सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा चाँडै आपतकाल लगाउने सम्भावना

जापानमा पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण दरले आक्रामक रुप लिइरहेको छ । आईतबार सत्तारुढ दलकी कार्यकारी सानाई ताकाइचीले कोरोनाको आक्रामक संक्रमण दरलाई नियन्त्रण गर्न जापानले पुनः आपतकाल लगाउने सम्भावना रहेको बताएकी छिन् ।

सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको नीति अनुसन्धान परिषद्की प्रमुख ताकाइचीले एक टिभी कार्यक्रममा भनेकी छिन्–‘आपतकालले अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्नेछ, तर जीवन बचाउनु शीर्ष प्राथमिकता हो ।’

उक्त टिभि कार्यक्रममा कोभिड–१९ नियन्त्रण गर्ने उपायहरु सम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनको कनिष्ठ साझेदार कोमेइतो र प्रतिपक्ष दलका नीति प्रमुख पनि सहभागी थिए । प्रधानमन्त्री फुमिओ किशिदाले बिना कुनै हिच्किचाहट यसबारे निर्णय गर्ने ताकाइचीको भनाई थियो ।

सो टिभि कार्यक्रममा सत्तासाझेदार दल कोमेइतोका नीति प्रमुख युजुरु ताकेउचीले पनि सरकारले आपतकाल घोषणाको सम्भावनाबारे विचार गर्नु पर्ने धारणा राखेका थिए ।

प्रतिपक्ष दल कन्ष्टिच्यूशनल डेमोक्रेटिक पार्टी अफ जापानका नीति प्रमुख जुन्या ओगावाले कोरोना महामारी नियन्त्रण गर्ने एउटै तरिका मानिसहरुको आवागमन घटाउनु पर्ने धारणा राखेका थिए । ओगावाले अहिलेसम्म सरकारले चालेका उपायहरु प्रभावकारी नभएको बताएका छन् ।

आईतबार शनिबारको तुलनामा संक्रमण दर अलिकति घटे पनि एक हप्तादेखी लगातार बढेको संक्रमितको संख्याले जापानमा कोरोनाले भयावह रुप लिने हो कि भन्ने आम जनमानसमा चिन्ताको बिषय बनेको छ । अहिलेकै दरमा कोरोना बढ्दै गए सरकारले कोरोना नियन्त्रणका लागी अपनाएका पुर्वतयारी अपुग हुने सम्भावना बढ्दै गएपछी सरकारमाथी आपतकाल लगाउन दबाब परेको छ ।

आईतबार राजधानी टोकियोमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्दा बेड अकुपेन्सी दर ४८.५ प्रतिसत पुगेको छ । टोक्योमा बेड अकुपेन्सी दर ५० प्रतिसत पुग्यो भने महानगरले केन्द्रिय सरकारलाई आपतकालका लागी अनुरोध गर्नेबारे विचार गर्ने बताइएको छ ।

कोरोना नियन्त्रणका लागी तत्काल आपतकाल लगाउनेबारे टोक्योकी गभर्नर युरिको कोइके पनि गम्भिर देखिन्छिन् । गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर कोइकेले कोरोना नियन्त्रणका लागी हालसम्म अपनाइएका उपायहरुबारे मुल्यांकन गरेर नियन्त्रणका आगामी उपायहरुबारे केन्द्रिय सरकारसंग सहकार्य गरिने बताएकी थिईन । सत्तारुढ दलका केही बरिष्ठ सांसदहरुले पनि तत्काल आपतकाल लाग्नसक्ने विचार व्यक्त गरेका छन् ।

जापानले हाल ३४ ओटा प्रिफेक्चरहरुमा अर्धआपतकाल जारी गरिरहेको छ । कोरोना संक्रमण उच्च गतिमा बढ्दै जाँदा जापानमा पछिल्लो समय अस्पतालहरुमा बेडको अभाव सिर्जना भएको छ भने बिरामीलाई एम्बुलेन्स लगायतका आपतकालीन सेवाहरु पाउन मुस्किल भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्