सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संघिय स्वायत्तताले स्पेन बिभाजनको संघारमा

पछिल्लो ४० वर्षदेखि स्पेन एउटा ठूलो संकटसँग जुधिरहेको छ । यो युरोपियन युनियनका लागि पनि ठूलो चुनौती बनिरहेको छ । वर्षौँदेखि जारी कटूताका बीच स्वतन्त्रता समर्थकले क्याटेलोनियालाई स्वतन्त्र मुलुक घोषणा गरे ।

यसको प्रतिक्रिया स्वरुप स्पेनले यस स्वायत्त इलाकामा सिधा शासन लागू गरिदियो । यसबाट के सवाल उठ्न थालेको छ भने के यो मुद्धा सुल्झिएको हो ? या झनै बढेको हो ? क्याटलानहरु वर्षौंदेखि स्वायत्तताको सीमालाई लिएर असन्तुष्ट छन् ।

क्याटेलोनियालाई स्पेनको संविधानले एक स्वायत्त इलाकाको रुपमा परिभाषित गरेको छ । यद्यपि क्याटलान संसदबाट स्वतन्त्रताको घोषणा भए लगत्तै स्पेनले स्वायत्तता नै खारेज गरिदिएको छ ।

२७ अक्टोबर साँझ स्थानीय संसदले आधिकारिक रुपमा स्पेनबाट अलग हुँदै स्वतन्त्र मुलुकको घोषणा गरिदियो । क्याटलान संसदको बहुमतले यो निर्णय गरेको थियो ।

क्याटलान संसदले स्पेनबाट बैधानिक अधिकार फिर्ता लिने पक्षमा मतदान गरेको थियो । यसैको माध्यमबाट क्याटेलोनियालाई एक संवैधानिक राज्यबाट स्वतन्त्र गणतन्त्र मुलुक बनाउने घोषणा भयो । यसको मतलव यो हो कि क्याटेलोनिया अब स्पेनिस संविधान मान्ने छैन ।

क्याटेलोनियामा यस्ता संसद पनि छन, जो स्वतन्त्रताको विपक्षमा छन् । तर, उनीहरुको संख्या निक्कै थोरै छ । यस अघि क्याटेलोनियामा अक्टोवर १ मा स्पेनबाट स्वतन्त्रताका लागि जनमत संग्रहको आयोजना भएको थियो । यस जनमत संग्रहलाई स्पेनले नियन्त्रित गर्ने प्रयास गरेको थियो ।

जनमत संग्रहका आयोजकको दाबी अनुसार ४३ प्रतिशत मत खसेको थियो र त्यसमध्ये ९० प्रतिशतले स्वतन्त्रताका पक्षमा मतदान गरेका थिए । स्पेनले स्वतन्त्रताको घोषणाको प्रतिक्रियास्वरुप आपतकालीन शक्तिको घोषणा गर्यो । यस शक्तिको उल्लेख स्पेनिस संविधानको अनुच्छेद नम्बर १५५ मा छ ।

यसैको माध्यमबाट केन्द्रीय सरकारले क्याटेलोनियाको स्थानीय राष्ट्रपति कार्लोस पुजिमेन्ट र उनको पूरै मन्त्रिपरिषद बर्खास्त गरिदियो । यसको साथै स्थानीय संसद पनि भंग गरियो ।

स्पेनका प्रधानमन्त्री मारियानो रखोईले आफ्नो विश्वासपात्र उपप्रधानमन्त्री सोराया सायललाई क्याटेलोनियाको जिम्मेवारी दिएका छन् । साथै स्पेनले क्याटेलोनियामा २१ डिसेम्बरमा निर्वाचन गर्ने घोषणा समेत गरेको छ । क्याटेलोनियामा १७ हजार प्रहरी छन् ।

यो पुलिस बलको कमाण्ड स्पेनिस गृह मन्त्रालयसँग छ । पुजिमेन्टले भनेका छन् कि उनी र उनका साथीहरु लोकतान्त्रिक तरिकाबाट स्पेनको प्रत्यक्ष शासनको बिरोध गर्नेछन् । तर, त्यो भन्दा ठूलो समस्या के हो भने पुलिस फोर्सका निलम्बित अधिकारीलाई निवास खाली गर्ने आदेश आयो भने उनीहरु के गर्लान् ?

स्वतन्त्रताका समर्थकहरुले क्याटेलोनियालाई स्वतन्त्र मुलुक बनाउने फैसलाको पक्षमा ब्यापक प्रदर्शन गर्न अपील गरेका छन् । यसको मतलव यो हो कि केन्द्रीय प्रतिक्रियाको बिरोधमा स्वतन्त्रतावादी समूहले हड्ताल, बहिस्कार र र्याली आयोजना गर्नेछ । मुख्य स्वतन्त्रतावादी समूह ग्रासरुट ग्रुप र क्याटलान नेशनल एसेम्ब्लीले रखोई प्रशासनलाई विदेशी सरकार भनिरहेका छन् ।

क्याटलान सरकारका लागि काम गर्ने २७ हजार कर्मचारीलाई यो अपील गरिएको छ कि उनीहरु स्पेनिस सरकारको आदेश पालना नगरुन र शान्तिपूर्ण प्रतिरोधमा साथ दिउन् ।

स्पेनिस सरकारले बिद्रोहीहरुमाथि मुद्धा दायर गर्न सक्छ । जुन अपराधका लागि आरोपको तयारी गरिएको छ, त्यसमा ३० वर्षसम्म काराबासको सजाय हुन सक्छ । स्पेनिस सरकारको निशानामा जो–जो छन, उनीमध्ये कार्लोस पुजिमोन्ट सबैभन्दा अगाडि छन् ।

यद्यपि अदालतले फैसला गर्नुपर्छ कि उनीहरु ती आरोप स्वीकार गर्नेछन् कि छैनन् । क्याटेलोनियालाई गणतन्त्र बनाउने घोषणा गोप्य मतदानबाट भएको थियो । यसको मतलव के हो भने ती सांसदहरुलाई मुद्धा लगाउने काम त्यति सजिलो छैन ।

के क्याटलोनिया स्पेनको नियन्त्रणमै रहला त ?

यो अहिले नै भन्न सकिन्न कि कति छिटो र कति प्रभावकारी रुपमा स्पेनले क्याटेलोनियामाथि नियन्त्रण हाँसिल गर्न सक्छ । समाचारहरुमा जनाइएअनुसार सुरक्षा फोर्सलाई निश्पक्ष रहन आदेश दिइएको छ ।

उनीहरुलाई स्पेनबाट अर्को आदेश नहुन्जेलका लागि जुनसुकै कारबाहीका लागि पर्खन भनिएको छ । डिसेम्बरमा चुनाव नहुन्जेल स्पेन क्याटेलोनियामाथि थप सतर्क हुनेछ ।

स्पेनको मनमा क्याटेलोनियालाई लिएर कुनै चिन्ता छैन । तर, मामला निक्कै जटिल छ । पुलिस कुनै पनि ठूलो कदम उठाउन सतर्क हुनेछ । एक अक्टोबरको जनमत संग्रहका क्रममा भएको पुलिस दमनको ब्यापक बिरोध भएको थियो ।

स्वतन्त्र गणतन्त्रको घोषणा र स्वायत्तता अन्त्य गर्ने निर्णयपछि स्पेनिस सरकार र क्याटेलोनिया दुई ध्रुवमा छन् । स्पेनले क्याटलान राष्ट्रवादीलाई अधिक स्वायत्तता दिन मञ्जुर हुनसक्छ । यसमा संवैधानिक संशोधन २००६ समावेश छ, जसले क्याटेलोनियाको अवस्था थप मजवुद बनाउनेछ ।

क्याटेलोनिया स्पेनको सबैधन्दा सम्पन्न इलाका हो । क्याटेलोनियाको यस गतिरोधका कारण थुप्रै कम्पनीले आफ्नो बैधानिक मुख्यालय यहाँबाट हटाउने फैसला गरेका छन् ।

क्याटलोनियाको जनमत संग्रहपछि संसारभरका मुलुकबाट अलग मुलुकको पक्षमा आवाज आएको थियो । क्याटेलोनियाले स्थानीय संसदबाट स्वतन्त्र मुलुकको घोषणा भएपछि स्पेनले गरेको कारबाही रोक्न युरोपियन युनियन समक्ष हस्तक्षेपको अपील गरेको थियो । तर, युरोपियन युनियन र अमेरिका सम्मले प्रष्ट पारेको छ कि यो स्पेनको आन्तरिक मामला हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्