सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खाडीमा लकडाउनका कारण नेपाली भोकभोकै

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहा सहरको एउटा भवनको दुई कोठामा ३० नेपाली कोचिएर बसेका छन् । यूएईमा अलपत्र परेका उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका हुन् ।

मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर सात महिना अघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि १ सय ८ दिराम दिन थाल्यो । ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिना अघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए । १० जना त फर्किए पनि । तर त्यति नै बेला नेपालले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए ।

त्यसको केही दिनपछि उनीहरू बसेको कोठामा बंगाली साहुले ताल्चा ठोकिदिए । कम्पनीबाट निकालिएका उनीहरू नेपाली राजदूतावासको बेवास्तामा पनि परे । केही दिन पार्कमा आकासमुनि रात बिताएपछि उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक महिनाका लागि कोठा खोजेर राखिदिएको छ । तर उनीहरूलाई खानेकुराको भने समस्या छ ।

लकडाउनका कारण सहयोग माग्न जान सक्ने अवस्था छैन । अलपत्रमध्ये एक युवकले टेलिफोनमार्फत भनेका छन्–‘हामी क्वारेन्टाइनमा बस्न तयार छौं । नेपाल सरकारले उद्धार गरेर आफ्नो देश पुर्याइ दिनुपर्यो ।’

सारजहा लकडाउन (कर्फ्यू) मा भए पनि धेरै नेपाली काममै छन् । स्वदेशी कामदारलाई छुट्टी दिएर विदेशीलाई काममा लगाइएको गुनासो खाडी मुलुक र मलेसियाबाट आउन थालेको छ । कतिलाई आफू बसेको क्याम्प र कोठा असुरक्षित लागेको छ । धेरै संख्यामा कामदार राखिएका क्याम्पहरूबाट ड्युटी आउने र जाने क्रम चलिरहँदा नेपालीहरू कोरोना भाइरस संक्रमणको भयमा छन् ।

बहराइनमा कार्यरत मधु थापा कोरोना भाइरसको सन्त्रासपछि घर फर्किन चाहेका छन् । कारण हो, ५ सयभन्दा बढी कामदार रहेको उनको कम्पनीको क्याम्पमा भइरहेको लापरबाही । ‘काममा आउने–जाने भइरहेकै छ । न सामजिक दूरी राखिएको छ, न सरसफाइमा ध्यान,’ उनी भन्छन् ।

एउटै कोठामा ८–१० जना र एउटै घरमा ४–५ सय मान्छे राखिएको भन्दै थापाले जोखिममा रहेका युवालाई फर्काएर क्वारेन्टाइनमा राख्नुपर्नेमा जोड दिए । ‘संकट गहिरियो भने खाडी देशहरूले भटाभट कामदार फर्काउन थाल्छ,’ उनले भने, ‘हाम्रो सरकारले अहिले नै केही गरे हामी सबैको कल्याण हुने थियो ।’

अहिले विदेशमा हुनेहरूले अनेक खालका सास्ती भोगिरहेका छन् । कसैसँग पैसा भएर पनि खाद्यान्न किन्न पाएका छैनन् । कतिको तलब नै आउन छाडेको छ । काम नहुने भएपछि रोजगारदाताले खानका लागि मात्रै पैसा दिनसक्ने बताएको कामदारको गुनासो छ । कतिपयलाई भने काम त लगाइँदैछ, तर तलबको टुंगो छैन ।

Dubai

यूएईको अबुधावीमा काम गरिरहेका कवीन योञ्जन दुई सातादेखि काम गर्न गएका छैनन् । मार्च महिनाको तलब पनि नआउँदा खान समस्या हुन थालेको उनले बताएका छन् ।

साउदीमा कार्यरत ध्रुव क्षेत्री भने अहिले पनि १२ घण्टासम्म काम गर्दैछन् । उनलाई यति जोखिममा काम गर्न मन छैन, तर गर्दिनँ भन्न पाउने अवस्था पनि छैन । ‘नेपाल सरकारले उद्धार गरे घर जान हुन्थ्यो,’ उनी भन्छन्, ‘मरे पनि बाँचे पनि आफ्नै देश प्यारो ।’

लकडाउनका कारण कुवेतमा कोठाभित्रै थुनिएका कामदारहरूलाई पनि खानकै समस्या आइसक्यो । उनीहरूले सहजीकरणमा लागि एनआरएनएलाई गुहारेका छन् । नेपाली दूतावासहरूमा फोन नउठेको उनीहरूको गुनासो छ । सरकारले समस्या भए दूतावासमा सम्पर्क गर्न त भनेको छ, तर दूतावासहरूले फोन उठाउनै छाडेपछि विदेशमा सस्यमा परेका कामदार अभिभावकविहीन बन्न पुगेका छन् ।

यसबीचमा केही देशले अब नेपाल फर्किन चाहने कामदारलाई फिर्ता लैजान दिन सुरु गरेका छन् । त्यसमध्ये यूएई पनि एक हो । यूएईले फर्कन चाहने आफ्ना नागरिकलाई स्वदेश नफर्काउने देशसँग श्रम समझदारी रद्द गर्नेबारे छलफल गरिरहेको त्यहाँको मानव संशाधन मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय पत्रिका खलिज टाइमले समाचार लेखेको छ ।

कामदार फर्किन चाहे प्रस्थान अनुमति दिने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा त्यहाँ रहेका कामदार फिर्ता लैजान धेरैजसो मुलुकले चासो दिएका छैनन् । त्यस्ता देशमाथि दबाव बढाउन यूएईले नीति बनाउन लागेको समाचारहरूमा उल्लेख छ । नेपाल सरकारले पनि यो विषयमा चासो दिएको छैन । सरकारले कामदारको समस्या सुनेर समाधान गर्ने छुट्टै संयन्त्र पनि बनाएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहाल भारतबाहेकका मुलुकमा ४१ लाख नेपाली वैधानिक रूपमा काम गरिरहेको बताउँछन् । त्यसमध्ये कति कामदार कोरोना समस्यासँग जुधिरहेका छन् भन्ने यकिन तथ्यांक भने कसैसँग छैन ।

०७२ देखिको तथ्यांकलाई आधार मान्दा नेपालबाट औसतमा दैनिक १ हजार ५ सयदेखि १ हजार ८ सय युवा रोजगारीका लागि विदेशिएका थिए । सरकारले अन्तरटिष्ट्रय उडानमा प्रतिबन्ध लगाएपछि विदेश जाने आउने क्रम ठप्प छ ।

नेपालबाट मुख्यतः साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुवेत, ओमान, कोरिया, जापान, साइप्रसलगायतका मुलुकमा कामका लागि जानेको संख्या धेरै छ । अन्य भिसामा युरोप पुगेर कामदारकै रूपमा कार्यरत नेपालीहरू प्रशस्त छन् । विभिन्न पेसा–व्यवसाय गर्न पनि उत्तिकै मात्रामा नेपाली युरोप–अमेरिका पुगेका छन् ।

मलेसिया र खाडीमा ५० जना नेपाली संक्रमित
कोरोनाका कारण चैत ३० गतेसम्म विदेशमा १६ नेपालीले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट बेलायतमा ९, अमेरिकामा ६ र यूएईमा १ जना नेपालीको ज्यान गएको छ । अमेरिकामा १ जना र बेलायतमा १ जनाको आधिकारिक पुष्टि हुन भने बाँकी छ । हालसम्म विभिन्न मुलुकमा ७ सय ५० भन्दा बढी जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये रोजगारीको मुख्य गन्तव्य रहेका खाडी र मलेसियामा संक्रमित नेपालीको संख्या ५० पुगिसकेको छ । हालसम्म कोरोनाका कारण यूएईमा एकजना नेपालीको मृत्यु भएको छ भने ५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

संक्रमित ५० नेपालीमध्ये बहराइनमा २२, यूएईमा १२, कुवेतमा ११, साउदीमा ४ र मलेसियामा १ जना छन् । साउदीमा ३ जना उपचारपछि घर फर्किएका छन् भने यूएईमा २ जना निको भइसकेका छन् । साउदीमा १ र यूएईमा ९ जना उपचाररत छन् । कतारले संक्रमितको राष्ट्रियताबारे सार्वजनिक नगरेकाले त्यहाँ कति नेपाली संक्रमति छन् भन्ने खुलेको छैन ।

प्राय देशमा संक्रमितहरुको आधिकारीक जानकारी प्राप्त गर्न गाह्रो छ । अस्पतालले संक्रमितको विवरण नखुलाउने र संक्रमित स्वयं वा आफन्त र परिवारले जानकारी नदिने भएकाले विदेशमा कति नेपाली संक्रमित छन भन्ने एकिन विवरण संकलन हुन सकेको छैन ।

विदेशमा नेपाली संक्रमतिको संख्या दिनानुदिन बढिरहँदा त्यहाँ कार्यरत कामदार अन्योलमा छन् । नेपालमा उनीहरूलाई आउन प्रतिबन्ध लागेको छ । सम्बन्धित देशले भिसा अवधि सकिएकाको ‘स्टे’ अवधि थपिरहेका छन् । तर, संकट गहिरिए के गर्ने भन्ने अन्योल छ ।

नेपाल सरकारले भने तत्काललाई उद्धार गर्न सकिने अवस्था नभएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गत हप्ता गरेको सम्बोधनमा जो जहाँ छन्, त्यहीँ सुरक्षित बस्नुपर्ने भनेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्