दोक्लामबाट भारतीय सेना फिर्ता, चिनियाँ सेना गस्तिमा
चीन–भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले बताएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन,’ विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’
दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुत रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’
आफ्ना सेना फिर्ता गर्ने कारवाही सुरु भइसकेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले पनि भारतीय सेना पछाडि हटेको पुष्टी गरेकी छन् । दैनिक प्रेस ब्रिफिङका क्रममा सोमबार हुआले आफ्ना सेना सीमाको नियमित गस्तिमा रहिरहने बताइन् ।
चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा गत १ जुनमा चिनियाँ पक्षले भारतलाई सडक स्तरोन्नती सुरु गर्न लागेको जानकारी दिएको थियो । १६ जुनमा सडक स्तरोन्नती सुरु भयो र त्यसको १८ जुनमा भारतीय सेना त्यस क्षेत्रमा प्रवेश गर्यो । २९ जुलाईमा भुटानले आफ्नो भूमिमा चीनले सडक निर्माण थालेकामा औपचारिक रूपमा आपत्ति जनायो ।
सोही विन्दुबाट सुरु भएको हो, त्रिपक्षीय विवाद पनि । द्विपक्षीय संवादबाट समस्याको समाधान गर्ने भारतीय प्रस्ताव चीनले आफ्नो भुमिबाट सेना फिर्ता नगरेसम्म स्वीकार्न नसकिने बताउँदै आएको थियो ।
गत १६ अगस्टमा भएको नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले दोक्लाम मुद्दामा चीनको अडान पूर्ण स्पष्ट र मजबुत रहेको बताएकी थिइन् । भारतीय पक्षले आफ्ना सेना र हतियार तत्काल हटाउनु पर्ने अडान दोहोर्याएकी थिइन् ।
१८ अगस्टको नियमित ब्रिफिङमा हुआले भारतले अवैध रुपमा चीनको सीमामा सैनिक भित्र्याएको अडान दोहोर्याएकी थिइन् । र, तत्काल भारतीय सेना फिर्ता हुनुपर्ने बताएकी थिइन् ।
विवाद चर्किँदै जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साता चीनको सियामिनमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिने र नलिनेबारे अन्योल छाएको थियो । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिलाई आधार मान्ने हो भने सोही सम्मेलनमा भाग लिन चीन जाने मोदीको मार्ग सहज भएको अनुमान गर्न सकिन्छ ।
उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीबीच ‘साइडलाइन’ वार्ता हुने सम्भावना बढेको विश्लेषकहरुको भनाइ छ ।
उक्त सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुँदैछन् । भारत–चीन विवाद अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको रुसले बताएँदै आएको छ । भारतीय सेना फिर्ता नभएसम्म कुनै पनि किसिमका मध्यस्थता स्वीकार्य नहुने चीनको भनाइ रहिआएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्