सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेशमा मुख्यमन्त्रिको चर्चा, पोखरेल र शाही पक्का

मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार देशका ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ । प्रदेश नम्बर दुई बाहेक सबैमा एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ बहुमत पाएका छन् । समानुपातिकको मत जोड्दा उनीहरूको मत झनै बढ्ने छ ।

बहुमत ल्याएपछि ६ प्रदेशमा वाम गठबन्धनले मुख्यमन्त्री पनि दुई पार्टीबीच बाँड्ने भएको छ । चुनावअघि ६० र ४० प्रतिशत सिट बाँडफाँट गरेका एमाले र माओवादीले मुख्यमन्त्री पनि त्यही आधारमा बाँड्ने लगभग निश्चित छ ।

एमाले स्थायी समितिका एक सदस्यले ४ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीका मुख्यमन्त्री बनाउने सम्भावना रहेको बताएका छन । उनका अनुसार प्रदेश नम्बर १, ३, ४, ५ मा एमालेका अनि ६ र ७ मा माओवादी मुख्यमन्त्री हुने सम्भावना बलियो छ ।

प्रदेश नम्बरको १ को मुख्यमन्त्रीमा एमालेका दुई जना दाबेदार छन । चुनावअघि नै मुख्यमन्त्रीको दाबीसहित मन्त्री भइसकेका एमालेका दुई नेता शेरधन राई र भीम आचार्य प्रदेश सभामा चुनाव लड्न गएका थिए ।

उनीहरू दुवैले चुनाव जितेका छन् । राईले भोजपुरबाट चुनाव जितेका छन् भने आचार्यले सुनसरीबाट । मुख्यमन्त्री बन्ने सम्भावना भने आचार्यभन्दा राईको बढी भएको एमाले नेताहरू बताउँछन् । त्यसका दुई कारण छन् ।

पार्टीभित्र राई अध्यक्ष केपी ओली खेमाका हुन् भने आचार्य झलनाथ खनाल नजिक हुन् । पार्टी अध्यक्षसँग मात्र होइन गृहजिल्ला एउटै भएकाले राईको निकटता राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छ । राष्ट्रपति भण्डारीकै जोडबलमा उनी ओली सरकारमा मन्त्री भएको मान्नेहरू एमालेमा धेरै छन् ।

आचार्य भने ओली सरकारमा पर्यटन मन्त्री हुँदा विवादमा परेका थिए । उनी खनालको कोटामा मन्त्री बनेका थिए । तर खनालसँग विवाद बढेपछि उनकै सिफारिसमा आचार्य फालिएका थिए । आचार्यलाई फालेर खनालले आफ्ना पूर्व स्वकीय सचिव दिनेश चन्द्र अमात्यलाई मन्त्री बनाएका थिए । खनाल र आचार्यबीच आर्थिक विषयलाई लिएर मनमुटाव भएको मान्ने एमालेमा धेरै छन् ।

यसपालिको चुनावमा पनि आचार्यले टिकट वितरणमा न्याय नगरेकोले एमालेले सुनसरीमा राम्रो नतिजा ल्याउन नसकेको आरोप उनी माथि छ । देशभरी वाम लहर आएको बेला पनि सुनसरीका चार निर्वाचन क्षेत्र मध्ये तीनमा कांग्रेसले जितेको थियो ।

राईको सम्भावना बलियो हुनुको अर्को कारण त्यो प्रदेशको किराँत समुदायको बाहुल्यता पनि हो । प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंंगा, धनकुटा लगायत जिल्लामा किराँत समुदायको बाहुल्यता छ । समुदायका हिसाबले पनि सो प्रदेशमा राई मुख्यमन्त्रीका बलिया दाबेदार हुन् ।

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका दाबेदारमा एमालेका दुई नेता छन । अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे । शाक्य एमालेकी निर्वाचित उपाध्यक्ष हुन् भने राजेन्द्र पाण्डे गएको पार्टी अधिवेशनमा उपाध्यक्षका पराजित उम्मेद्वार हुन् । शाक्य पाण्डेभन्दा ‘सिनियर’ नेता हुन् ।

केन्द्रीय संसदको पनि सजिलै टिकट पाउन सक्ने शाक्यलाई माधव नेपालले नै चुनावअघि पछि मुख्यमन्त्री बन्न मिल्ने भएकाले प्रदेशमा लड्न सुझाएका थिए । पार्टीभित्रको आन्तरिक समिकरण मिलाउँदा पनि अध्यक्ष ओलीले एउटा प्रदेशको मुख्यमन्त्री नेपाल पक्षलाई दिनुपर्ने हुन्छ ।

त्यसमाथि वाम गठबन्धनले ६ प्रदेशमा सरकार बनाउँदा एउटामा महिला मुख्यमन्त्री बनाउनु पर्ने आवाज पक्कै उठ्छ । अन्य प्रदेशसभामा शाक्यजस्तो राजनीतिक उचाइ भएका महिला नभएकाले उनी स्वतः दाबेदार हन् । तीन नम्बर प्रदेशमा ठूलो नेवार समुदायको पनि प्रतिनिधित्व हुने भएकाले शाक्यको सम्भावना बलियो छ ।

प्रदेश नम्बर चारको मुख्यमन्त्रीका दाबेदार दुवैजना गुरुङ समुदायका छन, पृथ्वीसुब्बा र किरण गुरुङ । एमाले सचिवसमेत रहेका गुरुङ ओली खेमाका नेता हुन् । ओलीको रोजाईमा पृथ्वी सुब्बा नै पर्नेछन् । तर, एमाले उपाध्यक्ष वामदेव गौतमलाई कसरी चित्त बुझाउने ? भन्ने कुरासँग प्रदेश नम्बर चारमा मुख्यमन्त्री को बन्छ ? भन्ने विषय जोडिएको छ ।

पार्टीभित्र किरण पुराना नेता हुन, उनी २०४८ सालमै सांंसद भएसकेका थिए । वामदेवसँग उनको लामो निकटता छ । पार्टी फुट्दा उनी वामदेव गौतम नेतृत्वको नेकपा मालेमा लागेका थिए । यसपालि एमाले उपाध्यक्ष गौतम बर्दियाबाट पराजित भएका छन । वाम गठबन्धनको पक्षमा देशभर लहर आउँदा पनि उनी भने पराजित भए ।

उनको पराजयलाई लिएर एमाले भित्रै विभिन्न टिकाटिप्पणी भएको एक एमाले नेताले बताएका छन । आफ्ना निकटहरूसँग वामदेव स्वयंमले पनि आफूलाई पार्टी भित्रैबाट हराइएको बताएका छन । एमाले र माओवादीबीच पार्टी एकता हुँदै गर्दा गौतम आफूसँगै हुन् भन्नेमा एमाले अध्यक्ष ओली सचेत रहनेछन् । त्यसैले गौतमले अड्डी कसे भने चार नम्बर प्रदेशमा किरण गुरुङ मुख्यमन्त्री बन्ने सम्भावना पनि बलियो छ ।

पाँच नम्बरको मुख्यन्त्रीमा एमालेका शंकर पोखरेलबाहेक अरु कसैको दाबी नै छैन । पोखरेललाई मुख्य मन्त्री बनाउने सहमतिमै एमाले र माओवादीको सिट बाँडफाँट हुँदा दाङ २ मा माओवादीका कृष्णबहादुर महरालाई छोडेर पोखरेल प्रदेश सभामा उठेका थिए ।

चुनावअघि नै उनले आफूलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै प्रदेशको विकासको खाका नै सार्वजनिक गरिसकेका छन । बाँडफाँटमा प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउनेछ । उर्जामन्त्री भइसकेका माओवादी नेता महेन्द्रबहादुर शाही यहाँ मुख्यमन्त्रीका बलिया दाबेदार छन ।

अघिल्लो चुनावमा कालिकोटबाट केन्द्रीय सांसद चुनिएका उनले यसपालि मनोनयन दर्ताको अन्तिम दिनमात्र प्रदेशबाट लड्ने सार्वजनिक गरेका थिए । माओवादी भित्र उनको दाबीलाई कसैले चुनौती दिएको छैन । त्यो प्रदेशमा एमालेका दुई नेताहरू, यमलाल कँडेल र प्रकाश ज्वाला पनि मुख्यमन्त्रीका दाबेदार छन् । तर माओवादीको भागमा यो प्रदेश परेपछि उनीहरूको सम्भावना कम देखिन्छ ।

७ नम्बर प्रदेशको मुख्यमन्त्री पनि माओवादीको भागमा पर्ने बलियो सम्भावना छ । तर त्यहाँ दुवै पार्टीबाट मुख्यमन्त्रीका बलिया दाबेदार नेता छैनन् । माओवादीका सिनियर नेता यो प्रदेश सभामा सदस्य छैनन । ‘हाम्रा स्वभाविक दाबेदार नेताहरू छैनन, भएका साथीहरूमध्ये को हुन् सक्छ भन्ने छलफल भइरहेको छ,’ सात नम्बर प्रदेशका एक माओवादी नेताले भनेका छन ।

सात नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले नै राखेर त्यसको साटो केन्द्रीय सरकारमा माओवादीलाई मन्त्री मिलाउने सम्भावना पनि छ । त्यसो भयो भने एमालेका कर्णबहादुर थापा मुख्यमन्त्रीका दाबेदार हुनेछन । प्रदेश नम्बर दुईमा भने मधेसवादी दुई दल राजपा र फोरमले बहुमत ल्याएका छन् । मुख्यमन्त्री पनि चुनावी तालमेल गरेका यी दुई दलबाट हुने सम्भावना छ ।

मुख्यमन्त्रीको दाबीसहित राजपा महासचिव मनिष सुमन प्रदेशसभा उठेका थिए । चुनाव जितेपछि उनी प्रमुख दाबेदार बनेर आएका छन । तर २ नम्बरको प्रदेश सभामा फोरमले धेरै सिट जितेकाले मुख्य मन्त्री पनि सोही पार्टीले पाउने सम्भावना छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्