ओली सरकारसंग सिमा वार्ता नगर्ने मुडमा भारत
नेपालको परराष्ट्र मामिलालाई नजिकबाट नियाल्ने दुई विज्ञले तत्कालै नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने सम्भावना नभएको बताएका छन् । प्राध्यापकद्वय श्रीधर खत्री र ध्रुव कुमारले संविधान संशोधनपछि सीमा विवाद अप्ठेरो चरणमा प्रवेश गरेको बताउँछन् ।
नेपालले हालै संविधान संशोधन गर्दै देशको पश्चिमी सिमाना लिम्पियाधुरासम्म कायम गरेको नक्सालाई देशको निशान छापमा समावेश गर्ने निर्णय गरेको थियो । केही पहिले भारतीय रक्षामन्त्रीले उत्तराखण्डको पिथौरागढ जिल्लालाई नेपालले दाबी गरेको भूभागमा लिपुलेकसम्म जोड्ने सडक उद्घाटन गरेपछि नेपालले राजनीतिक र प्रशासनिक नक्सालाई अद्यावधिक गरेको थियो ।
नेपालको नयाँ नक्सालाई नयाँ दिल्लीले काठमाण्डूका तर्फबाट ‘कृत्रिम रूपमा गरिएको भूमि अतिक्रमण’को सङ्ज्ञा दिएको छ । भारतले कालापानी सहितका क्षेत्र समेटेर नक्सा जारी भएपछि गएको नोभेम्बर महिनादेखि वार्ता गर्ने प्रयास गरेपनि दिल्लीले सकारात्मक जवाफ नदिएको बताउँदै आएको छ ।
राजनीतिशास्त्रका अवकाशप्राप्त प्राध्यापक तथा दक्षिण एशियाली नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक श्रीधर खत्री संविधान संशोधन प्रकियाले पूर्णता पाएसँगै सीमा विवाद अझ अप्ठेरो चरणमा प्रवेश गरेको बताउँछन् ।
उनले भने–“प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नक्सा पारित गरेर हामीले दह्रो राजनीतिक अभिव्यक्ति दियौँ । हामीले राष्ट्रपतिलाई उक्त संशोधन विधेयक हस्ताक्षर नगर्न अनुरोध गरेर दह्रो कूटनीतिक सन्देश पनि दिन सक्थ्यौँ र त्यसले वार्ताको ढोका खोल्न पनि सक्थ्यो ।”
उनले भनेका छन्–“तर हाम्रोमा देश भावनात्मक मनस्थितिमा रह्यो र हामीले तार्किक र युक्तिसङ्गत छलफल गर्न सकेनौँ । संविधान संशोधन गरेर हामीले समस्याको पोको खोलिदियौँ ।”

खत्रीका अनुसार अद्यावधिक नक्सालाई संविधानको अङ्ग बनाइएकाले उक्त देशको मूल कानुनको प्रावधान नै तेश्रो देशसँगको सम्वादमा हुने लेनदेनको विषयवस्तु बन्न पुगेको छ । उनी भन्छन्–“संविधान देशको लागि पवित्र दस्तावेज हो र यसका प्रावधान अन्य कुनै देशसँगको लेनदेनको विषय बनाइनुहुँदैन ।”
राजनीतिशास्त्रका अर्का अवकाशप्राप्त प्राध्यापक ध्रुव कुमार पछिल्लो निर्णयसँगै नेपाल ‘पछि हट्न नसक्ने अवस्थामा’ पुगेको बताउँछन् । उनले भने, “सम्भवत; यही कारणले भारत नेपालसँग वार्तामा बस्न पनि इच्छुक छैन ।”
“तर पहिला पनि उसले यस्ता प्रक्रियालाई लम्ब्याउने गर्दै आएको थियो । यसको प्रभाव वार्ताको टेबलमा बसेर एउटा सम्झौतामा नपुगुन्जेल गतिरोधको अवस्था कायम रहिरहनसक्छ ।”
चीन–भारत झडपको प्रभाव कस्तो पर्ला ?
नेपालसँगको सीमा विवाद उत्कर्षमा पुगिरहेकै समयमा अघिल्लो साता भारतीय र चिनियाँ फौजबीच लद्दाख क्षेत्रमा झडपहरू हुँदा कम्तीमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए ।
त्यसअघि गएको फेब्रुअरीमा पुञ्च सेक्टरमा पाकिस्तानी फौजले गोलाबारी गर्दा एक भारतीय सैनिकको मृत्यु भएको र तीन घाइते भएका विवरण आएका थिए ।
प्राध्यापक खत्री पहिलो पटक भारतले चीन, पाकिस्तान र नेपाल तीनै क्षेत्रबाट एकैचोटी अप्ठेरोको सामना गरिरहेको बताउँदै नेपाल कम प्राथमिकतामा पर्ने ठान्छन् ।
राजनीतिशास्त्री ध्रुब कुमार भारत र चीन सैन्य मूठभेडतर्फ उन्मुख हुँदा दुवै शक्तिराष्ट्रको भूरणनैतिक संवेदनशिलतालाई ध्यान दिएर कूटनीति सञ्चालन गर्न नेपाललाई अप्ठेरो हुने बताउँछन् ।
उनी भन्छन्, “सन् १९६२ मा चीनसँगको युद्धपछि पञ्चायतसँग हिमचिम बढाएजस्तै गरी चीनसँगको तनावका कारण भारत नेपालको भौगोलिक दाबीप्रति नरम हुन्छ भनेर हामीले सोच्नुहुँदैन ।”

सरकारी अधिकारीहरू के भन्छन ?
भारतीय विदेश मन्त्रालयले नेपालले जारी गरेको नयाँ नक्साले ऐतिहासिक तथ्य र प्रमाणलाई बेवास्ता गर्दै आफ्नो देशको भूगोल मिचेको बताउँदै आएको छ । नेपालले चाँहि सन् १८१६ मा तत्कालीन ब्रिटिश इण्डिया कम्पनी र भारतबीच भएको सुगौली सन्धिले महाकाली नदीलाई सीमा नदी कायम गरेको र त्यसको मुहान रहेको लिम्पियाधुराबाट पश्चिम सीमाना कायम गरिएको बताउने गरेको छ ।
नेपाल सरकारले मन्त्रिपरिषद्बाट नक्सा अनुमोदन गरेपछि नयाँ दिल्लीले नेपाली नेतृत्वले सीमा विवादका लागि वार्ताको वातावरण बनाउने अपेक्षा गरेको बताएको थियो ।
डेढ साता अघि प्रतिनिधिसभाले निशान छाप सम्बन्धी संशोधन पारित गरेपछि भारतले नेपालको कदमले सीमा सम्बन्धी बाँकी विषयमा वार्ता गर्ने समझदारी उल्लङघन गरेको प्रतिक्रिया दिएको थियो ।
तर हालैका साताहरूमा भारत भित्रै प्रमुख विपक्षी कंग्रेस सहितका दलका नेताहरूले नेपालसँग वार्तामा बस्न दबाब दिइरहेका छन् । प्रधानमन्त्री ओलीले वार्तामार्फत् अतिक्रमित भूमी भारतबाट फिर्ता लिने सार्वजनिक रूपमा बताउने गरेका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई भन्छन्, “नेपाल सरकारबाट सबै किसिमका पहलहरू भइरहेको छ । औपचारिक अनौपचारिक सबै माध्यमहरूलाई खुला गरिएको छ ।”
उनले थपे–“उहाँहरूसँग सम्पर्क कायम गर्न हाम्रो तर्फबाट कोशिस भइरहेको छ । वार्ता हुनुपर्छ र हुन्छ भन्नेमा हामी आशावादी छौँ ।” परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि नेपालले दुई पक्षीय कुराकानी गर्न खोजेको तर त्यसमा ठोस प्रगति नभएको बीबीसीलाई बताएका छन् ।
नेपाल र भारतबीच सीमा विवादका बारेमा वार्ता कहिले हुन्छ भन्ने यकिन छैन । ती अधिकारीले पछिल्ला विवाद माझ भारतीय रक्षामन्त्री र सेना प्रमुखले नेपालसँगको सम्बन्ध प्रगाढ रहने बताएका उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण बन्दै जाने आफ्नो विश्वास रहेको बताएका छन् ।
यसअघि नेपालले अद्यावधिक नक्सा ल्याएपछि भारतीय सेनाप्रमुख एमएम नरभानेले चीनतर्फ सङ्केत गर्दै नेपालले अरू कसैको इशारामा नक्सा जारी गरेको हुनसक्ने उल्लेख गरेका थिए ।
वार्ताको सम्भावनाबारे विज्ञको राय
प्राध्यापक खत्री प्रधानमन्त्री ओली सत्तामा रहुनजेल भारतले नेपालसँग वार्ता नगर्ने आफूलाई लागेको बताउँछन् । उनी भन्छन्, “मलाई लाग्छ प्रधानमन्त्री ओली सत्तामा रहँदा दूरी बढेको र आफूले चुनौती खेप्नुपरेको भारतीयहरूले महसुस गरेका छन् । यस्तोमा लेनदेन गर्दा त्यसले ओलीलाई बढी लोकप्रिय बनाउन सक्छ जुन उनीहरूले नचाहन सक्छन् ।”
“अहिलेको सरकार हुँदा नै (नेपालको) चीनतर्फ ढल्कने इच्छा विगतमा भन्दा सबैभन्दा बढी प्रकट भएको छ । मलाई लाग्छ प्रधानमन्त्री ओली सत्तामा रहुन्जेल भारतले नेपालसँग वार्ता गर्दैन ।”
प्राध्यापक ध्रुब कुमार पनि वार्ताको वातावरण अहिले नबनेको बताउँछन् । वर्तमान सरकारले आफू कतैतर्फ नढल्किएको र सन्तुलित कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेको बताउने गरेको छ । अघिल्लो वर्ष बीबीसीलाई दिएको अन्तरवार्तामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले भारत र चीन दुवैसँग असल सम्बन्ध राख्ने बताएका थिए ।
गत शुक्रवार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीसँग वैचारिक राजनीतिक आदानप्रदान गरेपछि नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रश्न उठेको र यसले कूटनीतिक रूपमा गलत सन्देश गएको परराष्ट्रविद्हरूले बताइरहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्