सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ नक्सामा अब नेपालको क्षत्रेफल कति ?

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसारको नक्सा सार्वजनिक गरेकी हुन् ।

२०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकी दुई सय वर्ष भन्दा पुरानो सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सबै भूभाग नेपालको हो ।

विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाबी, कुटीलगायतका क्षेत्र समेटेर लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी हुने गरी नक्सा जारी गरिएको मन्त्री अर्यालले जानकारी दिइन् ।

हामीले पढ्दै आएको क्षेत्रफल हो, एक लाख ४७ हजार १८१ वर्ग किलोमिटर । नयाँ नक्सा सार्वजनिक भएसँगै नेपालको वास्तविक क्षेत्रफल कति होला ? नेपालको नक्सा मापन गरेका नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद ओली नाप, जाँच नगरी अहिले भन्नु हतार हुने बताउँछन् । यद्यपि केही सय वर्ग किलोमिटर क्षेत्रफल जोडिने उनले जानकारी दिए ।

Map of Nepal

सीमा विवाद सम्बन्धमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा गठित समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा मात्रै ३९५ वगकिलोमिटर भूभाग अतिक्रमणमा परेको निश्कर्ष निकालेको छ ।

अतिक्रमितमध्ये ६० वगकिलोमिटर भूभाग नेपालको यसअघिको नक्सामै समेटिएको थियो । नेपालको पुरानो नक्सामा भएको कालापानी, लिपुलेक लगायतका क्षेत्र उसले अतिक्रमण गरेको थियो । पुरानो नक्सा अनुसार पनि कैलाश–मानसरोवर जाने सडकको १९ किलोमिटर नेपालमै पर्छ ।

उपाध्याय समितिको प्रतिवेदनलाई आधार मानेर हेर्दा बुधबार सार्वजनिक राजनीतिक नक्सामा करिब ३३५ वर्ग्किलोमिटर भूभाग समेटिएको देखिन्छ । त्यसैको आधारमा कतिपयले एक लाख ४७ हजार ५१६ वर्ग्किलोमिटर क्षेत्रफल हुने अनुमान गरेका छन् । पूर्व महानिर्देशक ओली त्यसरी अनुमान गर्नु सही नहुने बताउँछन् ।

२४ पटक नाप्दा १,४७,१८१ वगकिलोमिटर क्षेत्रफल
नेपालको वर्तमान क्षेत्रफल पनि २०३२ सालमै निर्धारण भएको हो । त्यसअघि ५६ हजार वर्ग माइल भनिथ्यो । नेपालको नक्सा तयार गर्ने बेलामा क्षेत्रफल मापन भएको ओलीले जानकारी दिए । अहिले जस्तो डिजिटल प्रविधि नभएकाले मेकानिकल र ग्रीड प्रणालीबाट क्षेत्रफल मापन गरिएको पूर्व महानिर्देशक ओली बताउँछन् ।

‘हामीले त्यतिबेला मेकानिकल र ग्रीड प्रणालीबाट मापन गरेर त्यसको मध्यम ( बचष्तजmभतष्अ mभबल) निकाल्यौं’ ओली भन्छन्, ‘२४ पटक नापेर एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर तय भएको हो ।’

२०३२ सालअघिसम्म नेपाल भन्दा बंगलादेश ठूलो भनिदै आएको स्मरण गर्दै ओली भन्छन्, ‘वर्गकिलोमिटरमा क्षेत्रफल आएपछि भने बंगलादेश भन्दा नेपाल ठूलो भयो ।’

आधिकारिक क्षेत्रफल छिट्टै सार्बजनिक
नवलपरासीको सुस्तालगायतका क्षेत्रमा पनि भारतले अतिक्रमण गरेको नेपाल पक्षको भनाइ छ । तर ती क्षेत्रहरूमा भने नेपालको नक्सा भित्रकै भूभाग अतिक्रमणमा परेको सीमाविदहरु बताउँछन् ।

नेपालको नयाँ नक्सा सार्वजनिक गरे लगत्तै सरकारले नेपालको कुल क्षेत्रफल निकाल्ने तयारी गरेको छ । कुल क्षेत्रफलको विषयमा काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका क्षेत्रफल आधिकारिक होइनन्’ प्रवक्ता जोशीले भने, ‘नयाँ नक्सा अनुसार आधिकारिक क्षेत्रफल छिट्टै सार्वजनिक गर्छौ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्