नेपालमा कोरोनाको शंकामा ५ जना अस्पताल भर्ना
काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको अधिकारीहरूले बताएका छन् ।
चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताएका छन् ।
उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा. पाण्डेले बीबीसी न्यूज नेपालीलाई बताएको बीबीसीले उल्लेख गरेको छ । सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागिएको जनाएको छ ।
नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन । अहिलेसम्म टेकुमा रहेको सरुवा रोग अस्पतालमा मात्रै कोभिड–१९ भएको परीक्षण गर्ने प्रयोगशाला छ ।
केन्द्रका निर्देशक डा. पाण्डे भन्छन–‘चीन र कोरियाबाट आएका व्यक्तिहरूमा केही लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको हो । उहाँहरू विमानस्थलबाट सोझै आउनुभए जस्तो मलाई लागेन । एक जना आज (सोमवार) आउनुभएको छ र हाम्रा चिकित्सकहरूले उहाँको जाँच गरिरहनुभएको छ । दुई जना अलि अस्ति र दुई जना हिजो अस्पतालमा भर्ना हुनुभएको हो ।’
कोरोनाभाइरसको सङ्क्रमण भएको देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएकाले भर्ना भएका व्यक्तिहरूलाई शङ्कास्पद बिरामी मानी निगरानीमा राखिएको उनले बताए ।
जनस्वास्थ्यविज्ञहरूले कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि समाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन् । त्यसबाट सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासलाई बल पुग्ने उनीहरूको भनाइ छ ।
यसैबीच चीनबाट फर्किएपछि दुई हप्ताभन्दा बढी समय खरिपाटीमा क्वारन्टाइनमा राखिएका १७५ नेपालीहरूको र्यालका नमुना परीक्षणको निर्णय सोमवार आउने अधिकारीहरूले बताएका छन् ।
डा. पाण्डेले साँझसम्म सबै रिपोर्ट आइसक्ने र त्यसपछि सङ्क्रमित नभएको पुष्टि भए सबैलाई घर पठाइने बताए । उनले औपचारिक निर्णयका लागि प्रयोगशालाको रिपोर्ट कुरिरहेको भए पनि अहिलेसम्म क्वारन्टीनमा राखिएका १७५ जनामा कोरोनाभाइरसको कुनै लक्षण देखा नपरेको बताए । नेपालमा अहिलेसम्म झन्डै २५० शङ्कास्पद व्यक्तिको परीक्षण गरिएको छ ।
शनिवार कोरोनाभाइरसको प्रकोपसँग जुध्न उच्चस्तरमा तयारी अघि बढाउन नेपाल सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । त्यसलगत्तै सरकारले त्रिभुवन विमानस्थल र चीन अनि भारततर्फका नाकाहरूमा निगरानी बढाउने निर्णय गरेको छ ।
आइतवारदेखि ’थर्मल गन’ नामक उपकरण प्रयोग गरेर सबै यात्रुको शरीरको तापक्रम जाँच्न थालिएको तथा उनीहरूको शरीरमा लिक्विड स्यानिटाइजर एजेन्ट स्प्रे गर्ने व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल भन्छन–‘विगतमा हामीले निश्चित वायुसेवाबाट आएका यात्रुहरूको मात्रै निगरानी गरिरहेका थियौँ । तर अब जुनसुकै वायुसेवाबाट आएका यात्रुहरूको पनि निगरानी बढाएका छौँ। थर्मल स्क्यानर बाहेक नन(टच थर्मो्मिटरबाट पनि हाम्रा स्वास्थ्यकर्मीले निगरानी गर्नुभएको छ ।’
भारतसँग जोडिएका नाकाबाट हुने पर्यटकसहितको आगमनमा निगरानी बढाउन प्रदेशस्तरीय संयन्त्रहरूलाई अभिमुखीकरण गर्ने जिम्मेवारीसहित सातवटै प्रदेशमा स्वास्थ्य सेवा विभागले टोली पठाएको छ ।
सचिव बरालले शुक्रवारबाटै ती टोलीहरू प्रदेशमा खटिएको र उनीहरूले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा भएका स्वास्थ्य जनशक्तिहरू परिचालित गर्ने जानकारी दिए ।
कोरोनाभाइरसले फोक्सोमा सङ्क्रमण गर्ने चिकित्सकहरू बताउँछन् । खासगरी नेपाली कामदारहरू काम गर्ने दक्षिण कोरिया र खाडी मुलुकहरूमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि पछिल्लो अवस्थालाई सावधानीपूर्वक नियालिरहेको बरालले बताए ।
कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित चीन र काठमाण्डूबीच हुने उडानहरू ठूलो सङ्ख्यामा घटिसकेको अधिकारीहरू बताउँछन् । सरकारले विदेशमा भइरहेका नेपाल भ्रमण वर्ष २०२० का प्रचारात्मक कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ भने देशभित्र भिडभाड हुन सक्ने र त्यसबाट सङ्क्रमण फैलिने जोखिम रहने खालका सार्वजनिक समारोह आयोजना नगर्न आह्वान गर्ने उपायबारे छलफल अघि बढाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि थप सतर्कता अपनाउन सरकारले ध्यान दिने बताउँछन् । उनले भने, ‘४८ दिनअघि एक जनामा सङ्क्रमण देखियो तर अहिलेसम्म अन्य सङ्क्रमण देखिएको छैन। यसलाई हामीले भाग्य नै मान्नुपर्छ । यो राम्रो कुरा हो र यसलाई कायम राख्न सकियो भने ठूलो उपलब्धि मान्नुपर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्