जसमा नेपालका मात्रै १५ सय ‘विशिष्ट’हरुकाे जोडी हुने सम्मेलनकै प्रेस संयाेजकले जानकारी दिएका छन् ।

धार्मिक ‘रीत’ पुर्याएर आशीर्वाद दिनुअघि प्रधानमन्त्री ओलीलाई चर्चकी ती गुरुआमाले ‘नेतृत्व तथा सुशासन पुरस्कार’ प्रदान गर्ने जनाइएकाे छ । अाशीर्वाद ग्रहण गरेपछि उनीहरु सबैलार्इ युपीएफले मुन परिवार अर्थात् अाफ्नै संस्थाका सदस्यका रुपमा मान्यता दिने बताइन्छ । वर्षमा यस्ता अाशीर्वाद दिने सानाठूला सयाैँ कार्यक्रमहरु युपीएफले गर्दै अाएकाे छ ।

संसारमा सबैभन्दा तीव्र रुपले सांस्कृतिक विचलन भाेग्दै इसाइकरण भएकाे राष्ट्रकाे रुपमा दक्षिण काेरियाकाे नाम लिने गरिन्छ । तपार्इ-हाम्रै दैलाेमा इसाइ धर्मकाे व्याख्यान लाउँदै एकाबिहानै तिनै काेरियाली नागरिक सहितका व्यक्ति छ्यापछ्याप्ती अाउने गरेकाे देख्नुभएकै हाेला । यहाँ विराेध धर्मकाे हाेइन, प्रवृत्तिकाे हाे । धर्म प्रचार संविधानले नै गैरकानुनी मानिसकेकाे छ ।

नेपालका पूर्वप्रधानमन्त्रीदेखि अन्य वरिष्ठ नेताहरुसम्मलार्इ युपीएफले निकैपटक काेरिया लगायतका देशमा घुमाएर ‘गुन’ लाइसकेकाे छ । यसकाे जस पूर्वमन्त्री एकनाथ ढकाललार्इ जान्छ । जाे परिवार दल नामक राजनीतिक पार्टी खाेलेर पहिलाे सं‍विधानसभामा समानुपातिकबाट सभासद भएपछि बढी चर्चामा अाउन थालेका हुन् ।

जसले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, डा बाबुराम भट्टरार्इदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेलीसम्मलार्इ प्रभावित पारेर अाफ्नाे ‘स्वार्थ’ पूरा गर्न निरन्तर सफल हुँदै अाएका छन् । पछिल्लाे समय उनी युपीएफकाे नेपाल च्याप्टरका प्रमुख रहिअाएका छन् ।

सरकार निरीह कि अाइएनजिअाे बलिया ?

जब स‌ंविधानसभाकाे मुद्दाले सार्थकता पाउँदै अायाे त्यति नै बेलादेखि विभिन्न एनजिअाे, अाइएनजिअाेका नाममा इसाइ धर्मकाे व्यापार फस्टायाे । मुलुकलार्इ २०६३ काे अन्तरिम स‌ंविधानले नै ‘धर्मनिरपेक्ष’ राज्य घाेषणा गरेकाे थियाे । यसकाे फाइदा इसाइ मिसनरीहरुलार्इ पुगेकाे जानकारहरु बताउँदै अाएका छन् ।

स्वेच्छाले धर्म मान्नु स्वभाविक भए पनि प्रलाेभनमा पारेर धर्मान्तर तथा सांस्कृतिक विचलन ल्याउनु गैरकानुनी कार्य हाे । हेक्का राख्नै पर्ने कुरा- समाज सेवाकाे नाममा छिरेर तिनीहरुले समाजमा सांस्कृतिक विचलन र धर्मान्तरणकाे धन्दा चलाउँदै अाए । यहाँ अालाेचना व्यक्तिकाे पनि हाेइन, एउटा गैरसरकारी संस्थाका लागि राज्य हात धाेएर लागेकाे छ, त्यस प्रवृत्तिकाे हाे ।

कार्यक्रमको एक सय एक सदस्यीय आमन्त्रण समितिका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन् । नेकपाका नेता समेत रहेका नेपाल अाफैँमा विवादास्पद व्यक्ति हुन् । स्वार्थका लागि जे पनि गर्न तम्सिने नेता नेपाल युपीएफ अन्तरगतकै सानाठूला कार्यक्रममा विगतदेखि नै देखिँदै अाएका छन् । सबैभन्दा बढी विदेश गइरहने नेताकाे छवि बनाएका नेपाललार्इ युपीएफले नै कैयाैँपटक काेरिया र अन्य देशकाे भ्रमण मिलाइदिएकाे छ ।

भन्नलार्इ कम्युनिष्ट भनिए पनि वर्तमान सत्ताधारी नेकपाका नेताहरुमा तीव्र विराेधाभासी चरित्र देखिइरहेका छन् । एकातिर हिन्दू धार्मिक मठमन्दिरमा पूजाअाजा र बलि समेत दिन पछि परेका छैनन् भने अर्कातिर धार्मिक उद्देश्यकै लागि अायाेजित यस्ता सम्मेलनका अ‌ंग बनेका छन् ।

जबकि धर्मनिरपेक्ष भनेपछि राज्यकाे कार्यकारी प्रमुखकाे धार्मिक पक्षधरता वा संलग्नता अालाेचनाकाे घेरामा पर्नु स्वाभाविक हाे । विशुद्ध धर्म प्रचारकाे उद्देश्यले अायाेजित सम्मेलनमा सरकार नै सह-अायाेजक हुनु (अालाेचनापछि सपाेर्टर मात्र भनिएकाे छ) सामान्य विषय हाेइन, जहाँ कूटनीतिक दायरा समेत सरकारले उल्लंघन गरेकाे छ ।

याे सम्मेलन सरकार स्वय‌ंले अायाेजना गरेका यसअघिका बिमस्टेक र सार्क शिखर सम्मेलनभन्दा ठूलाे देखिएकाे छ । जहाँ करिब ४५ देशका सरकारी प्रतिनिधि तथा धार्मिक अगुवासहितका व्यक्ति अाएका छन् ।

युपीएफ अाफैमा विवादित संस्था पनि हाे । यति विवादित सम्मेलन अन्त नभर्इ नेपालमै हुनु र यहाँ सरकारले नै ठूलाे महत्व दिएर उल्टै बजेट छुट्याउनु सरकारकाे लाचारीपना हाे या दबाव ? कतै याे सत्तासीन व्यक्तिहरुकाे व्यक्तिगत लाभका उद्देश्यले प्रेरित त छैन ? सर्वत्र अाश‌ंका, चासाे र बहसकाे विषय बनेकाे छ याे ।

सम्मेलनमा हाक जा हानलार्इ ‘जेससकी एक मात्र सच्चा छाेरी’ घाेषणा गर्न लागिएकाे बताइएकाे छ, जुन कार्यक्रम यसअघि फिजीमा पनि गर्न लागिएकाेमा त्यहाँकाे सरकारले अनुमति नदिएपछि नेपालमा टार्गेट बनाएकाे बताइन्छ ।

पूर्वराजदूत मधुरमण आचार्यको भनाइमा विवादित सम्मेलन नेपालमै आयोजना हुनुमा यहाँकाे ‘सजिलोपन’ नै मुख्य कारण हाे किनभने हाम्राे राज्यशक्तिमा भएकाहरूलाई ‘रिझाउन’ धेरै कसरत गर्नुपर्दैन ।

हुन पनि कुनै सानाेतिनाे लाभका अवसरमा समेत बिक्न सक्ने नेताहरूले देश चलाइरहेका छन् । यसकाे उदाहरणका रुपमा यही युपीएफ स‌ंस्थाकाे पहलमा विभिन्न नेताहरु बेलाबेला कोरियालगायत विदेश भ्रमणमा गइरहनुलार्इ लिन सकिन्छ ।

बिम्स्टेक र सार्क शिखर सम्मेलनपश्चात ४ दिनसम्म सडक यात्रुलार्इ सास्ती हुनेगरी सवारी अावागमनमा जाेर-विजाेर प्रणाली लागू गरेकाे याे पहिलाे अनाैठाे घटना हाे, जसमा अाम सर्वसाधारण नै जानकार छैनन् कि कुन विशिष्ठ महत्वकाे सम्मेलन नेपालमा भइरहेकाे छ ? विशिष्ट पाहुनाका लागि भनेर बेलाबेला हवार्इ अावागमन समेत प्रभावित भइरहेकाे छ ।

जानकाहरुले भने सरकारकाे याे लाचारीपनाकाे चर्काे विराेध र अालाेचना गरिरहेका छन् । सामाजिक सञ्जालभरि याे सम्मेलनकाे उपादेयता खाेज्दै सरकार, त्यसमा संलग्न नेताहरु र स्वय‌ं अायाेजक संस्थाकै समेत तीव्र अालाेचना गरिरहेका छन् ।

सम्मेलनकै लागि ३१ कराेड बजेट नेपाल सरकारसँग माग भएकाे कुरा बाहिर अाएकाे छ जसमध्ये २ कराेड विनियाेजन नै भइसकेकाे बताइन्छ । यद्यपि सम्मेलनमा २० कराेड खर्च हुने र साे सबै खर्च युपीएफकाे अमेरिकास्थित सचिवालयले बेहाेर्ने त्यसका नेपाल प्रमुख एकनाथले बताएका छन् ।

चाैतर्फी विराेध र अालाेचना भएपछि सरकारले ४ दिनका लागि तय गरेकाे सवारी अावागमनमा लगाइएकाे जाेर-बिजाेर प्रणाली भने अाजै साढे ११ बजेबाट हटाउने निर्णय गरेकाे छ । नागरिककाे भावना ढिलै भए पनि सरकारले बुझेछ ।

काे हुन् मुन दम्पत्ति, के हाे युपीएफ ?

अाफूलार्इ क्राइस्टपछिका परमेश्वरका अवतारकाे रुपमा दाबी गर्दै अाएका डा सन म्याेङ्ग मुन र उनकी पत्नी डा हाक जा हान मुन काेरियन नागरिक हुन् । जिसस क्राइष्टले पूरा गर्न नसकेको दायित्व पूरा गर्नकै लागि अाफूलार्इ पृथ्वीमा खटाएकाे दाबी उनीहरुले गर्छन् ।

युपीएफका भक्तहरुले डा मुनलार्इ ‘फादर मुन’ भन्छन् भने युनिफिकेशन चर्चकी प्रमुख हाक जा हानलार्इ ‘सबैकी अामा’ वा ‘जिसस (गड) की एक मात्र जीवित सच्चा छाेरी’ जस्ता विशेषण भिराइदिएका छन् ।

मुनले आफूलाई ‘मसिहा’ घोषणा गर्दै सन् २००५ मा युपीएफकाे स्थापना गरेका थिए । सन् २०१२ मा मुनको निधनपछि उनकी पत्नी हानले यूपीएफको नेतृत्व गर्दै अाएकी छिन् । उनी साे संस्थाकी ‘धर्मगुरु’ हुन्, जसले आफूलाई ईश्वरकै अवतारका रुपमा दाबी गर्दै अाएकी छन् ।

४० वर्षका मुनले सन् १९६३ मा अाफूभन्दा २३ वर्ष कान्छी हानसँग विवाह गरेका थिए । यी दम्पती र उनका एजेन्टहरुले सामूहिक रूपमा विश्वभरका दम्पतीहरूलाई वैवाहिक प्रतिबद्धताका नाममा अाफ्नाे धार्मिक रीति र मन्त्रअनुसार ‘आशीर्वाद’ दिँदै आएकाे पाइन्छ ।

साथै चिट्ठा प्रणालीद्वारा केटा र केटीबीच सामूहिक विवाह समेत गराउँदै अाएकाे पाइन्छ, जसलार्इ उनीहरु ‘परमेश्वरले जुराइदिएकाे जाेडी’का रुपमा अर्थ्याउँछन् ।

नेपालमा पनि युनिभर्सल पिस फेडेरेसन-नेपाल तथा विश्व परिवार महासंघ-नेपाल क्रियाशील रही जिल्लाजिल्लामा गतिविधि गर्दै अाएकाे छ । यस प्रकारका कार्यक्रम नेपालका स्थानीय तहहरुसम्मै विस्तार गरेर वर्षैपिच्छे अायाेजना हुने गरेका छन् । ‘पवित्र’ जल छर्केर आशीर्वाद लिएपछि दम्पतीबीचकाे सम्बन्ध अटुट बन्ने र सबै ‘पाप’बाट मुक्त भइने विश्वास दिलाउने गरिएकाे छ ।

यसरी अाशीर्वाद लिएर पापमुक्त भएका जोडीबाट जन्मिने सन्तान पृथ्वीमा ‘शान्तिदूत’ हुने अास्वासन दिइन्छ । बेलाबेला भइरहने यस्ता कार्यक्रमैपिच्छे समाजका केही युवा र पेशाकर्मीलार्इ समेत बाेलाएर ‘शान्तिदूत’काे सम्मान र प्रमाण दिने र पछि देश-विदेशका सम्मेलनहरुमा लैजाने गरिन्छ । जसबाट यस संस्थाकाे सञ्जाल व्यापक रुपमा नजानिँदाे ढंगले फैलँदै र बलियाे हुँदै गएकाे देखिन्छ ।

यूपीएफ नेपालका संस्थापक अध्यक्ष काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा हुन् । उनले सन् २००५ देखि २०१३ सम्म संस्थालाई नेतृत्व गरे । त्यसपछि स‌ंस्थाकाे नेतृत्व गर्दै अाएका छन् एकनाथ ढकालले ।

ढकालले दुवैपटकका संविधान सभा निर्वाचनमा सहभागी हुँदै दुर्इपटक समानुपातिक काेटाबाट सभासद् बन्न पुगे । उनी दुवैपटक मन्त्रीसमेत भएका छन् । ढकालले पछिल्लाे संघीय निर्वाचनमा तत्कालीन एमाले-माअाेवादी गठबन्धनका लागि भाेट मागेर ‘गुन’ लगाएका थिए । प्रत्यक्षबाट अाफूले जित्न नसके पनि समानुपातिकबाट सा‌ंसद बन्ने उनकाे धाेकाे थियाे, तर गठबन्धनले उनलार्इ भाग दिन सकेन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्