करेन्टले दुई हात गुमे तर गुमेन रुपाको हिम्मत
शारिरीक रुपमा सबल भएका मानिसहरुको लागि समेत जीवन ज्यूनको लागि हिम्मत, साहस र क्रियाशीलता चाहिन्छ । हाँसो उठ्दा दिल खोलेर हाँस्नको लागि दाँत चाहिन्छ, कठिन बाटाहरुलाई सहज बनाउन दुई खुट्टा चाहिन्छ भने दुःख पर्दा आँखाबाट बग्ने आँशु पुछ्नको लागि सुकोमल हात चाहिन्छ ।
तर यी सबै नभएको अवस्थामा जीवन कस्तो होला ? योे प्रश्नले ठाउँ पाउनु अस्वाभाविक होइन तर सम्भव बनाउनेहरुका लागि जहाँ जे पनि सम्भव हुन्छ नै । यस्तै एउटा भोगाइकी पात्र हुन रुपा रौतार जसले असम्भवलाई सम्भव बनाएर सबैलाई जिउने हौसला दिएकी छिन् ।
एउटा दुर्घटना जसले उनीसंग भएका दुई हात सदाको लागि खोस्यो । कपिलवस्तुमा रहेको वालज्योति स्कुलमा पढ्दै गरेकी रुपाका बुबा वैदेशिक रोजगारीका गएका थिए । २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा पुगेकी रुपा घरको माथिल्लो तल्लामा पुगेको कसैलाई पत्तो भएन ।
केही क्षणमा ठूलो आवाज आयो, माथि गएर हेर्दा उनै रुपा करेन्ट लागेर भुईमा लडिसकेकी थिइन । लगत्तै उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाण्डौंको टिचिङ्ग हस्पिटलमा लगियो । तर त्यहाँ बच्चाको उपचार हुन्न भनेपछि रुपालाई कान्ति बाल अस्पतालमा राखियो ।
कान्तिमा राखेको ८ दिनका दिन उनको अप्रेसन भयो । उनको दुबै हातमा बढी असर परेको हुँदा हात नकाटे सम्म उपचार सम्भव देखिएन । विडम्बना उनका दुवै हात गुमे । तर ६ वर्षको उमेरमा भएको दुर्घटनाले गर्दा उनलाई जीवनभरको हिम्मतवान भएर ज्यून सिकायो । सानोे उमेरमा आफ्नो दुवै हात गुमाएकी रुपालाई त्यतिखेरको घटनाहरु राम्रोसंग स्मरण सम्म पनि छैन । उनी आफ्ना दुवै हात भएका तस्वीरको स्पर्श गर्न समेत दुई खुट्टाको सहयोग लिन्छिन् ।
सानै उमेरमा दुवै हात गुमाउन पुगेकी रुपा रौतार अहिले १६ वर्ष भईसकेकी छन् । उनी हाल बुटवल खुख्खानगरको दीप बोर्डिङमा कक्षा ८ मा अध्ययनरत छिन् । २०५८ सालमा कपिलवस्तुको वाणगँगा स्थित धनकौलीमा जन्मिएकी रुपा रौतार निकै मेहनती र बहुप्रतिभाशाली मात्र नभइ हिम्मतले भरिएकी छिन् ।
सामान्य परिवारमा जन्मिएकी रुपाले विगत चार बर्षदेखि निरन्तर रुपमा बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्दै आइरहेकी छिन । उनका हाल २ वटा एल्वम समेत सार्वजनिक भइसकेको छ ।
सामान्य परिवारमा जन्मिएकी रुपाको दुवै हात गुमेपछि रुपालाई दैनिक जीवन चलाउनको लागि सहज होस भनेर कपिलवस्तुको गाँउबाट बुटवल स¥यो । लामो समय देखि वैैदेशिक रोजगारीमा रहेका रुपाका बुबा पनि नेपालमा नै फर्किए । रुपा पनि आफ्नो दैनिकी सहज बनाउने प्रयासमा लागिन् ।
निकै मेहनती र लगनशील भए पनि शिक्षामा असहजता आउँछ कि भन्ने परिवारको शंका थियो तर आँट, हिम्मत र दृढ ईच्छा शक्तिको अगाडि दैवले समेत हार खायो । उनी कुनै तालिम बिना नै खुट्टाले लेख्ने बानी बसाउन थालिन् । विद्यालयमा उनको पढाई मध्यम छ ।
शिक्षा संगसंगै उनले अर्को ईच्छा राखिन् संगीतमा जम्ने । उनको संतीत संगसंगै खुट्टाले नै लेखेर डिग्री गर्ने सपना पनि पालेकी छिन् । मिठो स्वरकी धनी उनको पहिलेको र अहिलेको जीवन शैली नै फरक छ । सुरु सुरुमा कतै जानु पर्दा उनलाई अरु कसैको सहारा चाहिन्थ्यो तर अहिले त्यस्तो छैन ।
उनी एक्लै संगीत सिक्न जान्छिन, स्कुल बस चढेर विद्यालय पुग्छिन । दीप बोर्डिङको कक्षा ८ मा पढ्दै आएकी रुपाको कक्षामा छुट्टै डेस्क, बेञ्च सहित बस्ने ठाउँ छ । खुट्टाले नै लेख्ने भएपनि उनको पढाई राम्रो छ । रुपाले आफ्ना दैनिक खाना खाने देखि मोवाइल चलाउने समेत खुट्टाले नै गर्दै आएकी छिन् ।
उनी भन्छिन–‘भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य छ । विद्यालयमा साथीभाईहरुले सक्दो सहयोग गर्छन् । शिक्षकरुले त सँधै हौसला दिने गर्नुहुन्छ ।’ रुपाका दुवै हात गुमेपछि पहिले पढ्दै आएको विद्यालयले उनलाई पढाउन मानेन । हात गुमाएकै कारण आफुले पढ्दै आएको विद्यालय, संगैको सहपाठी छोड्नु पर्ने बाध्यता उनको अगाडि आएको थियो ।
कपिलवस्तुको होराइजन बोर्डिङले पढाउने भएपछि उनको पढाई त्यही सुरु भयो । होराइजनमै पढ्दै गर्दा त्यहीँ अध्यापन गराउने शिक्षिका विष्णुमाया श्रेष्ठले रुपाको गीत गाउन सक्ने क्षमता पत्ता लगाइन । श्रेष्ठले रुपालाई बुटवल ल्याइन । बुटवलमा रहेको बागेश्वरी संगीतालयमा रुपाले निशुल्क संगीत सिक्न थालिन भने बुटवलकै दीप बोडिङमा आफ्नो अध्ययनलाई निरन्तरता दिन थालिन ।
दीप बोर्डिङले उनलाई अहिले पनि निशुल्क पढाउँदै आइरहेको छ । बागेश्वरीबाट औपचारिक रुपमा सांगीतिक यात्रा सुरुवात भएसंगै रुपाको परिवार बुटवल सर्यो । संगीतमा निकै रुची र लगाव राख्ने रुपाको २ वटा एल्बम बजारमा आएको छ ।
रुपा भन्छिन–‘मलाई सधै हौसला प्रदान गर्ने मेरो परिवार, मलाई सांगीतिक बाटो देखाउने विष्णु म्याडम, निशुल्क रुपमा संगीत सिकाउने संगीत गुरु शुरेस सेञ्चुरी, अध्धयनमा सहयोग गर्ने दीप बोर्डिङ अनि संगीतलाई अगाडि बढाउन हौसला र सहयोग गर्ने विकास अग्रवाल सर तथा मलाई सहयोग गर्ने सम्पूर्णलाई धेरै धरै धन्यबाद दिन चाहान्छु ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्