भिरबाट लडेर ८ महिनाकी गर्भवतीको मृत्यु, पेट फुटेर निस्केको बच्चाको ४ घण्टापछी मृत्यु
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ बाराम्चिकी ४३ वर्षीया सञ्चमाया तामाङको भिरबाट लडेर मृत्यु भएको छ । उनीसहित उनको गर्भको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेतिर भिरबाट लडेपछि घटनास्थलमै सञ्चमायाको मृत्यु भएको थियो बच्चाको भने ४ घण्टापछि मृत्यु भएको हो ।
उनी वस्तुभाउलाई घास काट्न निस्किएकी थिइन् । ५ जना छोराछोरीकी आमा उनी ८ महिनाकी गर्भवती थिइन् । बिहिबार बिहान ७ बजे घरबाट निस्किँदा दुई छोरा र श्रीमान साथै थिए । श्रीमान फूलबहादुर गोठ स्याहार्नतिर लागे । छोराहरू गाउँतिर खेल्न गए । उनी भने घाँस काट्न भिरतिर लागिन् ।
५ सय मिटर टाढाको भिरमा घाँस काट्दा यसअघि पनि उनलाई लडेर चोट लागेको थियो । श्रीमानले अबदेखि भिरमा घाँस काट्न नजानु भनेर सम्झाएको बताउँछन् ।
श्रीमान फुलबहादुरले भने–‘पहिला पनि भिरबाट लडेर चोट लागेकाले उनलाई भिरमा नजान भनेको थिएँ । त्यतै कान्लाकुन्ली काट्दै होली भनेर आफ्नो सुरमा लागेँ । उ त भिरमा पो पुगिछ !’
८ जनाको परिवार आम्दानीको गतिलो स्रोत छैन । उनीहरूको दैनिकी जसोतसो चल्दै थियो । पोहोर साल पहिरोले धान खेत बगायो । उब्जाउ हुने खेती बगेपछि उनीहरूको परिवारलाई खानलाउन समेत समस्या छ ।
फुलबहादुरले भने–‘बेलाबखत ज्याला मजदुरी गर्थे त्यो पनि लकडाउन छ । छोराछोरीलाई के खुवाउँला कसरी जीविका होला भन्ने पीर परेका बेला दशा मैमाथि थपियो । अब यी छोराछोरीलाई म एक्लै के गरी पालौंला ?’
सञ्चमाया भिरमा पुग्ने बित्तिकै लडेको प्रहरीको अनुमान छ । उनलाई लडेको अवस्थामा पहिलोपटक स्थानीय डोरलाल तामाङले देखेका थिए । उनी घरबाट मोटरसाइकलमा धारे बजार जाँदै थिए । भिरमाथिबाट लडेर गाउँ जाने शाखा सडकको भित्तामा घोप्टो परेको मान्छे देखेपछि उनले बाइक रोके ।
डोरलालले भने–‘यस्तो त मैले जीवनमै देखेको थिइनँ, मेरै आफन्त पर्ने सञ्चमाया काकी घोप्टो परेर रगतमा ललपतिएर ढलेकी रहेछिन्, २ सय मिटर जति पर सालनालमा बेरिएको बच्चा पनि देखेँ, मेरो त होस नै उड्यो ।’
दुवै जिउँदै छन् कि भनेर हतार हतार हेरेको उनले बताए । ‘काकीको ढुकढुकी थिएन, बच्चाले श्वास लिइरहेको थियो,’ उनले भने, ’म त आत्तिएँ । गाउँलेलाई फोन गरेँ, अनर्थ भएको सुनाएँ ।’
एकछिनमा अरू मानिसहरू आए । भुँडी फुटेर बच्चा उछिट्टिएको सबैले अनुमान गरे । गाउँलेहरूले बच्चा र आमा दुवैलाई घर लगे । बच्चालाई सफा गरिदिए । त्यतिन्जेल बच्चा सकुशल रहेको डोरलालले बताए ।
उनले भने–‘१ बजे तिर बच्चा पनि रहेन, अहिले डाँडाथोक नै शोकमा डुबेको छ । यस अघि यो गाउँमा यस्तो भएको थिएन ।’ डाडाथोकमा झण्डै दुइसय तामाङ समुदायको बसोबास छ ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङका अनुसार गाउँमा गरीबी, अशिक्षा तथा अज्ञानता धेरै छ । उपाध्यक्ष तामाङले भनिन्–‘सञ्चमायाको घर हेल्थपोष्ट नजिकै छ । उनले स्वास्थ्य जाँच पनि गरिरहेकी थिइन्, भिरसम्म जानुहुँदैन भन्ने थाहा नपाएर भन्दा पनि हेलचेक्राइँले गएको पाइयो । ८ महिनाको भारी जिउ बोकेर भिरमा घाँस काट्न जान्छु भन्दा परिवारका सदस्य गम्भीर हुनुपर्नेमा त्यो देखिएन ।’
गर्भवती महिलाको अस्पतालमा पहुँच पुर्याउन ४ पटक अस्पतालमा जँचाउन जाने महिलालाई सुत्केरी हुँदा १ माना घ्यु र एक क्रेट अण्डा दिने गरेको पनि उपाध्यक्ष तामाङले बताइन् ।
उपाध्यक्ष तामाङले भनिन्–‘वडावडामा, टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाहरू खटिएका छन् । सचेतना जगाएका छन् तर आज यस्तो घटनाले हामीलाई निकै पीडा र लज्जित बनाएको छ ।’
आफूहरूले पनि ३ वर्षको अवधिमा मानिसको दिनचर्यामै परिवर्तन देखिनेगरी भने काम गर्न नसकेको उपाध्यक्ष तामाङको भनाइ छ । उनले भनिन्–‘आज ८ महिने गर्भवतीले दाउराघाँस गर्न नपर्ने अवस्थामा पुर्याउन सकेको भए सायद यो घटना घट्ने थिएन ।’
वडाध्यक्ष सनत अधिकारी भने बच्चाले बेलैमा उपचार नपाएर मरेकोमा पछुतो लागेको बताउँछन् । वडाध्यक्ष अधिकारीले भनेका छन्–‘समयमै मात्र मलाई खबर गरिदिएको भए बच्चालाई बचाउन सकिन्थो, मैले खबर पाउँदासम्म १ बजिसकेको थियो । साढे ८ बजेको घटना धेरैबेर बच्चा घाममै रहेछ । त्यसपछि फेरि उहाँहरू घर लगेर नुहाइदिन थाल्नुभएछ ।’
आफूले खबर पाउने बित्तिकै बच्चा लिएर रोडतिर झर्दै गर्नु भनेको उनले बताए । गाउँलेले बच्चा लिएर रोडमा आइपुग्दा उनी पनि पुगेका थिए । उनले भने–‘उनीहरू आइपुग्दा म पनि पुगेँ त्यसैबेला बच्चाले श्वास फेर्न छोड्यो, मलाई असाध्यै पछुतो भयो । ४ घण्टा बाँचेको बच्चालाई समयमै अस्पताल पु¥याउन नसकेकोमा हामी चुक्यौं कि भनेर पछुतो भइरहेको छ ।’
सिन्धुपाल्चोकमा गत आर्थिक वर्षमा भिरबाट लडेर ३ जनाले ज्यान गुमाएका थिए । यो वर्ष भने अहिलेसम्म ४ जनाको भिरबाट लडेरै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्