सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सम्झौता लाइभ छ, कुनै गल्ती भए जिम्मेवारी लिन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण र दुई देशबीच भएको सम्झौता बारे संसदलाई जानकारी गराएका छन् ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भएको सहमति तथा सम्झौतामा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हितलाई कमजोर हुने काम नगरिएको बताएका छन ।

उनले भने–‘हामीले गरेका लिखित, मौखिक सबै सहमति सम्झौता लाइभ छन, पारदर्शी छन् । हामी हाम्रो राष्ट्रिय हितलाई छोड्न सक्दैनौँ । जे भए पनि विरोध गर्ने, जे भए पनि समर्थन गर्नु वाञ्छनीय हुँदैन ।’

उनले प्रधानमन्त्रीको हैसियलले देशको शिर निहुरिन दिने, देशलाई हेपिन दिने वातावरण बनाउन नदिने बताउँदै भने–‘यस देशको अन्नपानीले हुर्किएको मान्छेले देशहितको विरुद्धमा काम हुन दिन्नँ । यो भेट नेपालको हितमा र भारतको अहितमा भएको भन्ने होइन । भारतको पनि हितमा भएको छ ।’

सावधानी र सचेत प्रयासका साथ आफू प्रस्तुत भएको बताउँदै उनले थपे– ‘सम्झौताको लाइभ छ । कुनै गल्ती भएको रहेछ भने म जिम्मेवारी लिन्छु ।’

उनले नेपालको परराष्ट्र नीति भारत तथा चीन दुवैसँग समान हुने बताउँदै भने– ‘हामी हाम्रो राष्ट्रिय हितका लागि एकतिर मात्र ढल्किँदैनौँ । हामी दुवै देशसँग सम्बन्ध राख्न चाहन्छौँ । ३ वर्षअघि भारतसँगको सम्बन्ध तनावपूर्ण थियो । मैले नाकाबन्दी नखोली भारत जान्न भनेको थिएँ । नाकाबन्दी खोलेपछि गएँ ।’

सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको २ दिने नेपाल भ्रमण दुवै देशको हितमा, आपसी सम्बन्ध र विश्वास बढाउन महत्वपूर्ण रहेको बताएका छन् ।

भ्रमणअघि आफूले विभिन्न पार्टीका नेता, पूर्वप्रधानमन्त्रीहरू, पूर्वराजदूतहरू, विज्ञहरूसँग व्यापक छलफल गरेर सुझाव लिएको बताए । सबैको सुझाव राष्ट्र हितका विषयमा रहेको र स्वाभिमान झुक्न नदिई अगाडि बढ्न दिएको सुझाव आफूले पालन गरेको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादा विपरीतको अभिव्यक्ति आएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको नाम नलिई अभिनन्दन समारोहमा उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका हुन् ।

जनकपुरमा भएको प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी रहेको बताएका थिए । उनले भने– ‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध परराष्ट्र मन्त्रालयले गर्छ । परराष्ट्र नीति सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’

संसदमा बोल्दै प्रधामन्त्री केपी शर्मा ओलीले छिट्टै काठमाठौैं–रक्सौल रेलमार्गको डीपीआर तयार पार्ने काम भएको बताएका छन् । उनले रेलमार्गको सर्भे र निर्माणका लागि भारतले लगानी गर्ने बताएका छन । ओलीले डीपीआर तयार भएपछि तुरुन्तै सम्झौता गरेर काम गर्ने बताए ।

यस्तै जलमार्गका बारेमा छिट्टै डीपीआर तयार पार्नेबारेमा सहमति भएको पनि उनले जानकारी गराएका छन । यस्तै नेपाल भारतबीचमा चरम व्यापार असन्तुलन रहेको बताउँदै उनले यसबारेमा आगामी ३ महिनाभित्र पुनरावलोकन गर्ने सहमति भएको पनि उल्लेख गरेका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको ओलीले संसदलाई जानकारी गराएका छन । हाल नेपाल प्रवेश गर्ने एउटा मात्रै हवाई रुट रहेको छ ।

प्रधानमन्त्री ओलीले जनकपुरमा रामजानकी मन्दिरमा प्रधानमन्त्री मोदीले पूजा गरेको बताउँदै रामायण सर्किटको उद्घाटन सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गरेका छन । यो सर्किटले धनुषाधाम, जनकपुर, वाल्मीकि आश्रम त्रिवेणी लगायतका क्षेत्रलाई समेटेर लैजाने उल्लेख गरेका छन ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्षायाममा तराईका सीमाका भूभाग डुबानमा पर्ने समस्या रहेको बताउँदै समाधानबारे छलफल भएको जानकारी गराएका छन । उनले भने–‘सिमानामा पुल बनाउने, बाँध बाँध्ने गरेका कारण नेपालको भूभाग डुबानमा पर्ने समस्या छ । भारतको आफ्नो जमिन र बस्ती बचाउनका लागि हाम्रो भूभाग डुबानमा पार्नु हुँदैन । भारत यसमा तयार भएको छ ।’

२०१४ मा भएको ऊर्जा व्यापार सम्झौतामा भारतले एकतर्फी आफ्नो लगानी ५१ प्रतिशत शर्त राखेको र त्यो दुवै देशको हितमा नरहेको बारे आफूले कुरा राखेको उनले बताए । यो नेपालमा लगानीलाई हतोत्साही गराउन खोजको आफूले स्पष्ट पारेको र भारतीय प्रधानमन्त्री यो विषयमा सहमत भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले ५ वर्षभित्र अरुण तेस्रो जलविद्युत आयोजना तयार पार्नेबारे सहमति भएको बताएका छन् । उनले ट्रान्समिटर लाइनका लागि ४ वर्ष लाग्ने र आयोजना सम्पन्न हुन लाग्ने ५ बर्षमा ९ सय मेगावाटको आयोजना सम्पन्न हुने उल्लेख गरेका छन ।

ऊर्जा बैङ्कको स्थापना गर्ने, बुटवल जयनगर ट्रान्समिटर लाइन विस्तार गर्नेबारेमा भारत सकारात्मक रहेको उनको भनाइ छ । पञ्चेश्वर जलविद्युत आयोजना अगाडि बढाउने र टनकपुरमा १३ किलोमिटर लिङ्क रोड बनाउन प्रस्ताव राखेको र त्यसमा भारतको सहमती रहेको छ ।

यस्तै १९५० को सन्धि पुनरावलोकनका लागि दुई देशका बीचमा प्रबुद्ध समूह गठन गरेको र यो समूहले जुलाईसम्ममा काम सम्पन्न गर्ने उनले बताएका छन । असमानताको यो सन्धिलाई समयानुकूल बनाउन सकिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्