सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विमान दुर्घटनाबारे बंगाली पाइलटको सहकर्मीलाई चिठी

यूएस–बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि यसको कारण खोज्ने क्रम जारी छ । यसैबीच एक बंगलादेशी पाइलटको भनाइमा भने यो दुर्घटना अवश्यम्भावी थियो ।

निजी क्षेत्रमा काम गर्ने ती पाइलटले जागिरको सुरक्षाका कारण आफ्नो नाम खुलाउन मानेनन् । उनले आफ्ना सहकर्मी पाइलटलाई लेखेको पत्रमा भनेका छन, ‘उक्त दुःखद दुर्घटनाले पर्खिरहेको थियो ।’

उनले लेखेको पत्र ढाका ट्रिब्युनमा प्रकाशित भएको छ । जसको सार यस्तो छः

म एकदम निराश र डिस्टर्ब छु । यो दुर्घटनाले प्रतिक्षा गरिरहेको थियो । सुरक्षा संस्कृति वा साँचोभन्दा निजी क्षेत्रमा यसको अभाव एकदम उदेकलाग्दो छ । मलाई थाहा छ, पाइलटहरुलाई जोखिमयुक्त अवस्थाहरुमा पनि उडान गर्न व्यवस्थापनले दबाब दिन्छ । उडानको सुरक्षामाथि व्यवसायिक स्वार्थहरु हाबी हुन्छन् ।

मैले हाम्रा फस्र्ट अफिसरहरुबाट धेरै निराशाजनक कथाहरु सुनेको छु जो पहिले निजी क्षेत्रमा काम गर्थे । यदि उनीहरुले बढाईचढाई नै गरेका हुन् भने त्यसको २५ प्रतिशतलाई सत्य मान्दा पनि यो चिन्ताको विषय हो ।

तपाईं एउटा अनुभवी र वरिष्ठ पाइलट हुनुहुन्छ । कृपया उठ्नुस् । तपाईंले मलाई एकपटक भन्नुभएको थियो कि मैले ‘नो’ भन्न जानेको छैन । प्लिज सम्झिनुस, एउटा क्याप्टेनले आफ्नो म्यानेजमेन्टलाई कतिपय अवस्थामा ‘नो’ भन्नैपर्ने हुन्छ ।

निजी विमानहरुले न्यूनतम भिजिबिलिटीभन्दा कममा, खराब मौसममा उडान गर्ने, प्राविधिक समस्याहरुमा सम्झौता गर्ने, मौसम राडारविना नै उडान गर्ने, पाइलटहरुलाई इन्जिनियरिङ लगमा प्रवेश नदिने आदि प्रवृत्ति छन् । उनीहरुका लागि सुरक्षा भन्दा पैसा धेरै महत्वपूर्ण छ ।

हे भगवान ! हामी पाइलटहरुले प्रत्येक दिन आफ्नो जीवनलाई दाउमा लगाउनुपर्ने हुन्छ । यो एउटा त्रासदीपूर्ण ड्यूटी हो, मिडियाले चित्रण गर्ने जस्तो ग्ल्यामरस जागिर होइन ।

मैले अरु विदेशी विमानहरु जाडोमा भिजिबिलिटी सुधार हुने प्रतिक्षामा होल्ड गरिरहेको देखेको छु, तर यूएस बंगलाले भने यस्तो अवस्थामा पनि अवतरणको लागि तयार हुन्छ ।

सबै पाइलटहरुले आफ्नो कामको प्रभाव कति ठूलो हुन्छ भन्ने महसुस गर्नुपर्छ । यदि सबै एकजुट भए व्यवस्थापनले खराव मौसम वा प्रतिकुल अवस्थामा उडान गर्नका लागि दवाव दिन सक्दैन ।

हो, सबै सावधानी र सुरक्षाका बाबजुद कहिलेकाहीँ दुर्घटना हुन सक्छ । अत्यन्त अनुभवी चालक दल छन् भने पनि । तर, यसको अर्थ हामी आफ्नो सुरक्षाप्रति लापरवाह हुनुपर्छ भन्ने होइन ।

मैले सुनेको छु, क्याप्टेन अबिद सुल्तान काठमाडौं एयरपोर्टमा जानुअघि चारवटा क्षेत्रमा उडान गरिसकेका थिए । कति दुखलाग्दो ? त्यो पनि केवल दुई महिनाको अनुभव भएको फस्र्ट अफिसरसँग । विमानहरुले यस्ता अनुभवहीन फस्र्ट अफिसरहरुलाई नजिकै उडान भर्ने अनुमति समेत दिँदैनन् ।

अन्त्यमा, क्याप्टेन अबिदका छोराछोरीहरुले उनीहरुका बाबुलाई कहिल्यै देख्न सक्ने छैनन् । मेरो मुटु टुक्रा–टुक्रा भएको छ । उनको ठाउँमा म हुन सक्थेँ, तपार्इं हुन सक्नुहुन्थ्यो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्