सार्बजनिक बिदा कटौती, कुन–कुन बिदा हटाइयो ?
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भारी रुपमा सार्बजनिक बिदाको कटौति गरेको छ । अनावश्यक रुपमा बिदा धेरै भएको भन्दै सरकारले बिदाको कटौति गरेको हो । सरकारको यो कदमलाई चौतर्फी स्वागत गरिएको छ ।
मन्त्रिपरिषद बैठकले संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिए पनि २०६२/६३ को जनआन्दोलन पछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले यस वर्ष पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिएको थियो । तर, केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने निर्णय गरेको हो ।
कतिपयले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई राष्ट्रिय दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, गणतन्त्र लगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताएका छन ।
असोज ३ नेपालको राष्ट्रिय दिवस भए पनि अन्य दिवसहरु पनि मनाइनेछन् । तर, सार्वजनिक विदा भने असोज ३ मा मात्र दिइनेछ । यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आ–आफ्नो हिसाबले मनाइनेछन् । तर त्यस दिन सार्वजनिक विदा दिइने छैन ।
मन्त्रिपरिषदको निर्णयबारे प्रष्ट पार्दै राज्यमन्त्री बास्कोटाले भने, ‘दिवस र पर्वहरु आ–आफ्नो ढंगले मनाउने तर, सार्वजनिक विदा कटौति गर्ने नीतिअनुसार असोज ३ लाई राष्ट्रिय पर्व बनाइएको हो ।’
दशैं विदा तीन दिन थप कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ ।
त्यस्तै हिन्दूहरुका पर्वको विदा पनि कटौति गरिएको छ । जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा पनि कटौती गरिएको छ ।
सरकारले सार्वजनिक विदा कटौति मात्र गरेको छैन, समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित समुदाय वा क्षेत्रमा मात्र विदा दिने निर्णय गरेको छ । अब ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा दिइनेछ ।
राज्यमन्त्री बास्कोटाले भने, ‘ऋषि पञ्चमी भनेको महिलाले पतिको गोडाको पानी खाने दिन भनिन्छ, महिलालाई दासत्व स्वीकार गर्न राज्यले किन बिदा दिने ? जनै पूर्णिमामा जनै लगाउने हो बिदा किन चाहियो ? आ–आफ्ना परम्परागत कार्य गर्न विदा चाहिँदैन ।’
अब नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्