सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाटीमा आमाको किरिया, श्रीमती मिर्गौला रोगी

मुगुको छायानाथ रारा नगरपालिका–१२ का ४९ वर्षीय जङ्ग बुढा विगत ६ वर्षदेखि काठमाडौंको वनस्थलीमा श्रीमती र दुई छोरासँगै बस्दै आएका छन् । उनी काठमाडौं रहरले आएका हैनन् । आफ्नी ४७ वर्षीया श्रीमती जानदेवी बुढाको उपचारको क्रममा काठमाडौं आइपुगेका हुन् ।

उनकी श्रीमती जानदेवी मिर्गौलाकी बिरामी हुन् । उनको हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ । उनले नियमित रुपमा श्रीमतीको डायलासिस राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीमा गर्दै आइरहेका छन् ।

Janga Budha

श्रीमतीको डायलासिस गराउन आवश्यक पर्ने पैसा उनले मजदुरी गरेर जुटाउँदै आइरहेका थिए । डायलासिसका लागि आवश्यक खर्च जुटाउन उनलाई जेठो छोराले पनि सघाउँदै आएका छन् ।

लकडाउनले घर खर्चसम्म धान्न धौधौ छ । तर पनि उनले ऋणधन गरेर श्रीमतीको उपचार गराउँदै आएका छन् । लकडाउनकै बीचमा जेठ १५ गते मुगुमा ७९ वर्षीया आमाको मृत्यु भएपछि उनको जीवनमा अर्को बज्रपात आइप¥यो ।

Janga Budha

वनस्थलीमा कोठाभाडा लिएर जीवन गुजारा चलाउँदै आएका उनी आमाको मृत्युपछि भने १० दिनदेखि वनस्थलीस्थित ढुंगेधारामा रहेको प्रतीक्षालयमा बसिरहेका छन् । उनलाई कसैले घरबाट निकालेको भने होइन । उनी स्वविवेकले आफ्नो कारण अरूलाई समस्या नहोस् भनेर प्रतीक्षालयमा बसेका हुन् ।

आफ्नो घर नभएका कारण उनी प्रतीक्षालयमै किरियापुत्रीको रुपमा बसेका छन् । प्रतीक्षालय वरपर त्रिपालले घेरेर उनी आमाको किरिया बसेका छन् । सडक किनाराको प्रतीक्षालयमा सेतो धोती बेरेर उनी आमाको किरिया बसेका छन् ।

Janga Budha

‘घर जाऔं भने लकडाउनका कारण जान सक्ने कुरा भएन । घर जानका लागि पैसा पनि थिएन । त्यसैले आमाको किरिया बस्ने घरको रुपमा प्रतीक्षालयलाई नै रोजेँ,’ बुढा भन्छन्, ‘राति डर लाग्ने भएकाले कान्छो छोरालाई प्रतीक्षालयमा नै राख्ने गरेको छु ।’

प्रतीक्षालयलाई कार्टुनले छेकेर दुई खण्डमा विभाजन गरेका बुढाले भने–‘दिउँसोको समयमा श्रीमती पनि त्यहीँ आएर बस्ने गर्छिन् । रातिको समयमा श्रीमती र जेठो छोरा कोठामै जान्छन् । जेठो छोराले आमालाई औषधि खुवाउनेदेखि लिएर अन्य काम गर्छन् ।’

Janga Budha

फेसबुकबाट कमेन्ट गर्नुहोस्