सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओली नेपाल फर्के लगत्तै आयो एसडी मुनिको धम्की

दिल्लीमा आफूलाई नागरिक अभिनन्दनका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा भनेका थिए कि, यहाँका नेता र बुद्धिजीवीमा दुईवटा भ्रम रहेछन, एक कम्युनिष्ट सरकारका कारण लोकतन्त्र संकटमा पर्छ कि ? अनि नेपाल चीनतिर ढल्कन्छ कि ?

प्रधानमन्त्री ओलीले भारतीयहरुमा रहेका यी दुबै भ्रम चिर्ने प्रयास गरेता पनि उनी नेपाल फर्केकै भोलिपल्ट भारतीय प्रोफेसर एसडी मुनीले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै एउटा लेख लेखेका छन् ।

त्यसो त केपी ओली भारत जाँदै गर्दा पनि एसडी मुनीले चीन नेपालको तराईसम्म नआओस् भन्दै आक्रामक लेख लेखेका थिए । प्रधानमन्त्री ओली दिल्लीबाट फर्केपछि मुनीले झनै आक्रामक रुपमा नेपाललाई चीनतर्फ नलाग्न धम्की दिएका छन् ।

भारतीय पत्रिका द क्विन्ट डटकम को विचार पेजमा एसडी मुनीको लेख छापिएको छ । सो लेखमा उनले पुरानै ‘बडेभाइ’ चरित्र प्रदर्शन गर्दै भनेका छन–‘ओलीलाई थाहा छ कि चिनियाँ कार्ड खाली देखाउने दाँत मात्रै हो, त्यसको आर्थिक प्रयोजन छैन । उनलाई थाहा छ कि भारतको सहयोगविना नेपाली जनतालाई गरेको विकासको वाचा पूरा गर्न सकिँदैन । भारतलाई धेरै चिढ्याइयो भने माओवादीसँगको गठबन्धनमा पनि समस्या आउने कुराको आँकलन उनले गरेका छन् ।’

सार्कका विषयलाई एसडीमुनीले सिधै पाकिस्तानको एजेण्डा भएको बताएका छन् । उनले लेखमा अगाडि भनेका छन–‘ओलीले भनेको हरेक कुरामा हो मा हो मिलाएको भारतले सानो स्वरमा एउटा महत्वपूर्ण सन्देश दिएको छ । नेपालले पाकिस्तान र चीनसँगको सम्बन्ध चाहिनेभन्दा बढी न्यानो बनाएमा दिल्लीलाई चित्त बुझ्ने छैन । भारत सार्कको विकल्पमा बिमिस्टेकलाई अघि सार्न चाहन्छ र नेपालले पाकिस्तानको सार्क एजेण्डा नबोकोस् भन्ने पनि चाहन्छ ।’

अब नेपालले चीनसँग निकटता बढायो भने भारतले आफ्ना उपायहरु अबलम्बन गर्ने भन्दै प्रोफेसर मुनीले धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । र, उनले नेपालमा चिनियाँ परियोजनाले उत्पादन गरेको बिजुली नकिन्ने समेत बताएका छन् । नेपालले चीनसँग निकटता बढाएमा भारतले मधेसको मामिला फेरि उठाउने भारतीय प्रोफेसर मुनीको भनाइ छ ।

आफूलाई नेपाल मामिलाका जानकार दाबी गर्ने प्रोफेसर मुनी अगाडि लेख्छन– ‘चीनसित नेपाल चाहिनेभन्दा नजिक भयो भने भारतले आफ्नो उपायहरू प्रयोग गर्ने छ । जस्तै, चीनले बनाएको जलविद्युत परियोजनाबाट भारतले बिजुली किन्ने छैन र मधेसको मामिला भारतले अहिले प्राथमिकता नदिएको हो, पछि फेरि उठाउन सक्छ ।’ अब भारतसँग सम्बन्ध सुधार गरेका केपी ओलीलाई चीनले पनि सहजै नछाड्ने मुनीको दाबी छ । र, भारतले पनि आफ्ना स्वार्थहरुमा सम्झौता नगर्ने उनी बताउँछन् ।

आफ्नो लेखमा उनले भनेका छन–‘ओलीको भ्रमण र नेपाल–भारत सम्वाद कत्तिको सफल भयो भन्ने कुराको मापन दुवै पक्षले आफ्ना वाचाहरूको कत्तिको पालना गर्छन् भन्नेमा निर्भर रहनेछ । ओलीका लागि आफ्नाो दुई प्रमुख राजनैतिक हतियार, राष्ट्रियता र चिनियाँ कार्डको प्रयोग गरेर भारतबाट फाइदा लिन सजिलो हुने छैन । तर, नेपालमा राजनैतिक र सामरिक वृत्तमा ठूलो लगानी गरिसकेको चीनले ओलीलाई त्यसै छाड्ने छैन । भारतले पनि आफ्ना आधारभूत सुरक्षा चासोहरूमा सम्झौता गर्ने छैन ।’ तथापि केपी ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको उनको दाबी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्