एकतापुर्व एमाले र माओवादीबिच के भयो सहमति ?
कम्युनिष्ट पार्टीको व्यानरमा फरक धारको राजनीति गर्दै आएका एमाले र माओवादी केन्द्र एक भएका छन् । कुनै समय एक अर्कालाई सिध्याउने सम्मको टकरावमा रहेका दुई दल पछिल्लो चुनावी गठबन्धनबाट पार्टी नै एक हुने विन्दुमा पुगेका हुन् ।
शान्तिपूर्ण राजनीतिक धारबाट उदाएको एमाले र हतियारसहितको संघर्षले बलियो बनेको माओवादी दुवै एक अर्काको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा एउटै बाटोमा हिड्न तयार भए ।
२००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि दर्जनौं पटक कम्युनिष्ट आन्दोलनमा फुट आयो र ससाना समूहहरुबीच एकता पनि भयो । तर बिहीबारको एकता भने विगतको भन्दा केही पृथक छ । किनभने चुनावी परिणामबाटै बलियो उपस्थिति जनाएका दुई ठूला कम्युनिष्टहरुबीचको एकता हो ।
अब कम्युनिष्ट पार्टीका नाममा झिनामसिना हाँगा मात्र बाँकी छन् । मूलतः नेपाली राजनीतिमा कम्युनिष्ट जनमतको सबैभन्दा बढी पकड राख्ने दुई दल एक भएका हुन् ।
एमाले र माओवादी केन्द्र दुवै अब नेपाल कम्युनिष्ट पार्टीको व्यानरमा रहनेछन् । उनीहरुले संयुक्त नेतृत्व गर्ने अभ्यास थालनी गरेका छन् । दुवैमा अब सिद्धान्तको टकराव रहेन । एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको विल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी ।
यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले गुजारे र एकले अर्कालाई सकेसम्म सिध्याउने रणनीति अख्तियार गरे । भोट बैंक एउटै भएकाले एउटाले अर्कालाई नसिध्याउँदासम्म आफ्नो अस्तित्व नरहने बुझाई दुवै पार्टीमा रह्यो ।
त्यसैले कम्युनिष्ट इत्तर शक्तिसंँग मिलेर दुवै दलले एक अर्कालाई कमजोर पार्ने रणनीति बनाए । तर पछिल्लो समय दुवैले राजनीतिक शक्ति हासिल गर्न एक अर्काको आवश्यकतालाई महसुस गरे । शक्तिशाली कम्युनिष्ट पार्टी गठन गरे ।
पार्टी एकिकरण पुर्व के–के भयो सहमति ?
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने । दुई अध्यक्षात्मक प्रणाली अपनाइने । दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली हुनेछन ।
नौ सदस्यीय सचिवालय रहने । सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन् । त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन । पार्टी प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई दिइएको छ । पार्टीको महासचिव पौडेल हुनेछन ।
सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्नेछ ।
केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुनेछन ।
माक्र्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने । एक्काइसाँै शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्