सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दार्जिलिङको भाषिक आन्दोलन गोर्खाल्याण्डतर्फ मोडियो

पश्चिम बंगाल सरकारले बंगला भाषालाई विद्यालयमा अनिवार्य बनाउने गरी अधिसूचना जारी गरेपछि दार्जिलिङमा अहिले तनाव जारी छ । पछिल्लो हप्ता दार्जिलिङमा रहेको राजभवनमा क्याबिनेट मिटिङ चलिरहेको थियो । जसको अगाडि रहेको गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशनको कार्यालय रहेको छ जहाँ प्रदर्शन भइरहेको थियो । क्याबिनेट मिटिङ पछि ढुंगामुढा भएको थियो भने सरकारी बस जलाइएको थियो ।

गोर्खा जनमुक्ति मोर्चाको सदस्यमाथि आरोप छ, उनीहरुले प्रहरीमाथि हमला गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो भने सेना पनि तैनाथ गर्न परेको थियो ।

यसलगत्तै मोर्चाले बन्दको आह्वान गरेको छ । तर, अहिलेको सघंर्षको केन्द्रमा ममता बनर्जी र मोर्चाका नेता विमल गुरुङबीचको तनाव रहेको छ ।

यस्तो छ गोर्खाल्याण्ड तनाबका पाँच कुरा :

१. गोर्खा जनुमक्ति मोर्चा र सरकारबीच किन तनाव भइरहेको छ ?

पश्चिम बंगला सरकारले हालै मात्र एक अधिसूचना जारी गरेको छ जसमा विद्यालयमा बंगला भाषा पढ्न अनिवार्य बनाइएको छ । यसैको विरोधमा मोर्चाले दार्जिलिङ र कलिम्पोङ जिल्लामा प्रदर्शन गरिरहेको छ । यस मामिलामा ममता बनर्जी र विमल गुरुङबीच तनाव जारी छ ।

यद्यपि, बनर्जीले यो आदेश पहाडी क्षेत्रमा अनिवार्य नभएको स्पष्ट पारिसकेकी छिन् । उनीहरुलाई यो विषय ऐच्छिक रहेको बताएकी छिन् । तर, मोर्चा यो मान्नका लागि तयार छैन ।

२. गोर्खाल्याण्ड मुद्दामा ममताले धेरै समर्थन गरेकी थिइन् तर अहिले के भयो ?

यो निकै पेचिलो मामिला हो । ममता बनर्जी जब सत्ता आइन्, त्यसपछि गोर्खाल्याण्ड सम्झौता पास भएको थियो । उनी त्यसपछि पहाडमा गएर मिटिङ गर्थिन् ।

उनको योजना अनुसार नै गोर्खा जनमुक्ति मोर्चा अन्तरगत आउने सबै जनजाती जस्तै राई, लेपचा, शेर्पा आदिका लागि अलग अलग विकास बोर्ड बनाइएको छ ।

जसअन्तरगत राज्य सरकारबाट आर्थिक सहयोग सिधै यिनै बोर्डमा जानेको गरेका छ ।

यसले गर्दा मोर्चाको महत्व कम हुन थालेको गुरुङको बुझाई छ । यही कारण विमल गुरुङ र जिटिएलाई मोर्चाको नियन्त्रण खत्तम हुने डर पैदा भयो ।

गोर्खाको नेतृत्वलाई ममता बनर्जीले उनीहरुको क्षेत्रमा हस्तक्षेप गरेको लागिरहेको बेला भएको राज्यको निर्णयले संघर्ष शुरु भएको हो ।

३. को हुन् र कस्ता नेता हुन् गुरुङ ?

विमल गुरुङ सुभाष घिसिङको जमानामा युवा नेता थिए । उनीसँग पहाडी क्षेत्रको यातायातको युनियन हेर्न जिम्मा थियो ।

दार्जिलिङ गोर्खा हिल काउन्सिको प्रमुखको रुपमा २० वर्ष बिताएपछि घिसिङलाई सन् २००५ मा ‘केयर टेकर’ बनाइएको थियो । यसपछि घिसिङ र गुरुङको गुटबीच दुरी बढ्न थाल्यो । दुरी बढेसँगै सन् २००६–०७ मा गुरुङले गोर्खा मुक्ति मोर्चा नाम दिएर नयाँ पार्टी नै खोल्न पुगे ।
कसरी पहाडी क्षेत्रको लोकप्रिय नेता बने विमल गुरुङ ?

गुरुङले अखिल भारतीय संगीत प्रतियोगितामा कोलकाता प्रहरीका एक कन्सटेबललाई जिताउन त्यस क्षेत्रमा ठूलो प्रचार गरेका थिए । जसबाट उनलाई निकै फाइदा भएको थियो ।

यसपछि उनी सन् २००७–०८ मा पहाडको प्रमुख नेताका रुपमा स्थापित भए र विस्तारै घिसिङको पकडलाई कमजोर बनाउँदै गए । जनप्रिय नेताको रुपमा उदाएपछि उनले गोर्खाल्याण्डको माग गरे र सन् २०११ को जुलाईमा जिटिए सम्झौता पास भयो ।

४. के-होला समस्याको समाधान ?

यो स्पष्ट छ कि गोर्खा जनमुक्ति मोर्चाको जनाधारमा निकै नोक्सान भएको छ । गत महिना भएको नगर निगम चुनावमा टिएमसीको सभासद निर्वाचित भएका छन् । यसबाट स्पष्ट छ कि मोर्चाले धेरै जनसमर्थन गुमाएको छ । यसबाट मोर्चा सशंकित बनेको छ । उनीहरुको कोशिस छ कि यो प्रदर्शन धेरै बढोस् ।

यही कारण सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ भने निजी संस्थान खुला छ । यो प्रदर्शनबाट मोर्चाले आफ्नो समर्थन मापन गर्न खोजिरहेको छ । उता, ममता बनर्जीले पनि सीधै मुठभेडको संकेत दिइसकेकी छिन् ।

५.अब भिडन्त आमुन्ने सामुन्ने हुन्छ ?

यो कुरा एक दुई दिनमा प्रष्ट हुनेछ । यो कुरा विमल गुरुङलाई कति समर्थन प्राप्त हुन्छ भन्ने कुरामा निर्भर गर्छ ।
राज्य सरकार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेशन र गोर्खा जनमुक्ति मोर्चाको अधिनमा रहेको नगर निगममा भएको आर्थिक अनियमिमताको आरोपपछि आर्थिक गतिविधिको अडिट गरिरहेको छ । जिटिएको कार्यालय पनि दुई महिनाका लागि शिलबन्दी गरिएको छ । यसकारण जिटिएका कुनै पनि सदस्यले अडिट हेर्न पाउने छैनन् ।

सुभाष घिसिङका समर्थक र तृणमूल कङग्रेसबीच पनि सम्झौता भएको छ । उनीहरु विमल गुरुङको विरोध गरिरहेका छन् । उनीहरुको मद्दतबाट ममता पहाडी क्षेत्रमा पकड बनाउने कोशिस गरिरहेकी छिन् । बिबिसी हिन्दिबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस्