सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन तस्करीमा पुलिसकै संलग्नता भएको पर्दाफाँस

सुन तस्कर गोरे र अपराध अनुसन्धान महाशाखाका सई सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बीचमा पैसाको ठूलै बार्गेनिङ भएको देखिएको छ र अन्तिममा दुई करोडमा सहमति भएपछि प्रहरीले नै सुन तस्करलाई साथ दिएको देखिन्छ ।

सई सन्जेलबाट शुरु भएको संग्लनता अपराध महाशाखाकै डिएसपी प्रजित केसी मुछिन पुगे भने उनलाई महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको साथ देखिएको छ । केसी र लोहनीलाई निगरानीमा राखेर वयान लिने क्रम जारी छ भने सई सन्जेललाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

गोरेले सनमको शव मोरङबाट उठाएर इटहरी र धरानबीचको जंगलमा तह लगाउने योजना बनाएका थिए । त्यहीबीचमा काठमाडौं र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बीचमा प्रहरी र गोरेबीच फोनमा बार्गेनिङ पनि चलिरहेको थियो ।

अन्तिममा दुई करोडमा टुंगिएको थियो । पैसा बोेकेर गोरे धरान आउन राजि पनि भएका थिए । प्रहरी गोरेको प्रतिक्षामा थियो, रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे । प्रहरी टोलि तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं. स्कोरपियो प्रहरी टोली छेउ रोकियो ।

तर, भनिएकै नम्बरको गाडिमा गोरे थिएनन, उनका सहयोगी मात्र थिए, डिक्कीमा सनमको शब थियो । सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो । त्यसयता उनी सम्पर्कमा छैनन् । गाडि चालकको सहयोगमा गोरेका पुर्वसहयोगी काभ्रेका ३२ बर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ बर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ बर्षीय मोहन काफ्लेलाई पक्राउ गर्यो । उनीहरुलाई सनमसँगै काठमाडौंबाट मोरङ लगिएको थियो ।

अनुसन्धान गर्दै जाँदा प्रहरीका अन्य केही उच्च पदस्थहरु तानिए । पुर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् र उनीविरुद्ध अनुसन्धान जारी छ भने प्रहरीकै एसपी विकासराज खनाल जो मकवानपुरमा कार्यरत थिए उनी पनि पक्राउ परेका छन् ।

त्यस्तै यसअघि नै सुन तस्करी काण्डमा मुछिएका एसएसपी श्याम खत्री अहिले फरार भएका छन् भने ३३ केजी सुन तस्करी काण्डमै बयान दिन गएर पनि गृहमन्त्रालयबाट फरार भएका डिएसपी सन्जय राउतलाई गृहमन्त्रालय उपस्थित गराइएको छ । तस्करीलाई प्रोत्साहन गर्ने प्रवृत्तिलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन सिध्याउने धमिरा भनेका छन् र उनीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

साढे ३३ किलो सुन हराएपछि शुरु भएको थियो गाइँगुईँ
फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो ।

ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकारहरु आत्तिएका थिए र उनीहरुले भित्र भित्रै सुन कस्ले लग्यो भनेर छानविन गर्न शूरु गरेका हुन् ।

तस्करीका मुख्य योजनाकार गोरे उपनामले चिनिने चूडामणि उप्रेती भएको रहस्य खुलेको छ । आफ्नो सुन हराएपछि उनले बनलाई नियन्त्रणमा लिएर धापासीस्थित थ्री मोटर्स ग्यारेजमा लगे । अनेक यातना पाएर ड्युटीमा फर्किएका बन अचानक २२ माघमा विमानस्थलभित्रै दुर्घटनामा मारिए ।

सिसिटिभी फुटेज हेर्दा उच्चगतिमा आइरहेको इन्धन ट्याङकरमुनि छिरेका बनले आत्महत्या गरेको जस्तो देखिएको छ तर यो विषयमा विमानस्थल प्रशासन र प्रहरी संगठनले गम्भीर अनुसन्धान गरेन ।

उनको मृत्युलाई सामान्य दुर्घटनाका रुपमै सीमित गर्न खोजेर सुन तस्करी काण्डलाई गुपचुप गराउने कोसिस गरियो । त्यस्तै पक्राउ परेका गोरेका सहयोगी तथा विमानस्थलमा लोडरको रुपमा कार्यरत रहेका प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको थुनुवा कक्षमा नै पासो लगाएर आत्महत्या गरे । तर परिवारले यो सहज रुपमा स्वीकार गरेको छैन ।

काठमाडौंमा अपहरण, मोरङमा यातनापछि हत्या
बनको ज्यान गयो, तर चुडामणी उप्रेती भनिने गोरेको सुन भेटिएन । बनको मृत्यु दुर्घटनामा दर्ज भएकोले गोरेलाई आफ्नो सुन खोज्न समय र सुविधा भयो । उप्रेतीले आफ्ना पुर्व लेखा सहयोगी सनम शाक्यले सुन लगेको शंका गरे ।

आफुसँग काम गरेर तीन महिनाअघि अलग्गिएका शाक्यले षड्यन्त्रपुर्वक सुन गायब बनाएका हुन सक्छन् भनेर उनलाई नियन्त्रणमा लिइयो । सनमसँगै टेकराज मल्ल, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर काठमाडौंबाट मोरङ पु¥याइयो । गाडिमा उनीहरुलाई त्यति टाढा पु¥याउँदा पनि प्रहरीबाट कुनै सोध खोज भएका समेत देखिएन ।

गोरेको नियन्त्रणमा परेका चारै जना गोरेका सहयोगी र भरियाको रुपमा विगतमा काम गरिसकेका अनुसन्धानबाट खुलेको छ । सुन कहाँ छ भन्दै उनीहरुलाई यातना दिन थालियो । करेन्टको झड्का सहन नसकेर सनम शाक्यको ज्यान गयो ।

अब गोरेलाई सुन खोज्ने मात्र होइन, सनमको शव ठेगान लगाउने जिम्मा पनि आइलाग्यो । यो बीचमा गोरे र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जलेबीच सम्वाद भइरहेको अनुसन्धानबाट खुलेको छ । शव ठेगान लगाउने, सुन खोज्ने र यसवापत सइ सन्जेलले रकम पाउने सहमति भएपछि प्रहरी र सुन तस्करको साठगाँठ भयो र प्रहरीको संग्लनता शुरु भएको देखिएको छ ।

आरोपिका परिवारले गृहमन्त्री गुहारेपछि खुलेको रहस्य
सनमको हत्या मल्ल, कार्की र काफ्लेले गरेको भनेर प्रहरीले घटना सार्वजनिक ग¥यो । प्रहरीको विवरणमा विश्वास गरेर समाज मौन थियो । तर, पक्राउ परेकाका परिवारले गृहमन्त्री रामबहादुर थापालाई भेटेर उजुरी दिएपछि मन्त्रालयबाट छानविन समिति बन्यो । त्यही बेला गृहमन्त्रीले भनेका थिए, ‘विमानस्थलबाट टनका टन सुन आइरहेको छ ।’

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले गोरेको फोनको कल डिटेल विश्लेषण ग¥यो । प्रहरी टोली सुनसरीको धरान र मोरङको पोखरीयाबीच दौडधुप गर्दा गोरेले डिएसपी सन्जय राउत, एसपी विकासराज खनाल र डिआइजी गोविन्द निरौलासँग पनि सम्वाद गरिरहेका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज राउत, मकवानपुरका प्रहरी प्रमुख खनाल र प्रहरी प्रधान कार्यालयको अन्वेषण ब्युरो प्रमुख अपरेशनमा थिएनन् । तर, उनीहरुले प्रहरीको योजना सुनाएर गोरेलाई भगाएको छानविन समितिको विश्लेषण छ । त्यही आरोपमा उनीहरु पक्राउ परेका छन् ।

यो सुन काण्डको अनुसन्धान अँझै जारी छ । आरके ज्वलर्सका सन्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एअरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भजुङ गुरुङ लगायतका उच्च पदस्त पक्राउ परेपनि यो काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती भने फरार छन् । रेडकर्नर नोटिस जारी भएका गोरे मात्र होइन यसको मुख्य कारण साढे ३३ किलो सुनको पनि अत्तोपत्तो छैन ।

नेपालमा हुने सुन तस्करीमा प्रहरीको कनेक्शन
नेपालमा सुनतस्करीको विगविगी छ । गृहमन्त्री रामबहादुर थापाको भाषामा टनका टन सुन विमानस्थलको बाटो हुँदै नेपाल भित्रिने गरेको रहस्य बारम्बार सतहमा आएका छन् । देशको एकमात्र विमानस्थल यो । जहाँ विमानस्थल प्रसाशन, अध्यागमन विभाग देखि प्रहरीको उच्च सुरक्षा छ । तर यहि बाटो प्रयोग गरेर तस्करहरुले टनका टन अबैध सुन नेपाल भित्र्याइरहेका छन् ।

नेपालमा जेल सजाय काटिरहेका सिरियल किलर चाल्र्स शोभराजले त्यसै भनेका होइन रहेछन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट म हात्ती पनि छिराइदिन सक्छु । यो विमानस्थलबाट सुनैसुनले भरिएको सुटकेस विमानस्थलको सुरक्षा व्यवस्था मात्रै पार गर्दैन रातारात यहीँ गोदाम राखिन्छ र सुरक्षा हेरेर निकालिने गरेको तथ्य यसअभिको सुनकाण्डको घटनामै बाहिर आएको थियो ।

भइरहेको पनि त्यहि छ । यही विमानस्थलबाट दैनिक सुन, डलर र अन्य थुपै्र वस्तुहरु तस्करी हुन्छन् । तस्करहरुका लागि पानीपँधेरो बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बारम्बार सुनका थान तस्करी हुनुमा अध्यागमन, विमानस्थल कर्मचारी, एअरलाईन्सका कर्मचारी र प्रहरीकै सेटिङ रहेको सार्बजनिक भएको छ ।

सुन तस्करीमा प्रमुख भुमिका प्रहरीकै रहेको देखिएपछि अहिले प्रहरीका तल्लोतहदेखि उच्च अधिकारीसम्म अनुसन्धानमा तानिएका छन् । र कारबाहीमा परेका छन् । विमानस्थलको सुरक्षामा खटिएको प्रहरी जसले सुन तस्करीमा मुख्य भुमिका निर्वाह गरेको देखिन आएको थियो । अघिल्लो बर्ष साँढे ३३ किलो सुन विमानस्थलबाट पक्राउ पर्दा विमानस्थलका एसएसपी श्याम खत्रि कारबाहीमा परेका थिए ।

र अहिले ३३ किलो सुन हराएको प्रकरण र भरियाहरुको आत्महत्या, हत्या, लगायतमा प्रहरीको सेटिङले सुन तस्करीमा प्रहरीको कनेक्सन पछिल्लो घटनामा विमानस्थलबाट छिरेको ३३ किलो सुन ५ करोडमा डिल भएको थियो तर पछि २ करोडमा सहमती भयो । तर घटना अन्तै मोडियो ।

नागरिकको सुरक्षामा समर्पित रहेको आडम्बर देखाएर तस्करी गर्न पल्केका प्रहरी हाकिम अब खोर जाने भएका छन् । तस्कर, अपराधीसँग साँठगाँठ गर्ने प्रहरीलाई कारवाही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन ।

सुन तस्करीमा धेरै नाफा भएकाले पनि ठूलो मात्रामा नेपालमा सुन तस्करी हुने गरेको छ । भन्सार नतिरी सुन भित्र्याउँदा एक किलोमा करिब पाँच लाख नाफा हुने गर्दछ । अहिले बजारमा सुनको अभाव रहेकाले पनि तस्करी बढेको छ । तस्करीको सुन राजधानीका सुन पसलबाटै बिक्री हुने गरेको विगतका प्रहरी अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

चीनबाट सडकमार्ग हुँदै आउने सुन प्रहरीले पटकपटक बरामद गरे पनि पछिल्लो समय विमानस्थलबाट ठूलो परिमाणमा सुन आउने गरेको छ । जसमा प्रहरीको नदेखिँदो कनेक्शन छ । साढे ३३ किलो सुन काण्डमा तत्कालिन विमानस्थलका एसएसपी श्याम खत्रीलाई एकपटक सुन भित्र्याएबापत २ लाख आउने गरेको खुलेको थियो ।

दुई लाख लिएर खत्रीले भटाभट सुन पास गराउँथे । विमानस्थलबाट सुन तस्करी भएको ठूलो काण्ड बाहिर आउँदापनि पुन पटकपटक टनका टन सुन आइरहनुले विमानस्थलमा प्रहरीको संलग्नता अँझै रहेको प्रष्ट छ । तर हाल प्रहरीको अनुसन्धान विमानस्थलमा छैन ।

पछिल्लो सुनकाण्डका अपराधि समात्दा र अनुसन्धान गर्न मै प्रहरी ब्यस्त छ तर अहिले पनि प्रहरीकै सेटिङमा त्रिभुवन विमानस्थलबाट पास भइरहेको अनुमान सहजै लगाउन सकिन्छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको अपराध महाशाखा र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ ।

यति हुँदाहुदै यहींबाट ठूलाठूला तस्करीका घटना हुने गर्छन् । कसरी सम्भव हुन्छ यो ? विमानस्थलको भन्सार पार गरेर टनका टन अवैध सुन पास हुनुले प्रहरीको सेटिङ र सुरक्षा प्रणालीमाथि गहन प्रश्न उठाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्