सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बैशाखमा मेलम्चीको पानीले बगाउने भयो काठमाण्डौ

समाचारको शिर्षक सुन्दै पाठकलाई हाँसो उठ्यो होला । धारामा पहेँलो पानी आउँदा पनि अमृतै आएझैँ मान्नुपर्ने काठमाण्डौमा बैशाखमा मेलम्चीले काठमाण्डौ बगाउने भयो भन्दा जो कसैलाई पत्यार नलाग्नु स्वभाविक नै हो ।

मेलम्ची खानेपानी परियोजनाले भनेको कुरालाई आधार मान्ने हो र यही गतिमा मेलम्ची परियोजनाको काम हुने हो भने सम्भवत; बैशाखमा मेलम्चीको पानी काठमाण्डौ आइपुग्नेछ । काकाकुल काठमाण्डौमा जतिबेला धारा खोले पनि पानी बग्नेछ ।

सुख्खा धारामा पानी त आउनेछ तर काठमाण्डौमा मेलम्चीको आगमनसँगै ढलको समस्या थपिने देखिएको छ । अहिले पानीको अभाब हुँदा त काठमाण्डौका ठाउँठाउँमा ढलको समस्या छ भने आफै बिचार गरौँ, मेलम्ची काठमाण्डौ भित्रिँदा ढलको अबस्था के होला ?

अहिलकै अवस्थामा मेलम्ची काठमाण्डौ भित्रियो भने काठमाडौंका सडक र गहिरा क्षेत्र बर्षामा जस्तै ‘ढलमग्न’ हुनेछन् । नेपालको प्रसिद्ध अनलाईन पत्रिका अनलाईनखबर डट कमले विज्ञहरुको भनाईलाई आधार मान्दै लेखेको छ–‘मेलम्चीका कारण काठमाण्डौमा ‘ढल निकास’ समस्या जटिल बन्नेछ ।’

हाल काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडमार्फत दैनिक १० देखि १५ करोड लिटर आपुर्ति भईरहेकोमा मेलम्चीबाट एकैपटक १७ करोड लिटर पानी उपत्यका भित्रिनेछ ।

काठमाण्डौमा भित्रिएको पानीमध्ये ८५ देखि ९० प्रतिशत पानी प्रयोग गरेपछी सिधै ढलमा जानेछ । पानी र लेदो गरेर ढलमा २९ करोड लिटर पानी बग्नेछ, जुन अहिले काठमाण्डौमा भएका ढलले थेग्न सक्ने छैनन ।

ढलमा ठोस पदार्थसहितको पानी आउने छ र, त्यसको चाप ह्युमपाइपमा पर्छ । चापले बिछ्याइएका ढलका पाइप जोडिएको ठाउँमा फुट्ने र पाईप छुट्ने समस्या देखिने छ । किनभने उपत्यकाका पुराना ढल अँझै विस्थापित गरिएको छैन ।

ठमेल, असन, इन्द्रचोक, वसन्तपुर, पाटनलगायतका क्षेत्रमा अँझै पनि राणाकालीन ढल प्रणाली छन् । जुन ढल पटक–पटक जाम भएर सर्बसाधारणलाई सास्ती बेहोर्दै आउनुपरेको छ । काठमाडौंमा सेफ्टी ट्यांकी बिना बनाईएका घरका शौचालयको फोहोर पनि सीधै ढलमा मिसिन्छ ।

अहिले नै उपत्यकाका बिभिन्न ठाउँका सडकमा ढल फुटेर हिँडिनसक्नु छैन । रत्नपार्क र जमल क्षेत्र सुख्खायाममै ‘ढलमग्न’ छन् । खुलामञ्च र दरबार हाइस्कुल अगाडिको क्षेत्रमा ढल सडकमा बाहिरिँदा पनि सरोकारवाला निकायको आँखा पुगेको छैन । हिउँदमै यो हालत छ, वर्षामा त काठमाडौंको अवस्था के होला ?

सरकारी अध्ययनअनुसार राजधानीका मुख्य २२ स्थानमा ढल र पानीको पाइप फुटेर सडक अस्तव्यस्त रहन्छ । प्रधानमन्त्री कार्यालयका अनुसार सुन्धारादेखि भोटाहिटी, जमल, नारायणगोपाल चोक, चाबहिलदेखि गोपीकृष्णचोक, तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतीघरमा ढल सडकमा आइपुग्ने समस्या व्यापक छ ।

यस्तै, नक्सालदेखि भगवतीबहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा पनि ढल तथा पानी चुहिने समस्या छ । पुतलीसडकदेखि कृष्ण पाउरोटी, कमलादीदेखि त्रिचन्द्र क्याम्पस, रातोपुल, गौशाला र हात्तीसारको जय नेपाल हल नजिक पनि ढल लिकेजको समस्या धेरै देखिने गरेको सडक विभाग बताउँछ ।

फुटेका ढल मर्मतको जिम्मा केयूकेएल र ढल निकास विभागको हो । काठमाडौं महानगरपालिकाले पनि यसमा काम गर्न सक्छ । तर, खानेपानीकै बिलमा ढल व्यवस्थापनको रकम जोडिने भएकाले आफूहरुले उक्त प्रणालीमा काम गर्न नसकेको महानगरपालिकाले बताएको छ ।

मेलम्ची आएपछि काठमाडौंका होचा स्थानहरुमा ढलको समस्या विकराल बन्नेछ । पानी सुस्तरी बग्ने क्षेत्रमा ढल फुटेर डुबानकै समस्या पनि निम्तिन सक्ने विज्ञहरु बताउँछन् । त्यसबेला काठमाडौंमा खोला, नदी र खोल्सामा पनि पानीको सतह बढ्नेछ । सोही कारण होचा बस्तीमा छिट्टै पानी पस्ने र डुबानको जोखिम हुनेछ ।

अहिले नै ढलको पाइपका जोर्नीहरु फुटेर ढल चुहिने समस्या छ । अब पूराना र साना पाइप हटाएर अनिवार्य आधुनिक प्रविधिका ठूला पाइप जडान गर्नुपर्छ । काठमाडौंमा सडकसहितका ठूला पूर्वाधार निर्माणको गति तीव्र छ । त्यसमाथि अधिकांश स्थानमा नाला खुला छाडिएको छ । वर्षामा निर्माणजन्य फोहोर गिटी, बालुवा र ढुंगा पनि ढलमै बग्ने अवस्था छ ।

प्लास्टिकजन्य ठोस फोहोर पनि ढलमै आउने अवस्था छ । नकुहिने र ठोस फोहोर पनि ढलमै बगाउने काठमाडौंका बासिन्दाको बानी आगामी दिनमा चुनौती बन्ने सम्भावना छ ।

अहिले महिनौं ढल जाम भए पनि सडकमा फोहोर र दुर्गन्ध हुनेबाहेक नागरिकलाई खासै फरक पर्दैन । तर, मेलम्ची आएपछि पानीको बहाव ठूलो मात्रामा हुँदा कतै ढल रोकिनासाथ धेरै स्थानमा त्यसको प्रभाव तत्काल देखिनेछ ।

काठमाडौंका ढलमा दुई मिटरसम्म गोलाइका ठूला पाइप जडान गरिएको छ । ती पाइपले प्रतिमिनेट एकदेखि डेढ करोड लिटर पानी मात्र थेग्न सक्छन् । मेलम्चीका कारण अहिलेभन्दा पाँच गुणा चाप थपिनेछ ।

अधिकारसम्पन्न एकीकृत वागमती सभ्यता विकास समितिमार्फत् नदी र खोलाका करिडोरहरुमा ढल निकासका लागि ह्युमपाइप बिछ्याउने काम भइरहेको छ । तर, कामको गति निकै सुस्त छ ।

सन् २०२० सम्ममा सबै करिडोरमा पाइप बिछ्याएर ढललाई प्रशोधन गर्दै खोला र नदीमा मिसाउने योजना छ । तर, त्यो लक्ष्य भेट्न मुस्किल पर्ने समितिकै अधिकारीहरु बताउँछन् ।

मेलम्चीको पानी ढिलोमा आगामी दशैंसम्म आइसक्ने भएकाले अर्काे तीनदेखि पाँच वर्षको अवधि ढल व्यवस्थापनका हिसाबले चुनौतीपूर्ण हुने देखिएको छ । त्यसपछि पनि मुख्य शहरी क्षेत्रको ढलको समस्या वर्षौंसम्म कायम रहन सक्ने देखिएको छ ।

मेलम्चीमै यांग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी मिसाएर काठमाडौं ल्याउने योजना छ । ढल व्यवस्थापनमा भइरहेको बेवास्ता निकट भविष्यमै शहरको ठूलो समस्या बन्ने कुरामा भने कुनै शंका छैन ।

मेलम्चीको पानी घर–घरमा पुर्याउन निर्माण गरिएको पाइप ढलभन्दा मुनि बिछ्याइएको छ । कतिपय ठाउँमा ढलको पाइप नै निकालिएको छ । जसका कारण ढल फुट्दा त्यहाँबाट बाहिरिने फोहोर सीधै पिउने पानीमा मिसिने समस्या आउनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्